
कोरोना भाइरस संक्रमण रोकथामका लागि गरिएको लकडाउनका कारण स्वदेश तथा विदेशमा काम गर्ने धेरै युवाको रोजगारी गुम्यो । मुलुकभित्रै रोजगार बनेका कैयौ युवा पनि घर फर्के । अब उनीहरुको रोजगारका लागि स्थानीय सरकारको सक्रियताले व्यवसायिक बन्ने तरखरमा छन् । तर युवाले गर्ने काममा हौसला भने बढ्न सकेको छैन । बजारको सुश्चितता छैन । धेरै युवा गाउँ फर्केपछि के गर्ने ? भन्नेमा चिन्तित थिए । मुलुककै विभिन्न स्थानका साथै छिमेकी मुलुक भारत र तेस्रो मुलुकमा काम गरेका युवाहरु अहिले आठ महिनादेखि बेरोजगार छन् । रोजगारी गुमेसँगै युवा आफ्नै जन्मथलो फर्केका छन् । कोरोनाले स्थानीय स्तरमा समेत रोजगारीका सम्भावना गुमेका छन् । यसरी रोजगारीका अवसर गुमाएका युवा अब व्यवसायी बन्न लागेका हुन् । घर फर्केका धेरै युवा अझ पनि कामको खोजीमा भौतारिएका छन् ।
स्थानीयस्तरमा जे काम गर्दा बजार पाउँछ सोही क्षेत्रमा लगानी गर्नुपर्छ । त्यही क्षेत्रमा सहयोगी निकायले सहयोग गर्नुपर्छ । व्यवसायिक बन्न सकेमा पुनः विदेश फर्किन पर्ने थिएन । रोजगारी गुमाएर बेरोजगार बन्नेको संख्या कमी छैन । स्थानीय तहले सञ्चालन गरेका उद्यमशिलताको कार्यक्रम अहिले सही ढंगले संचालन हुनुपर्छ । अहिले स्थानीय तहले त्यस्ता युवालाई स्वरोजगार बनाउने गरी कार्यान्वयनमा ल्याउनुपर्छ । कोभिडका कारण विदेशमा रोजगारी गुमाएका तथा बेरोजगार युवालाई बजेट व्यवस्थापन गर्नुपर्छ । आफनै खेतबारीमा मिहिनेत गरेको अवस्थामा यही पैसा कमाउन सकिन्छ । आगामी दिनमा विदेश धाउनुपर्छ भन्ने माध्यता अन्त्य गर्नुपर्छ ।
कोभिडका कारण प्रभावित युवालाई उद्यमशील बनाउने सीप, पुँजी लगायतका क्षेत्रमा सहयोग गर्नुपर्छ । तानसेन नगरपालिकाको हकमा पाल्पाली ढाका, करुवा, पुष्प खेती, माछा पालन, तरकारी, दुध, लगायतका विधामा तालिम तथा बीउ पूँजी प्रदान गरी युवालाई उद्यमी बनाउने प्रयास सुरु भएको छ । तानसेन नगरपालिकाभित्र फापर, मरिज, बँगुरका पाठापाठी, स्थानीय जातका कुखुरा, प्लाष्टिक टनेल, तरकारीका बीउ (कौशी खेती) वितरण गरेको छ । बेरोजगार यूवालाई लक्षित गरी मोटरसाइकल मर्मत, छालाका जुत्ता बनाउने र बजार व्यवस्थापन सम्बन्धि तालिम सञ्चालन गर्दै छ । युवालाई उद्यमी बनाउन सकेको अवस्थामा मात्र देश समृद्धि हुनेछ । युवा उद्यमी हुँदा रोजगारको अवसर वृद्धि हुन्छ । यी कामबाट युवालाई व्यवसायिक बनाउनुपर्छ । युवालाई व्यवसायिक बन्न प्रेरित गरौं