रामपुरमा विद्यालय भवन शिलन्यास

पाल्पा, राष्ट्रिय पुनर्निमाण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाईका कार्यकारी निर्देशक सुशील ज्ञवालीले दुई वटा विद्यालय भवनको शिलन्यास गरेका छन् । रामपुर नगरपालिका–७ को आधारभूत माध्यमिक विद्यालय र रामपुर नगरपालिका–६ को नवदुर्गा माध्यमिक विद्यालयमा राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन ईकाई मार्फत साउदी फण्डको सहयोगमा निर्माण हुन लागेको भवनको शिलन्यास गरेको हो ।

आधारभूत मावि डुम्रिगाउँमा नौ कोठे भवन नवदुर्गा मावि रामपुर ६ तिलकपुरको १२ कोठे भवन शिलन्यास गर्दै राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक ज्ञवालीले भुकम्पबाट प्रभावित सबै आंशिक क्षति भएका संरचनाहरुलाई पुनः निर्माण गर्न प्राधिकरण तयार रहेको बताए । उनले आंशिक क्षति भए पनि फेरी भत्किन्छ की भन्ने त्रासमा रहेका जनतालाई सुरक्षित आवास प्रदान गर्न प्राधिकरण तयार रहेको बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य युवराज खनालले विद्यालयमा गुणस्तरीय शिक्षा दिनका लागि भौतिक पक्ष पनि सक्षम हुनु पर्ने बताए ।

रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले नगरपालिकाले व्यवहारिक शिक्षालाई प्राथमिकता दिएको बताए । राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रिय आयोजना ईकाईका राम प्रसाद सापकोटाले विद्यालयमा निर्माण गरिने भवन तोकिएकै समयमा गुणस्तरीय रुपमा निर्माण गर्नु पर्ने बताए । निर्माण व्यवसायी लक्ष्मी प्रसाद सुवेदीले समयमै गुणस्तरीय भवन निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

शिलन्यास कार्यक्रममा नेपाल कम्युनिष्ट पाटी रामपुरका इन्चार्ज राजु प्रसाद श्रेष्ठ, नेपाली काँग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई र रामपुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष तिर्थ प्रसाद पंगेनीले विद्यालयले छोटो समय मै प्राप्त गरेको उपलब्धिलाई थप उचाईमा पु¥याउन भवन निर्माण संगै स्तरिय शिक्षाका लागी शिक्षक, विद्यार्थी र अविभावक मिलेर अगाडी बढ्नु पर्ने बताए । आधारभूत माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम विद्यालयका प्रधानाध्यापक रुपनाथ गौतमको स्वागत र विद्यालयका शिक्षक ध्रुव शर्माको संचालनमा सम्पन्न भएको हो । आधारभूत माविको भवन भ्याट बाहेक २ करोड ९ लाख २३ हजार ९ सय ६ रुपैयाँ ३८ पैसा र नवदुर्गा माविमा २ करोड १९ लाख ९८ हजार ४ सय ४० रुपैयाँ १४ पैसामा एमएस शर्मा न्यू टेक्निकल जेभीले ठेक्का लिएको हो । दुवै भवन २०७८ माघ १९ भित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय