![महिलाको आकर्षण फूल खेती](https://karuwanews.com/wp-content/themes/karma-news-namuna-2024/assets/imgs/lazy.png)
कृष्ण दर्नाल
पाल्पा, जिल्लामा क्रियाशील महिला व्यवसायिक फूल खेतीतर्फ आकर्षित भएका छन् । सयपत्री फूलको थुङ्गा, मालाको माग विवाह तथा शुभकार्यमा बढेसँगै महिलाहरु फूल खेतीतर्फ फर्केका छन् । कोरोना संक्रमणले गर्दा आर्थिक रुपमा समस्या बढ्दो रहेका बेला तानसेन नगरपालिकास्थित काजीपौवामा महिलाहरु साँगठित रुपमा फूल खेती गर्न जुटेका छन् । पृष्प महिला समुहद्वारा गरिएको व्यवसायिक फूल खेती अहिले सबैलाई लोभ्याएको छ ।
तानसेन नगरपालिका–४, सिल्खानटोलकी स्थानीयबासिन्दा तथा समुहकी अध्यक्ष प्रतीक्षा सिजालीले आफुहरु पहिलो पटक व्यवसायिक फूल खेती गर्न थालिएको बताइन् । खेती किसानी प्रति कुनै रुचि नभएका महिलाले कोरोना संक्रमणका कारण देशमा गरिएको बन्दाबन्दीमा उनीहरुले खेती गर्न खेतबारीमा धाइरहेका थिए । सिजांलीले निरन्तर मेहनतले फुल खेतीमा सन्तोषजनक उपलब्धि हासिल गरेकोे बताइन् ।
‘२० हजार रुपैयाँ लागतमा चार रोपनी जग्गा भाडा लिई काम थालिएको हो । झण्डै ५० हजार रुपैयाँ फूलका बेर्ना बेच्दा आम्दानी भएको थियो । फुलका थोगा तथा माला बाहेकको आम्दानी हो,’ उनले भनिन्, ‘अझै पनि फूलका माला बेचिरहेका छौं । बन्दाबन्दीको अवधिमा समुहका दीदी बहिनीले फूलखेती गरिएको हो । सबै श्रम महिला दिदी बहिनीबाट भएको हो ।’
आफुलाई यस व्यवसाय राम्रो लागेपछि आगामी वर्षहरुमा समेत विस्तुत रुपमा खेती गर्ने योजनाका साथ काम अघि बढेको उनले भनिन् । विवाह तथा सरकारी, गैरसकारी कार्यालयका सभा, सम्मेलनमा मालाको माग बढ्दो छ । स्थानीय तहमा समेत फूलको मालाको माग बढ्दो छ । तर, माग अनुसार मालाको अभाव रहीरहेको उनले बताइन् । यसपालि तिहार अलि पछि भएपनि यहाँका महिलाहरु चिन्तित छैनन । फूल पनि ढिलो गरी नै फूलेको हो । यस पालि वर्षा बढी हुँदा ढिलो गरी फूल फुलको हो । जसका कारण तिहारमा भन्दा मंसिरको महिना भएका विवाहले राम्रो आम्दानी गर्न सहज देखिएका व्यवसायीको भनाई छ ।
तानसेन–७, काजीपौवाकी फूल व्यवसायी चमेली देवी श्रेष्ठले विवाह, तथा दसैंतिहार बाहेक पास्नी, जन्मदिनको अवसरमा समेत पूmलको माग बढ्दो रहेको बताइन् । फूल फूल्दा सबै मानिसहरु झुम्मिएपनि यसका लागि धेरै मेहनत रहेको उनले बताइन् ।सयपत्री फूल दैनिक पूजा आराधनामा खपत हुन्छ । भैरवस्थानस्थित भैरवमन्दिरमा फूलको माग बढ्दो छ । पाल्पा–बुटबल सडक खण्डको सिद्धबाबा क्षेत्रको सिद्धबाबा मन्दिरमा दैनिक पूजा हुँदा फुलको माग बढिरहेको छ ।
ग्रामीण आर्थिक विकास संघ (रेडा) पाल्पा, तानसेन नगरपालिकाको आयोजना र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा फूल खेती थालिएको हो । कोरोना संक्रमणले देशमा अर्थतन्त्र कमजोर बनेको छ । नेपालीहरुको आम्दानीको स्रोत समेत कमजोर बनेको बेला पहिलो पटक व्यवसाय गर्नेहरु केही मात्र आम्दानी र उत्पादन गर्ने सीप समेत सिकेकोमा खुसी देखिएको हो ।
मेहनत गरेको अवस्थामा कृषि पेशाबाट मनग्य आम्दानी हुने व्यवसायीको भनाई छ । यता, श्रेष्ठले फूल खेतीका लागि बीउको अभाव रहिरहेको गुनासो गर्नि । फूल उत्पादनका लागि बीउ नेपाली बजारमा नपाइने र पाएपनि मह्गो मूल्यमा खरिद गर्नुपर्ने समस्या झेल्न परेको गुनासो छ । यहाँ फूलको माला उन्नका लागि धारोको अभाव रहेको छ । तानसेनका नगरपालिका भित्रका दश जना महिलाहरु फुल खेतीका लागि आवद्धता छन् । पाँच वर्ष अघिसम्म फूलको मालाका लागि रुपन्देही जिल्लामै भर गर्नुपर्ने बाध्यता रहेको थियो ।
पछिल्ला वर्ष फूलखेती प्रति यूवाहरुको आकर्षण बढ्दो रहेको छ । जिल्लाको बगनासकाली, माथागढी, रिब्दीकोट, तिनाउ गाउँपालिका र तानसेन र रामपुर नगरपालिका क्षेत्र भित्र व्यवसायिक रुपमा फूल खेती बढ्दो रहेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव प्रसाद अर्यालले बताए । फूल खेतीको सम्भावना बाह्रै महिना रहेको छ । प्राय गरी दर्सै तिहारका बेला फूलको बढी खपत हुने मान्यता रहेको छ । तर, पछिल्ला वर्ष बाहै महिना शुभ विवाह, पाश्न, जन्मदिवस, सभासम्मेलनका लागि फूलको माग बढेको कृषि ज्ञान केन्द्रको दावी छ ।
फूल खेतीबाट ५० हजार देखि १२ लाखसम्म जिल्लामै आम्दानी भएको छ । कम मेहनत र लगानी गरेपछि फूल खेतीबाट प्रशस्त आम्दानी हुदै आएको छ । सयपत्री फूलको थोगाा, माला, तथा बेर्ना गरी आम्दानी गर्ने सम्भावना रहेको विज्ञको भनाई छ । आगामी वर्षमा फूल खेतीका लागि क्षेत्र विस्तार हुने प्रमुख अर्यालले बताउनुभयो । ज्ञान केन्द्रले यस खेतीका प्रर्वद्धनका लागि प्रचारप्रसार र प्राविधिक सहयोग गर्दै आएको प्रमुख अर्यालको दावी छ ।
व्यवसायिक रुपमा फूल खेती गर्ने उन्नत जातका फुल प्रति आकर्षित भएका छन् । स्थानीय स्तरमा फूल खेती गर्नेहरु कमी छैनन् । उनीहरुले परम्परागत रुपमा रुपमा दशै तिहारका लागि मात्र फूल उत्पादन गर्दै आएको पाइन्छ । हजारी फूल, मखमली फुलको समेत उत्पादन हुदै आएको पाइन्छ । जिल्लाको तिनाउ गाउँपालिकाको मस्याम, सत्यवती, कचल, कोलडाडा क्षेत्रबाट दशैतिहार लक्षित गरी फूल खेती हुँदै आएको स्थानीय बासिन्दा छविलाल गहतराजले बताए । कोरोनाका कारण रोजगारी गूमाएका युवाहरु अहिले व्यवसायिक रुपमा कृषि तथा पशुपालन खेती आकर्षित भएको उनले बताए ।