सिँचाइ कूलो निर्माण गर

पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर ६, यम्घाको मन्द्रानमा खेतीयोग्य जमिन सिँचाइको अभावमा बाँझो बन्दै गएको छ । कालीगण्डकी करिडोर लोकमार्ग योजनाको गैँडाकोट, मुक्तिनाथ सडक खण्ड अन्तर्गत सडक विस्तार गर्दा आठ वर्षअघि कुलो भत्केको थियो । अहिलेसम्म बनाउन नसक्दा खेतबारी यहाँका खेतीयोग्य जमिन बाँझै भएका हुन् । सिँचाइ सुविधाले पहिले तीन खेती हुँदै आएको थियो । सडक विस्तारले कुलोको नाम निशाना छैन । झण्डै सात सय रोपनी जमिनमा अहिले सिँचाइको पहुँच बाहिर छ । स्थानीयले खेतीपाती गर्न पाएका छैनन् । मिलेको सम्म फाँटमा उराठ लाग्दो जमिन बनेको छ । कालीगण्डकी लोकमार्ग आयोजनाको कार्यालयमा स्थानीयबासिन्दा सडक विस्तार, खानेपानीको धारा र कुलो सिँचाइको लागि डेलिगेशन नगएका पनि होइनन् । तर पनि उनीहरुको माग पुरा हुन सकेको छैन । मन्द्रानको फाँटमा पहिला धान, मकै प्रशस्त उत्पादन हुने गर्दथ्यो । बाबुबाजेको पालामा मकै, धान, गहुँ लगायत तीन खेती स्याङ्जाका मानिसलाई बेच्ने गरेका थिए । अहिले भने जग्गा बाँझै भएको छ ।
सिँचाइको अभावमा कम्तीमा सात वर्षदेखि धान खेती हुन नसकेको गुनासो दुःखदायी छ । अहिले वर्षभरिमा एक खेती मकै मात्र हुन्छ । जसको सरकारी जागिर वा नियमित आम्दानी छैन । उनीहरुलाई समस्या परेको छ । गाउँबस्तीमा यतिबेला रोजगारी पनि छैन । सिँचाइ योग्य जमिनमा पनि सरकारले सडक विस्तारका नाममा सिँचाइको सुविधाबाट बञ्चित गराएको छ । पहिला २० मुरी धानबाहेक मकै र गहुँ पनि उत्पादन हुने खेतबारी अहिले बाँझो जमिनमा परिणत भएपछि चिन्तित छन् । सिँचाइको सुविधाबाट बञ्चित भएसँगै स्थानीय बासिन्दाको जीवीकोपार्जनमा समस्या देखिएको छ । पहिला यहाँका स्थानीयले अन्नवाली उत्पादन गरी बेचेर तराई तिर किनेको उदाहरण छ । अहिले स्थानीयबासिन्दाले धान खेती खेती हुन छाडेसँगै बजारबाट चामल किनेर खान थालेका छन् ।
कालीगण्डकी नदीसँग जोडिएको यस क्षेत्रमा सिचाईको अभावले खेतबारीमा घाँस पलाएको छ । खेतबारी सिरुबारी बनेको छ । किसानहरुले अहिले आकाशे पानीकै भरमा खेती गर्न बाध्य भएका छन् । कालीगण्डकी करिडोर सडक निर्माण गर्दा सिँचाइका साथै खानेपानीको मुहानसमेत बिग्रदा केही समयसम्म नदीको पानीसमेत पिउनु पर्ने बाध्यता थियो । सिँचाइको सहज पहुँच रहेका खेतीयोग्य जमिन सडक विस्तार गर्दा बाँझो र अनुत्पादनक क्षेत्रका रुपमा बदलिएको छ । हुन त कालीगण्डकी कोरिडोर विस्तारपछि यहाँका स्थानीयबासिन्दामा उत्साह थपिएको थियो । तर, त्यो उत्साह लामो समय टिकेन । जसले गर्दा अहिले पनि याहाँका बासिन्दा सडक आएपनि खुसी छैनन् । किसानको सिँचाइ मात्र होइन, खानेपानीको पनि अवस्था त्यस्तै छ । नदी नजिक भएको फाँट भएपनि पानीका मूल र मूहान छैनन् । त्यसैले वर्षौदेखि सिँचाइ सुविधा अभावमा भोग्नु परेको समस्या समाधानका लागि सरोकारवाला निकायको ध्यान पुगोस् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय