
पाल्पा, रामपुरमा प्लाष्टिक टनेल बितरण गरिएको छ । तरकारी खेतीमा आत्मनिर्भर गराउन रामपुर नगरपालिका वडा नम्बर ७ ले व्यवसायिक किसानलाई प्लाष्टिक टनेल वितरण गरेको जनाएको हो ।
किसानलाई टनेल हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले स्वस्थ तरकारी उत्पादनमा जोड दिए । उनले किसानलाई व्यवसायिक रुपमा कृषि गर्ने कृषकलाई नगरले पनि सहयोग गर्दै आएको बताए । उनले जुन उद्देश्यले सामग्री सहयोग गरिएको छ सोहि अनुरुप सही ठाउँमा प्रयोग गर्न आग्रह गरे । उनले आयस्तर बढाएर कृषिबाटै आत्मनिर्भर बन्न किसानलाई अनुरोध गरे ।
रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले टनेलभित्र गरिने तरकारी खेति प्रबिधि सम्बन्धि ज्ञान सीप कृषकलाई सिकाएको बताए । नगरपालिका कृषि शाखाले संचालन गरेका कृषि कार्यक्रमबारे उनले जानकारी दिए । नगरपालिकाले टनेलमा खेतिको लागि यसवर्ष १ सय १० वटा प्लास्टिक टनेल बितरण गरेको छ । साथै १२ वटा प्लास्टिक पोखरी र १६ वटा च्याउ घरलाई आवश्यक पर्ने प्लाष्टिक सिट वितरण गरिएको उनले बताए ।
अनुदानमा प्राप्त गरेको सामग्री लाई सहि ठाउमा लगानी गर्ने किसान मनोरथ भटराईले बताए । वडाको तिन लाख वजेटमा ६५ जना कृषकलाई वितरण गर्ने कार्यक्रम थियो । टनेल निर्माण सम्पन्न गरेका २२ जना किसानलाई टनेल वितरण गरिएको वडा सचिव धनेन्द्रराज खनालले बताए । अनुदान कार्यक्रममा छनोटमा परेका अन्य किसानलाई टनेल निर्माण सम्पन्न भएपछि प्लाष्टिक टनेल वितरण गर्ने वडाले जनाएको छ । टनेल वितरण कार्यक्रम वडाध्यक्ष तिर्थप्रसाद पंगेनीको अध्यक्षता, वडा सदस्य कमलराज भट्टराईको स्वागत, वडा सदस्य दुर्गादेवि भण्डारी गौतमको धन्यवाद र कार्यालय सहायक गीता पौडेलको सञ्चालनमा भएको हो ।