धूलोधूँवाबाट मुक्त गर

घरबाहिर निस्कियो भने पाल्पा जिल्लाका जुनसुकै सडकमा धूलोधूँवाले हैरानी खेप्नु पर्छ । वर्षौदेखि निर्माण व्यवसायीले काम नगर्ने, लगाएका ठेक्का सम्पन्न नपर्ने र सडक चौडा पारेर अलपत्र छाड्दा नै धूलोधूँवाको हैरानी भएको हो । धूलोले विशेषगरी साना सवारी साधन, मोटरसाइकल, साइकल, बटुवालाई बढी असर गरेको छ । यो बाहेक सडक छेउका घरधनी पनि हैरान छन् । शिद्दबाबा, झम्ुसा, चर्चरे, डुम्रे, लामडाँडा जतासुकैको धूलोले चिन्न नसकिने बनाउँछ । मोटरसाइकल चालकले वर्षाती नलगाए शरीरैभरि धूलो हुन्छ । तानसेनबाट पश्चिम हार्थोक, रिडीसम्मै धुलाम्मे सडक छ । तानसेन नगरपालिका र सडक डिभिजनले सडक चौडा गरेको थियो । तर लामोसमयदेखि काम अलपत्र पार्दा यात्रुले भने सास्ती खेप्दै आएका छन् ।

सडक स्तरोन्नति, मोड सुधार, सडक चौडाको काम समयमा सम्पन्न नगर्दा पाल्पाका राजमार्ग तथा सहायक मार्गमा धूलोधुँवाले लामो समयदेखि हैरानी खेप्नु परेको हो । पाल्पाका पक्की सडक स्तरोन्नति गर्न ठेक्का लगाइएका साथै उपभोक्ता समितिले तोकिएको समयमा काम नसकेर अलपत्र छाड्दा धूलोधुँवाको सास्ती बढेको छ । उत्तरदक्षिण सिद्धार्थ राजमार्गको बर्तुङ्देखि बाँसटारीसम्म ८ किलोमिटर धूलोले साना सवारी साधन, पैदलयात्रा, मोटरसाइकलमा यात्रा गर्नेलाई बढी हैरानी खेप्नु परेको छ । नौ महिनाअघि सडक स्तरोन्नतिका लागि चौडा गरेपनि समयमा निर्माण व्यवसायीले काम गरेको छैन । राजमार्गकै गौडेपुलदेखि चर्चरेको चार किलोमिटर क्षेत्रमा दुई वर्षदेखि धुलाम्मे छ । पानीमिलदेखि बुटवल १० किलोमिटर क्षेत्रमा पनि पक्की सडकमा आठ वर्षदेखि धुलाम्मे बनेको छ कालोपत्रे बर्तुङ–हार्थोक–रिडी सडकको अवस्था पनि तीन वर्षदेखि उस्तै छ । तानसेन नगरपालिका, सडक डिभिजनले लगाएका ठेक्काको काममा एक वर्षअघि सडक स्तरोन्नतिको काम भएपनि समयमा नाली निर्माण, ग्राभेल, कालोपत्रे नगर्दा धुलोले हैरान बनाएको छ ।

हार्थोकदेखि छहरासम्म रिब्दीकोट र रैनादेवी छहराले एक वर्षअघि सडक स्तरोन्नति गरेपनि नाली निर्माण र कालोपत्रे नगर्दा धूलाम्मे भएको छ । आर्यभन्ज्याङदेखि रामपुर जाने सडकको ३० किलोमिटर क्षेत्र पनि चार वर्षदेखि सडक चौडा गरेपनि कालोपत्र पुरिएर धुलाम्मे छ । सडक स्तरोन्नति, मोड सुधार लगायतका कामको ठेक्काको म्याद गुज्रिदा काम नगर्ने प्रवृत्तिले सर्वसाधारण, स्थानीय र साना सवारी साधनका यात्रुले बढी सास्ती खेप्नु पर्छ । लामोसमयसम्म निर्माण व्यवसायीले काम अलपत्र छाड्दा धूलोधुँवाबाट हुने समस्याका विषयमा पटकपटक सरोकारवाला निकायमा जानकारी गराएपनि सुनुवाई भने भएको पाइँदैन । त्यसैले यस विषयमा सरोकारवाला निकाय कहिले गम्भीर होला ?

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय