
पाल्पा, रम्भा गाउँपालिकामा मानवअधिकारको अवस्थाबारे बिहिबार बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्टिय मानव अधिकार दिवसको अवसर पारेर रम्भा गाउँपालिका र शिक्षाका लागि राष्टिय अभियान जिल्ला समन्वय समिति पाल्पाले कार्यक्रम राखेको हो ।
कार्यक्रममा रम्भा गाउँपालिकाका पाँचवटै वडाका वडाध्यक्ष, प्रतिनिधि, दलित, महिला, आदिवासी, अपांगता भएकाहरुको प्रतिनिधिको समेत सहभागिता रहेको थियो । कार्यक्रममा रम्भा गाउँपािलकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले समग्र रम्भा गाउँपालिकाभित्रका आम जनताको मानवअधिकार रक्षाका लागि क्रियाशील भइरहेको जानकारी दिए । उनले महिला, दलित, बालबालिका, अपांगता भएका, आदिवासी जनजाति लगायत समग्र क्षेत्रको विकासका लागि बजेट विनियोजन गर्ने र सोही अनुसारको काम गर्ने गरेको बताए ।
कार्यक्रममा शिक्षाका लागि राष्टिय अभियान जिल्ला समन्वय समितिका संयोजक शालिकराम पाण्डेयले रम्भा गाउँपालिकाको महिला अधिकार, बालबालिकाको अधिकार, अपांगता भएका व्यक्तिको अधिकार, दलित अधिकार, आदिवासी जनजातिको अधिकार, बाल अधिकार, ज्येष्ठ नागरिक अधिकार, युवा अधिकारका विषयमा कार्यपत्र प्रस्तुत गरे । उनले समग्र गाउँपालिकाले विनियोजन गर्ने बजेटका विषयमा समेत विश्लेषण गर्दै लैंगिक उत्तरदायी कार्य र समतामूलक अवस्था सृजना गर्नका लागि विनियोजित बजेटको समेत जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै रम्भा गाउँपालिकाकी उपाध्यक्ष राधाकुमारी श्रेष्ठले राजनीतिक अधिकार, विकासोन्मुख अधिकार, मौलिक हकका अधिकारका विषयमा तल्लो तहसम्म जानकारी गराउनुपर्ने बताइन् । रम्भा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकालले सबैको हकहितका लागि कार्यक्रम गर्न र उनीहरुको अधिकारका लािग कार्यविधि निर्माण गरेको र सोही अनुसार नै बजेट विनियोजन गर्ने गरेको बताए ।
गाउँपालिकाका लेखा अधिकृत पोष्टराज न्यौपानेले गाउँपालिकाले सामाजिक क्षेत्रको बजेट ४९ प्रतिशत रहेको रम्भामा मानवअधिकार संरक्षणका लागि आर्थिक, भौतिक विकासका लागि बजेट खर्च गर्ने गरेको बताए । गाउँपालिकाका प्रवक्ता कृष्णप्रसाद रेग्मीले सम्पूर्ण लक्षित वर्गको भावनालाई समेटेर नीति कार्यक्रम बनाउने रसोही अनुसारको बजेट व्यवस्थापन गर्ने गरेको बताए ।
गाउँपालिकाका प्रशासन प्रमुख तथा सूचना अधिकारी भक्तुजंग रानाले आम नागरिकको मानवअधिकारको विषयमा सधैभरि चनाखो भएर काम गर्ने गरेको बताए । रम्भा गाउँपालिका, पिपलडाँडाका वडाध्यक्ष थमनबहादुर थापाले गाउँपालिकाको समग्र विकास हुनका लागि आदिवासी जनजातिहरुलाई विकासको चरणमा पुर्याउन सकेमात्र समग्र विकास हुने बताए । रम्भा गाउँपालिका हुमीनका वडाध्यक्ष भोजबहादुर विकले सबै वडामा दलित अधिकारका लागि कार्यक्रम गरिरहेको र छुवाछुतमुक्त गाउँपालिका बनाउने अभियानमा रहेको बताए ।
कार्यक्रममा रम्भा गाउँपालिका शिक्षा शाखा प्रमुख मीना आचार्यले शिक्षाको क्षेत्रमा समग्र कार्यक्रम बालबालिकाको अधिकारका लागि नै गरिएको बताउँदै दिवा खाजा, दुर्घटना बिमा, विद्यार्थीसँग करेसाबारी लगायतका कार्यक्रम गरेको बताइन् । स्वास्थ्य शाखा प्रमुख शिव अर्यालले स्वास्थ्यको क्षेत्रबाट मानवअधिकार रक्षाको कार्यक्रम गरिरहेको बताए । कार्यक्रम रम्भा गाउँपालिकाकी उपाध्यक्ष राधाकुमार श्रेष्ठको अध्यक्षता र बेस नेपालका कुस्माखर पाण्डेयको संचालनमा सम्पन्न भएको थियो ।