
पाल्पा, जिल्लाका जुनसुकै सडकमा धूलोधूँवाले हैरानी खेप्नु परेको छ । वर्षौदेखि निर्माण व्यवसायीले काम नगर्ने, लगाएका ठेक्का सम्पन्न नपर्ने र सडक चौडा पारेर अलपत्र छाड्दा नै धूलोधूँवाको हैरानी भएको हो । धूलोले विशेषगरी साना सवारी साधन, मोटरसाइकल, साइकल, बटुवालाई बढी असर गरेको छ । यो बाहेक सडक छेउका घरधनी पनि हैरान भएका छन् ।
बुटवलबाट तानसेन आएका मोटरसाइकल चालक दीपक खराल र उनको पछाडि बसेका कमल रेग्मी शीरदेखि खुट्टासम्म धुलाम्मे भए । उनीहरु वर्षाती पहिरिएर बुटवलबाट हिडेका थिए । शिद्दबाबा, झम्ुसा, चर्चरे, डुम्रे, लामडाँडा जतासुकैको धूलोले उनीहरुलाई चिन्न नसक्ने भएर आए । गुल्मी हिडेका उनीहरु तानसेन आएर पनि वर्षाती परिवर्तन गर्न पाएनन् । ‘वर्षाती नलगाए शरीरैभरि धूलो हुन्छ त्यही भएर उतैबाट लगाएर आइयो,’ खरालले भने, ‘तानसेनमा खाजा खाम्ला भनेको फेरि अगाडी उस्तै धूलो छ ।’
तानसेनबाट पश्चिम हार्थोक, रिडीसम्मै धुलाम्मे सडक छ । तानसेन नगरपालिका र सडक डिभिजनले सडक चौडा गरेको छ । तर लामोसमयदेखि काम अलपत्र पार्दा यात्रुले भने सास्ती खेप्दै आएका छन् ।
सडक स्तरोन्नति, मोड सुधार, सडक चौडाको काम समयमा सम्पन्न नगर्दा पाल्पाका राजमार्ग तथा सहायक मार्गमा धूलोधुँवाले लामो समयदेखि हैरानी खेप्नु परेको हो । पाल्पाका पक्की सडक स्तरोन्नति गर्न ठेक्का लगाइएका साथै उपभोक्ता समितिले तोकिएको समयमा काम नसकेर अलपत्र छाड्दा धूलोधुँवाको सास्ती बढेको छ ।
उत्तरदक्षिण सिद्धार्थ राजमार्गको बर्तुङ्देखि बाँसटारीसम्म ८ किलोमिटर धूलोले साना सवारी साधन, पैदलयात्रा, मोटरसाइकलमा यात्रा गर्नेलाई बढी हैरानी खेप्नु परेको लामडाँडाका यात्रु यामबहादुर कार्कीले बताए । नौ महिनाअघि सडक स्तरोन्नतिका लागि चौडा गरेपनि समयमा निर्माण व्यवसायीले काम नगर्दा सर्वसाधारणले हैरानी खेप्नु परेको उनले बताए । राजमार्गकै गौडेपुलदेखि चर्चरेको चार किलोमिटर क्षेत्रमा दुई वर्षदेखि धुलाम्मे छ । पानीमिलदेखि बुटवल १० किलोमिटर क्षेत्रमा पनि पक्की सडकमा आठ वर्षदेखि धुलाम्मे बनेको छ । ‘हरेक वर्ष ठेक्का हुन्छ तर काम हुन्न,’ स्थानीय दीपक खरेलले भने, ‘वर्षको दुई महिना काम गर्ने र आलटाल गर्ने प्रवृत्तिले सधै यात्रा सास्ती हुने भएको छ । ’ वर्षौअघि लागेका ठेक्काका काम निर्माण व्यवसायीले अलपत्र छाड्दा धूलोधुँवाको हैरानी बेहोर्नु परेको हो ।
कालोपत्रे बर्तुङ–हार्थोक–रिडी सडकको अवस्था पनि तीन वर्षदेखि उस्तै छ । तानसेन नगरपालिका, सडक डिभिजनले लगाएका ठेक्काको काममा एक वर्षअघि सडक स्तरोन्नतिको काम भएपनि समयमा नाली निर्माण, ग्राभेल, कालोपत्रे नगर्दा धुलोले हैरानी खेप्नु परेको छ । हार्थोकदेखि छहरासम्म रिब्दीकोट र रैनादेवी छहराले एक वर्षअघि सडक स्तरोन्नति गरेपनि नाली निर्माण र कालोपत्रे नगर्दा धूलाम्मे भएको छ । आर्यभन्ज्याङदेखि रामपुर जाने सडकको ३० किलोमिटर क्षेत्र पनि चार वर्षदेखि सडक चौडा गरेपनि कालोपत्र पुरिएर धुलाम्मे छ ।
सडक स्तरोन्नति, मोड सुधार लगायतका कामको ठेक्काको म्याद गुज्रिदा काम नगर्ने प्रवृत्तिले सर्वसाधारण, स्थानीय र साना सवारी साधनका यात्रुले बढी सास्ती खेप्नु पर्छ । लामोसमयसम्म निर्माण व्यवसायीले काम अलपत्र छाड्दा धूलोधुँवाबाट हुने समस्याका विषयमा पटकपटक सरोकारवाला निकायमा जानकारी गराएपनि सुनुवाई भने भएको पाइँदैन ।
सडक डिभिजन कार्यालयका सूचना अधिकारी शिवु खत्रीले धूलोधूवाँको समस्या भएको स्वीकार्छन् । उनका अनुसार निर्माण व्यवसायीलाई समयमै काम सक्न ताकेता गरेपनि काम नभएको अवस्था छ । ‘सडक स्तरोन्नति र चौडा गर्ने स्थानमा छिटो काम गर्न दबाव दिइरहेका छौं,’ सडक डिभिजनका सूचना अधिकृत खत्रीले भने, ‘जतिसक्यो छिटो धूलोधूवांबाट मुक्त गराउने भन्ने नै हो ।’ सडक डिभिजनले वर्षौअघि लगाएका ठेक्काका काममा समेत काम नभएर अलपत्र पर्दा यात्रुले भने सधै सास्ती खेप्नु परेको छ ।