
पाल्पा, रामपुरमा महिला तथा बालिका विरुद्धको हिंसा कहिल्यै नगर्ने प्रतिवद्धता जनाएका छन् । रामपुर नगर भित्रका सरोकारवालाहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापनका अवसरमा आयोजित आपतकालीन अवस्थामा हिंसा न्यूनिकरणमा हाम्रो भुमिका विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरुले प्रतिवद्धता जनाएको रामपुर नगरपालिकाले जनाएको छ ।
नगर भित्रका जनप्रतिनिधि, राजनैतिक दल, कर्मचारी, महिला अधिकारकर्मी, मेलमिलाप कर्ता, स्वास्थ्य स्वयमसेविका, सञ्चारकर्मी, विभिन्न संघ संस्थाका पदाधिकारीहरुले संयुक्तु रुपमा हिंसा कहिल्यै नगर्ने प्रतिवद्धता गरेका छन् । महिला तथा बालिका विरुद्ध हिंसाको उपेक्षा कहिल्यै नगर्ने उनीहरुले जनाए । महिला तथा बालिका विरुद्ध हिंसामा कहिल्यै चुप लागेर नबस्ने समेत उनीहरुको प्रतिवद्धता रहेको छ ।सहभागीहरुले प्रतिवद्धता पत्रमा समेत हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले जानेर नजानेर समाजका हरेक ठाउँमा हिंसा हुने गरेको बताए । उनले अब यस्तो हिँसा हुन नदिने, नगर्ने र गर्न नदिने प्रतिवद्धता जनाए । हिंसा अन्त्यको लागि आफु र आफ्नो परिवारबाट सुरु गरे मात्र समाजमा हुने हिंसाको न्यूनिकरण हुने नगरप्रमुख थापाले बताए । उनले सभ्य समाज निर्माणको लागि आजैबाट आफैबाट सुरुवात गर्न सहभागी सबैलाई आग्रह गरे । रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले आफुले हिंसा नगर्न र कसैले गरिहालेमा कानुनको दायरासम्म ल्याउनलाई सहयोग गर्न सबैलाई अनुरोध गरिन् । उनले नगरमा हुने हिंसा न्यूनिकरणको लागि नगरका वडाहरु सम्म सचेतना जगाउन नगरपालिकाले कार्यक्रमहरु सञ्चालन गर्ने बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा रामपुरका सचिव दामोदर पाठक, रामपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले हिंसा हामीबाटै नगर्ने प्रतिबद्धता जनाउनपर्ने बताए । हिंसा न्युनिकरण पनि हामीबाटै सुरुवात गर्न सम्भव हुने उनीहरुले बताए । समुहगत रुपमा भएको छलफल कार्यक्रममा सहभागीहरुले सरोकारवालाहरुको भुमिकाको बारेमा सुझाव दिएका थिए ।
कार्यक्रममा रामपुर नगरपालिकाका सल्लाहाकार देवराज ढकाल, कार्यपालिका सदस्य दुर्गा देवी भण्डारी गौतम, रामपुर नगरपालिका ५ का वडा सदस्य माया नेपाली, वडा नं. ७ का मिठु सुनार, मेलमिलाप कर्ता सञ्जु परियार, महिला सहभागी ईश्वरी देवी खनाल, नेपाल महिला संघ रामपुरका सभापति शारदा आचार्य हिंसा न्यूनिकरणका लागि हरेक वर्ष अभियान चल्ने गर्छ तर त्यसमा कमी आउन नसकेको बताएका थिए ।
लायन्स क्लब अफ रामपुरका पुरुषोत्तम केसी, रामपुर नगरपालिकाका आन्तरिक लेखापरीक्षक हृदेयश पन्थीले सबैले आफैबाट यसको सुरुवात गर्न सकियो भने कमी हुँदै जाने बताए । कार्यक्रममा रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरी पाण्डेयले नगरभित्रको जनसंख्या, लैङ्गिक समानताको अवस्थाको बारेमा जानकारी गराए ।
कोरोना महामारी र नगरको वर्तमान अवस्थाको बारेमा रामपुर नगरपालिकामा स्वास्थ्य शाखा प्रमुख तीर्थ प्रसाद ढुङ्गानाले कार्यपत्र प्रस्तुत गरे । रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यको अध्यक्षतामा भएको कार्यक्रम सहायक महिला विकास निरिक्षक सिर्जना रेग्मीको स्वागत र पुजा परियारको सञ्चालनमा भएको थियो ।