
पाल्पा, बगनासकाली गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार गरेको छ । स्थानीय पाठ्यक्रममा आधारित ‘हाम्रो बगनासकाली’ पाठ्यपुस्तक गाउँपालिकामा सार्वजनिक गरेको छ ।
गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले पाठ्यपुस्तक सार्वजनिक गरेका हुन् । पुस्तक सार्वजनिक गर्दै अध्यक्ष बस्यालले विद्यालय आफै १०० पूर्णाङ्कको पाठ्यपुस्तक तयार पारेर लागु गर्दा बालबालिकाले आफ्नो गाउँ–ठाउँ, कलासंस्कृति, भेषभुषा, सम्पदा, महत्वपूर्ण व्यक्तिको बारेमा जानकारी पाउने बताए । उनले यसले गर्दा विद्यार्थीमा गाउँपालिकाप्रति अपनत्व बढ्ने र भावनात्मक सम्बन्ध बढ्ने बताए । गाउँ ठाँउमै बस्ने वातावरण सृजना हुने उनले बताए । उनले पाठ्यपुस्तकलाई कार्यान्वयन गराउनु महत्वपूर्ण भएको बताए ।
यसका लागि शिक्षकहरुले तदारुकता देखाउनुपर्ने उनले बताए । अध्यक्ष बस्यालले गुणस्तरी शिक्षा निर्माणमा शिक्षकहरुको महत्वपूर्ण भूमिका हुने समेत बताए । त्यसैले शिक्षक इमान्दर र लगनशिल हुनुपर्नेमा जोड दिए । चालु शैक्षिक सत्रदेखि नै लागू गर्ने गरी गाउँपालिकाले पहिलो चरणमा कक्षा १ का लागि स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरेको हो । उक्त पाठ्यपुस्तक राष्ट्रिय पाठ्यक्रम २०७६ अनुसार कूल १०० पूर्णाङ्क र पाठ्भार ५ रहने गरी तयार गरेको छ । पाठ्यपुस्तक कूल पाठ्यभारको २० प्रतिशतको भएको गाउँपालिकाले जनाएको छ ।
पाठ्यपुस्तक निर्माणका लागि गाउँपालिकाले शिक्षक दयाराज कंडेलको संयोजकत्वमा विज्ञ टिम बनाएको थियो । जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षासम्बद्ध सरोकारवाला लगायतसँग छलफल गरेर पाठ्यपुस्तक तयार गरेको हो । गाउँपालिकाको भौगोलिक अवस्था, धार्मिक, पर्यटकीय, जनसंख्या, ऐतिहासिक पृष्ठभूमि, सामाजिक मूल्य–मान्यता लगायतका विषयवस्तु पाठ्यपुस्तकमा समेटिएको छ ।
आधारभूत तहको ८ सय पूर्णाङ्कमध्ये सय पूर्णाङ्कको पाठ्यक्रम स्थानीय तहले नै तयार गर्न पाउने प्रावधान छ । सोही अनुसार बगनासकाली गाउँपालिकाले कक्षा १ को पाठ्क्रममा आधारित पाठ्पुस्तक निर्माण गरेको गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदीले बताइन् । अनिवार्य र ऐच्छिक विषय बाहेक सय पूर्णाड्ढको स्थानीय पाठ्यक्रमको विषयवस्तु विद्यालयहरुले पढाउनुपर्नेछ । केन्द्रीय पाठ्यक्रम विकास केन्द्र काठमाडौंसँगको परामर्श तथा स्वीकृतिमा गाउँपालिकाले स्थानीय स्तरको पाठ्यक्रम तयार गरी पुस्तक निर्माण गरेको छ ।
दक्ष र सीपयुक्त नागरिक उत्पादन गर्न स्थानीय पाठ्पुस्तकले महत्वपूर्ण टेवा पुग्ने उपाध्यक्ष चिदीले विश्वास व्यक्त गरिन् । शिक्षा शाखा प्रमुख गुनाराम खनालले शिक्षालाई उद्देश्यमूलक, व्यवहारिक र रोजगारमूलक बनाउन स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरिएको बताए । केन्द्रीय पाठ्यक्रममा मात्र केन्द्रित रहेका बालकालिकाहरुका लागि स्थानीय पाठ्यपुस्तक महत्वपूर्ण सावित हुने पुस्तक निर्माणका संयोजक दयाराज कँडेलले बताए ।