
कृष्ण दर्नाल
पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका वडा नम्बर ६, यम्घाको मन्द्रानमा खेतीयोग्य जमिन सिँचाइको अभावमा बाँझो बन्दै गएको छ । कालीगण्डकी करिडोर लोकमार्ग योजनाको गैँडाकोट, मुक्तिनाथ सडक खण्ड अन्तर्गत पाल्पाको बगनासकाली यम्घा मन्द्रान क्षेत्रमा सडक विस्तार गर्दा कुलो भत्केका छन् । आठ वर्षअघि भत्केको कुलो अहिलेसम्म बनाउन नसक्दा खेतबारी बाँझै भएका हुन् ।
सिँचाइ सुविधाले पहिले तीन खेती हुँदै आएको थियो । सडक विस्तारले आठ वर्षदेखि अहिलेसम्म कुलोको नाम निशाना नरहेको स्थानीय बासिन्दा लीलामणि अधिकारीले गुनासो गरे । उनका अनुसार झण्डै सात सय रोपनी जमिनमा अहिले सिँचाइको पहुँच बाहिर छ । स्थानीयले खेतीपाती गर्न पाएका छैनन् । मिलेको सम्म फाँटमा उराठ लाग्दो जमिन बनेको छ ।
अधिकारीका अनुसार कालीगण्डकी लोकमार्ग आयोजनाको कार्यालयमा स्थानीयबासिन्दा सडक विस्तार, खानेपानीको धारा र कुलो सिँचाइको लागि डेलिगेशन गएका हुन् । तर पनि आफुहरुको माग पुरा हुन नसकेको अधिकारीले गुनासो गरे । यही मन्द्रानको फाँटमा पहिला धान, मकै प्रशस्त उत्पादन हुने गर्दथ्यो । बाबुबाजेको पालामा मकै, धान, गहुँ लगायत तीन खेती स्याङ्जाका मानिसलाई बेच्ने गरेको स्थानीय बासिन्दाको दावी छ ।
सिँचाइको अभावमा कम्तीमा सात वर्षदेखि धान खेती हुन सकेको छैन । अहिले वर्षभरिमा एक खेती मकै मात्र हुन्छ । पहिला जस्तो गरी मकैबाली उत्पदान हुन नसक्दा स्थानीयबासिन्दा चिन्तित बनेका छन् । स्थानीय बासिन्दा प्रेम पन्थीका अनुसार जसको सरकारी जागिर वा नियमित आम्दानी छैन । उनीहरुलाई समस्या परेको छ । गाउँबस्तीमा यतिबेला रोजगारी पनि छैन । सिँचाइ योग्य जमिनमा पनि सरकारले सडक विस्तारका नाममा सिँचाइको सुविधाबाट बञ्चित गराएकाले पन्थी चिन्तित भएका छन् । पहिला २० मुरी धान मकै उत्पादन हुने खेतबारी अहिले बाँझो जमिनमा परिणत भएको अर्का स्थानीय सुमन न्यौपानेले बताए । सरकारले आफूहरुलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने स्थानीयको माग रहेको छ ।
सिँचाइको सुविधाबाट बञ्चित भएसँगै स्थानीय बासिन्दाको जीवीकोपार्जनमा समस्या देखिएको छ । पहिला यहाँका स्थानीयले अन्नवाली उत्पादन गरी बेचेर तराई तिर किनेको उदाहरण समेत स्थानीय बासिन्दाले सुनाए । तर, अहिले स्थानीयबासिन्दाले धान खेती खेती हुन छाडेसँगै बजारबाट चामल किनेर खाने थालेको न्यौपानेको दावी छ ।
कालीगण्डकी नदीसँग जोडिएको यस क्षेत्रमा सिचाईको अभावले खेतबारीमा घाँस पलाएको छ । खेतबारी सिरुबारी बनेको छ । किसानहरुले अहिले आकाशे पानीकै भरमा खेती गर्न बाध्य भएका छन् । कालीगण्डकी करिडोर सडक निर्माण गर्दा सिँचाइका साथै खानेपानीको मुहानसमेत बिग्रदा केही समयसम्म नदीको पानीसमेत पिउनु पर्ने बाध्यता थियो ।
सिँचाइको सहज पहुँच रहेका खेतीयोग्य जमिन सडक विस्तार गर्दा बाँझो र अनुत्पादनक क्षेत्रका रुपमा बदलिएको उनले बताए । कालीगण्डकी कोरिडोर विस्तारपछि यहाँका स्थानीयबासिन्दामा उत्साह थपिएको थियो । तर, त्यो उत्साह लामो समय टिकेन । जसले गर्दा अहिले पनि याहाँका बासिन्दा सडक आएपनि खुसी छैनन् । अझ अचम्म त यहाँ कालीगण्डकी कोरिडोरको ट्रयाकसमेत खुलेको छैन । मन्द्रान भीरमा ट्रयाक नखोल्ने निर्माण व्यवसायीले सिंचाइ र खानेपानीका लागि पहल नगरेको उनले बताए ।
स्थानीयबासिन्दाले कालीगण्डकी कोरिडोरको सडक विस्तारले खानेपानीका धाराकुवा समेत हराएर गएको छ । नदीको पानी बोकेर प्रयोग गर्नुपरेको उनीहरुको गुनासो छ । पाल्पाको विकट बस्ती मगरानबाट गौडाकोट देखि मुर्तिनाथसम्मको सडक विस्तार हुने भएपछि स्थानीयबासिन्दा ठूलै चहलपहल थियो ।
पाल्पाको राम्दी, रानीमहल खण्डको मगरानको भिरमा अझै पनि सडक जोडिएको छैन । कालीगण्डकी लोकमार्ग योजनाका आयोजना प्रमुख सुवोध देवकाटासमक्ष उनीहरुले गुनासो राखेका छन् । हरेक वर्ष फेरिने आयोजना प्रमुखलाई गुनासो सुनाइरहेको उनीहरुले बताए । आयोजना प्रमुख देवकोटाले सार्वजनिक कुलो, सिँचाई, पौवाको क्षति भएमा क्षतिपुर्तिका लागि पहल गर्ने बताए ।