
कमल अधिकारी
पाल्पा, रम्भा गाउँपालिका–२, फोक्सिङकोट बेलौजाका पहिरो पीडित परिवार यतिबेला मर्कामा परेका छन् । उनीहरुलाई चिसो बढेसँगै समस्या थपिएको हो । जिल्लाको दुर्गम बस्ती मानिने रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजाका पहिरो पीडितको उचित व्यवस्थापन हुन नसक्दा पुसको ठण्डीमा समस्या भएको स्थानीयले बताएका छन् ।

गत असोज ८ गते पहिरोले तीन घर पुरेको थियो । विस्थापित परिवारलाई तीन महिना बित्दासम्म पनि व्यवस्थापन हुन नसक्दा समस्या भएको हो । पछिल्ला दिनहरुमा चिसो बढ्दै गएको भएपनि पहिरोका कारण घरबास क्षती भएका भएका तीन परिवारले अहिले पनि आफन्तको घरमा शरण लिएर बसेका छन् । पहिरो गएको लामो समय भइसक्दा पनि आफ्नै घर बनाउन नसकेपछि आफन्तको घरमा बस्नुपर्ने बाध्यता रहेको पहिरो पीडित मन बहादुर गाहाले बताए । पहिरोले परिवारका सदस्य गुमाउनुको पिडासँगै त्यसमाथि बस्ने बासको व्यवस्था नहुँदा चिन्ता लागेको उनले बताए । मंसिरदेखि अत्यधिक चिसो बढेको छ । डाँडाको बस्ती भउकाले थप समस्या पारेको उनले बताए ।
चिसो मौसममासमेत अरुको घरमा बस्न साह्रै समस्या भएको दुखेसो गाहाको छ । गाहामात्र नभएर उक्त गाउँमा पहिरोको उच्च जोखिममा रहेका अन्य २७ घर पनि अहिले जोखिम रहेकै घरमा बस्दै आएका छन् । सरकारले बस्ती व्यवस्थापन गर्न आश्वासन दिएको थियो । तर उनीहरु केही समय स्वास्थ्य चौकी र आफन्तकोमा शरण लिएर बसेका थिए । तर पनि अन्य स्थानमा बासको व्यवस्था नभएपछि पुरानै घरमा जोखिम मोलेर बस्दै आएको पहिरो पीडितको गुनासो छ ।
स्थानीय सरकार रम्भा गाउँपालिकाले राहत र उद्दारको कामम सुरुमा सक्रियता देखाएको थियो । पछिल्लो पटक भने सुस्ताएको स्थानीयले बताए । बस्ती स्थान्तरणको काममा भने कुनै पनि सरकारले वेवास्ता गर्दै आएका छन् ।
रम्भा गाउँपालिकाले अविरल वर्षालेसंगैको पहिराले जिल्लामै ठूलो क्षेती भोगनु परेको बस्तीलाई स्थान्तरण गर्नका लागि उचित स्थानको खोजीकार्य भएको जनाएको छ । प्राविधिक मूल्यांकन गराएर उपयुक्त स्थानको उपलब्धता भएसंगै बस्ती स्थानान्तरण गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष विष्ण भण्डारीले बताए । अध्यक्ष भण्डारीका अनुसार पहिलो चरणमा मृतकका परिवारलाई प्रतिघर ५० हजारका दरले राहत उपलब्ध गराएको छ । अब चिसोको समस्यालाई मध्यनजर गर्दै न्यानो कपडा वितरणको तयारी समेत गाउँपालिकाले गरेको अध्यक्ष भण्डारीले बताए । चिसो सक्किए लगत्तै वर्षायाम सुरु हुने हुँदा पनि पीडित तथा जोखिममा रहेका घरहरुलाई अन्य स्थानको खोजि गरी व्यवस्थापन गर्नुपर्ने माग स्थानीयको छ ।
फोक्सिङकोटको सुरुमडाँडामा पहिरोले घर पुरिँदा २७ वर्षीया मोतिसरा गाहाको मृत्यु भएको थियो । ोतिसराको श्रीमान् वीरबहादुर भने पहिरो खस्दाखस्दै भागेर ज्यान जोगाउन सफल भएका थिए । बेलौजामा पाँच जनाको मृत्यु भएको थियो । बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले तीन घर पुरिएको थियो । हुम बहादुर गाहा र मनबहादुर गाहाको घर पुरिंँदा पाँच जना को मृत्यु भएको हो । पहिरोले घर पुर्दा ६० वर्षीय हुमबहादुर गाहा, ५० वर्षीय धनीसरा गाहा, १७ वर्षीया कृष्णामाया गाहा (छोरी) आठ वर्षीया लक्ष्मी गाहा (छोराको छोरी नातिनी) र १४ वर्षीय खुमीसरा गाहा (छोरीको छोरी) को मृत्यु भएको थियो । पुनः पहिरो खसेर अर्को घर समेत पुरेपछि उनीहरुको बासस्थानको टुंगो लगाउन नसकिएको रम्भा–२, फोक्सिङकोटका वडाध्यक्ष उमानसिंह सारुले बताए ।







