
पाल्पा, प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि जिल्लाबाट १६ खेलाडी छनोट भएका छन् । मंसिर २५ र २६ गते तानसेन टुँडिखेल खेल मैदानमा भएको छनोट प्रतियोगिताबाट २ वैकल्पिकसहित खेलाडी छनोट गरेको क्रिकेट संघका जिल्ला अध्यक्ष राजेश श्रेष्ठले बताए ।
खेलाडी सुरेश गोदारको कप्तानीमा खेलाडी छनोट भएको उनले बताए । खेलाडीहरु राजेन्द्र मान शाक्य, सागर थापा क्षेत्री, मनिष न्यौपाने, शिव शर्मा, नरेश कुमार सार्की नेपाली, रुपेश बस्याल, श्रीधर बस्याल, केशव पहराई छनोट भएका छन् । यसैगरी नवीन तारा बस्याल, प्रकाश तिमिल्सेना, समीर मल्ल, रुपेश बस्याल, नवीन भुसाल छनोट भएका हुन् । यस्तै वैकल्पिक खेलाडीमा बेल मगर, सुदिप जीसीी, आशिष लोहोनी, आशिष बराल, सरण रसाली रहेका छन् । क्रिकेट टोली प्रशिक्षकमा ओम थापा र टीम व्यवस्थापक दीपक घिमिरे रहेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुस ११ गतेदेखि प्रधानमन्त्री कप आयोजना गर्दैछ । क्यानले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न जिल्लाका पुरुष तथा महिला टोलीको छनोट गर्न आफ्ना मातहतका सबै जिल्ला क्रिकेट संघलाई यस अघि पत्राचार गरेको थियो । क्यानले मंसिरभित्र जिल्लाको टोली छनोट गर्ने निर्देशन दिएको थियो । सोही अनुसार खेलाडी छनोट गरिएको जिल्ला क्रिकेट संघले जनाएको छ ।