
पाल्पा, जिल्लाको रब्दीकोट गाउँपालिकाले पालिकाभित्रका पर्यटकीय तथा धार्मिक गन्तव्य स्थल चिनाउने उद्देश्यले आयोजना गरेको लेख रचना प्रतियोगिताका सफल कलमजीवीलाई पुरस्कृत गरेको छ ।
शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिका चिनाउने पर्यटकीय गन्तव्यहरु शीर्षक सम्बन्धी लेख रचना प्रतियोगितामा सहभागीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।
गाउँपालिकाले ८ वटै वडाहरुका पर्यटकीय गन्तवयहरुको खोजी गरेको हो । लेख रचना प्रतियोगितामा रामबहादुर विक अर्थात (आरवी निश्चल प्रथम भएका छन् । यसैगरी पालिकाका प्रवक्ता विष्णुप्रसाद खनाल द्धितिय, राम ज्ञवाली तृतिय र रुद्ध्र आचार्य सान्तवना भएका छन् ।
पुरस्कृत व्यक्तिहरुलाई पूर्व जिविस सभापती झपेन्द्रबहादुर जिसी, गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसी, उपाध्यक्ष लक्ष्मी खनाल, प्रतियोगिता मूल्याङकन समितीका बुद्धिप्रसाद शर्मा लगायतले सम्मान गरेका थिए ।
कार्यक्रममा पूर्व जिविस सभापति जिसीले पर्यटन भनेको पैसा भएकोले आफै कसिएर काम गर्नुपर्ने बताए । रिव्दीकोट सेनवशींय राजाहरुको राजधानी, भैरव मन्दिर, पूर्णाकोट दरवार, जलेश्वर, रिव्दीकोट जस्ता एतिहासिक महत्वपूर्णका पर्यटकीय गन्तव्यहरु रहेकोमा प्रचार प्रसार ध्यान दिनुपर्ने जिसीले बताए ।
कार्यक्रममा ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लिलाबहादुर कार्कीले प्रतियोगिताले रिव्दीकोटलाई पर्यटकीय माध्यम चिनाउने धेरै विषयबस्तु भेटिएकोले पालिकाले सोही अनुसार नीति तथा कार्यक्रम बनाएर कार्यान्वय गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पालिकाका अध्यक्ष नारायण बहादुर जिसीले भौतिक पूर्वाधार बाटो घाटो पुल भवन संगै जनताको आय आर्जन संग जोडिएका पर्यटन व्यवसायको मार्फत गाउँपालिकालाई चिनाउनु पर्छ भनी यो अभियान संचालन गरेको बताए । यसका साथै रिब्दीकोट गाउँपालिका भित्र के कस्ता धार्मिक तथा एतिहासिक विषय बस्तु छन् । रिब्दीकोटको सम्भावना र अवसरका बारेमा उपलव्ध लेख गाउँपालिको दस्तावेज बन्ने गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जि.सीले बताए । उनले पालिकाको पहिचानमा प्रतियोगिले लेखेको लेख रचनाले ठूलो सहयोग पुग्ने समेत बताए ।
सम्भावना र एतिहासिकताका कुरा कलम जीवि मार्फत जनतासामु लैजाने र रिब्दीकोटमा कुन स्तरका धार्मिक तथा एतिहासिक विषयबस्तु रहेछ भन्ने बौद्धिक व्यक्तिबाट प्राप्त लेख रचनाले स्पष्ट पारेको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी खनालले बताइन् ।
आफ्नो क्षेत्रमा रहेका धार्मिक, एतिहासिक तथा पर्यटकीय क्षेत्रले गाउँपालिकालाई कस्तो बनाएको छ र कस्तो बनाउनुपर्छ भन्ने योजना बनाउन सहयोग पुग्ने विश्वास गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले बताए । उनले लेख रचना एक दस्तावेजका रुपमा संग्रह गरिने र आगामी दिनमा गाउँपालिकाभित्रको क्षेत्रगत विकासमा योजना तयार गर्न सहज हुने बताए ।
कोभिड १९ का कारण अनलाइन सहभागिता मार्फत गरिएको प्रतियोगितामा प्रथम हुनेले दश हजार, दोस्रो हुनेले आठ हजार, तेस्रो हुनेले सात हजार र सान्त्वना हुनेले दुई हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगीतामा ११ जनाको सहभागिता रहेको गाँउपालिकाले जनाएको छ ।