बगनासकालीले सस्तो ब्याजमा ऋण दिने

पाल्पा, बगनासकाली गाउँपालिकाले अब सस्तो ब्याजमा युवा तथा महिलालाई ऋण दिने भएको छ । उसले नेपाल बैंक लिमिटेडसँग सहकार्य गरेकाले किसान र स्वरोजागारमूलक व्यवसाय संचालन गर्न चाहनेलाई सस्तो ब्याजदरमा ऋण दिन लागेको हो । नेपाल बैंक लिमिटेडसँग बगनासकाली गाउँपालिकाको सम्झौता अनुसार महिला उद्यमीले वार्षिक २ दशमलव १८ प्रतिशत र अन्य उद्यमीले वार्षिक ३ दशमलव ८१ प्रतिशत मात्रै ब्याज तिर्नुपर्ने हुन्छ ।

बगनासकाली गाउँपालिकाले केही गर्न चाहाने युवाहरुलाई १० लाख रुपैयाँसम्म विना धितो ऋणको व्यवस्था गर्न लागेको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए । स्वदेश तथा विदेशबाट रोजगारी गुमाई गाउँ फर्किएका, गाउँ घरमै कृषि पशु फार्म सञ्चालन गर्न चाहेकालाई सहुलियत ब्याजदरमा ऋण प्रदान गर्ने छ । साथै विभिन्न स्वरोजगार कार्यक्रममा सहभागी हुन खोजेका युवा, दलित, महिला तथा अल्पसंख्यक जाती जनजातीहरुलाई लक्षित गरी युवा स्वरोजगार कार्यक्रम मार्फत बिना धितो सहुलियत दरको ऋण प्रदान गर्न लागेको उनले बताए ।

यसबाट महिला उद्यमीले अझ बढी फाइदा पाउनेछन् । उनीहरुले लिने ऋणको ब्याजदर सस्तो छ । बगनासकाली गाउँपालिकाका कृषि व्यवसायका साथै पशुपालन गर्नेले बढी फाइदा पाउनेछन् । यसका साथै अन्य स्वरोजगारमुलक व्यवसाय गर्न चाहनेहरुले पनि अब सस्तो ब्याजमा बिना धितो ऋण पाउने गाउँपालिका अध्यक्ष बस्यालले बताए । नेपाल बैंक र गाउँपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ । नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्रमुख पासाङ दोर्जे शेर्पा र गाउँपालिका अध्यक्ष बस्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बिदेशबाट फर्केका वा नेपालमै रहेर पनि व्यवसाय गर्न चाहने ब्यक्तिहरुले बैंकले प्रदान गर्ने सहुलियत दरको ब्याज र विना धितो ऋणबाट फाइदा लिन सक्ने बताए । ऋण लिन चाहने व्यक्तिले गाउँपालिका भित्र धितो समेत राख्नु पर्दैन । अध्यक्ष बस्यालले कार्यक्रम संचालनका लागि गाउँपालिकाले कोषमा यस वर्ष २० लाख राखेको छ । यसैगरी नेपाल बैंकले २० लाख रुपैयाँ थप गरी ऋण प्रवाह गर्ने छ । गाउँपालिकाका अनुसार आगामी वर्ष रकम थप गर्दै लगिनेछ । यसबाट बगनासकालीका युवा, महिलाले बढी फाइदा पाउनेछन् ।

नेपाल बैंकका प्रदेश प्रमुख शेर्पाले यस्तो खालको कार्यक्रमले महिला र विदेशबाट फर्केका युवाहरुलाई बढी प्राथमिकता दिने जानकारी गराए । उनीहरुलाई ऋण लिई व्यवसाय गर्न चाहेमा सहज रुपमा बिना झन्झट ऋण उपलब्ध गराइने उनले बताए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बस्यालले बिदेशबाट फर्केका वा नेपालमै रहेर पनि व्यवसाय गर्न चाहने व्यक्तिहरुले यसबाट लाभ लिन सक्ने बताए । ऋण लिन चाहने ब्यक्तिले धितो समेत राख्नु नपर्ने उनले बताए । यसैवर्ष बैंकसँगको साझेदारी दुई करोड सम्म ऋण प्रवाह गर्न सकिने उनले बताए ।

गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदी दर्लामीले अधिकांश युवाहरु बैदेशिक रोजगारीमा रहेकाले विदेशमा कोभिडले समस्या ल्याएका बेला यस्तो कार्यक्रमले फाइदा पुग्ने बताइन् । उनले उनीहरुका परिवार समेत छोराछोरी पढाउने वा अन्य बाहनामा शहर पस्ने क्रम बढ्दै गएकोले बैदेशिक रोजगारीमा गएर फर्केका युवाहरुलाई स्वदेशमै उद्यमशील बनाउनुपर्नेमा उनले जोड दिइन् । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश घिमिरेले बैंक र गाउँपालिका बीच भएका सम्झौताबाट धेरै युवाले फाइदा पाउने   बताए । कार्यक्रममा बैंकका पाल्पा शाखा प्रमुख सुरज घिमिरेले युवाहरुलाई उद्यमशील बनाउनका लागि यो कार्यक्रमले सहयोग पुग्ने बताए । तानसेन नगरपालिकाले पनि यस्तै कार्यक्रमबाट धेरै युवालाई फाइदा दिएको उनले जानकारी गराए । कार्यक्रम संचालन भइसकेपछि धेरै युवालाई विदेश जानबाट रोक्ने सकिने गरी योजना निर्माण गर्न गाउँपालिकाको पनि सहयोग हुनुपर्ने उनले बताए ।

नेपाल बैंक लिमिटेडले पाल्पाकै तानसेन नगरपालिकासित पनि यसप्रकारको सम्झौता गरि उद्यमशीलता कार्यक्रम संचालन गर्दै आएको छ । तानसेन नगरपालिकामा यो कार्यक्रम निकै प्रभावकारी बन्दै गएको दाबी छ । सम्झौतामा हस्ताक्षर एवं कार्यक्रमबारे जानकारी गराउने कार्यक्रममा नेपाल बैंक लिमिटेड पाल्पा शाखाका प्रमुख सुरज घिमिरेले पाल्पामा २ वटा पालिकासँग सहुलित दरमा ऋण प्रदान कार्यक्रम गरेको बताए । यसअघि तानसेन नगरपालिकासँग काम गर्दै आएको नेपाल बैंक लिमिटेडले ६६ जना युवा तथा महिलालाई ३ करोड रुपैयाँ सहुलियत ब्याज दरमा ऋण प्रदान गरिसकेको उनले बताए । कार्यक्रम बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालको अध्यक्षता, पालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय