
पाल्पा । सामुदायिक रेडियो मदनपोखराले कोभिड १९ को महामारीका कारण आर्थिक सामाजिक संकटका बीचमा पनि श्रोताको हित र समुदायको रुपान्तरणका कार्यक्रमलाई प्राथमिकता दिने बताएको छ ।
सामुदायिक रेडियो मदनपोखराले आज प्रेस विज्ञप्ती जारी गरी समुदायको रुपान्तरण, विपदसँग जुध्ने उपाए, सामुदायिक हितलगायत रेडियोको लक्ष्य र उद्देश्यमा अविचलित क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरेको हो । मानिसको दैनिक जीवनमा मात्र होइन, पेशा, व्यवसाय, उद्योग, रोजगारीसँगै समाज र राष्ट्रका कार्यक्रमहरु समेत खलबलिएका बेला रेडियोले सूचना, समाचार र शिक्षाप्रद कार्यक्रमलाई निरन्तरता दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सारेमका स्टेशन प्रबन्धक राजेशकुमार अर्यालद्वारा जारी प्रेस विज्ञप्तीमा कोरोना स्वास्थ्य सल्लाह, एसईई पाठशाला, हाम्रो पाठशाला, सुन्दै पढ्दै, गुरुकुल जस्ता शिक्षामूलक कार्यक्रम कोरोनापछिका उत्पादन हुन्, यी कार्यक्रमले समुदायलाई संकटको साथी रेडियो बनाएका छन् उल्लेख छ । ‘‘कोरोना रोकथामका लागि सरकारले जारी गरेका लकडाउन, निषेधाज्ञा र निर्देशनहरुले पनि सारेममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुले धेरै दुःख खेप्न बाध्य भए । यस महामारीका कारण रेडियोको आम्दानीको स्रोत घट्यो, खर्च बढ्यो । यो जटिल र संवेदनशील अवस्थामा पनि हामीले सूचना, समाचार र शिक्षाप्रद कार्यक्रमलाई निरन्तरता दियौं, दिइरहनेछौँ ।’’ विज्ञप्तिमा भनिएकाे छ ।