पाल्पा । तानसेनमा बजार अनुगमन गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय बुटवल आयोजना तथा जिल्ला प्रशासन कार्यालय पाल्पाको नेतृत्वमा तानसेनका विभिन्न स्थानमा अनुगमन गरिएको हो ।
तानसेनको विशालबजार, प्रेट्रोलपम्प, सिल्खानटोल, भिमसेनटोल, नारायणस्थान र मिसन रोड क्षेत्रमा अनुगमन गरिएको आयोजकले जनाए।
खाद्यान्न पसल, फ्रेस हाउस, होटल, फेन्सी र फलफुल पसलमा नमुनाका हिसाबले अनुगमन गरिएको हो । अनुगमनमा केही पसलहरुबाट म्याद ग्रुजे्रका सामान जफत गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख देवीराम भण्डारीले बताए ।
अनुगमन गर्दा पसलहरुमा उद्देश्य भन्दा बढी कारोवार गरेको, म्याद नाघेका बस्तुहरु बिक्रीका लागि राखिएको पाइएको जिल्ला प्रशासन कार्यालयका नासु हरिप्रसाद पन्थीले बताए । उनले अनुमति अनुसारको कारोवार मात्र गर्न सुझाव दिएको बताए ।
पसलहरुमा खाद्य र अखाद्य सामान एकै ठाँउमा राखेर बिक्री गरेको पाइएको छ । म्याद नाघेका सामान व्यवस्थापन नगरेको भेटिएको खाद्य प्रविधि तथा गुण नियत्रक डिभिजन कार्यालय पाल्पाका प्रमुख नरेश श्रेष्ठले बताए ।
अनुगमन गरिएको पसलहरुमा दर्ता भए÷नभएको, बिक्रीका लागि राखिएको सामान र सरसफाईको अवस्था, खरिद बिक्री बिल आदिका विषयमा हेरिएको उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय बुटवलका अधिकृत गणेश घिमिरेले बताए । उनले मापदण्ड बमोजिम नभएका पसलहरुलाई मापदण्ड पुरा गर्न सचेत गराएको बताए ।
अनुगमन टोलिले जफत गरेको म्याद ग्रुज्रेका बस्तु तथा सामान घरेलु तथा साना उद्योग कार्यालय छेउमा नष्ट गरिएको छ । अनुगमनमा विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।