भुवन रायमाझी
पाल्पा, रैनादेवी छहरा गाउँपालिकाको भवन निर्माणका लागि सम्झौता भएको एक वर्षपछि मात्रै शिलान्यास भएको छ । रैनादेवी छहरा गाउँपालिकाको भवन ठेकेदार कम्पनीले ठेक्का लिएर निर्माण गर्न सम्झौता गरेको करिव एक वर्षपछि गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले शिलान्यास गरेका हुन् ।
२०७६ पुस १५ गते भवन निर्माणका लागि सम्झौता गरेको थियो । निर्माण व्यवसायीले कोभिड १९ को त्रासका कारण सोही असरले देशमा लकडाउन हुँदा ढुवानीमा समस्या भएकाले समयमा शिलान्यास गर्न नसकेको जनाएको छ । कोरोना भाइरस त्रासका कारण ढिलाई भएको गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले बताए । गुणस्तर र समयमा निर्माण काम सक्ने निमार्ण ब्यावसायीहरु लाई गाउँपालिकाले पुरस्कार दिने अध्यक्ष कार्कीले बताए । विभिन्न जग्गादाताहरुले निःशुल्क रुपमा दिएको १० रोपनी क्षेत्रफलमा बन्ने गाउँ पालिकाको भवन सम्झौता गरेको १८ महिना भित्र सक्नुपर्छ ।
निमार्ण कम्पनीलाई ३ करोड ६२ लाख रुपैयाँमा भवन निर्माण गर्ने जिम्मा लगाएको गाउँपालिकाका लेखा अधिकृत लिलामणी बस्यालले बताए । उनका अनुसार बाँकी समयमा काम सक्ने गरी दबाब दिइने छ । निमार्ण कम्पनीले कामदारको सख्या बढाएर भनेको समयमा काम सम्पन्न गराउनेतर्फ ध्यान दिइने लेखाअधिकृत बस्यालले बताए ।
सरकारले अघिल्लो वर्षको चैत ११ देखि लकडाउन गरेकाले सुरुको चरणमा समस्या भएको थियो । पछि काम गर्न सक्ने वातावरण भएपनि निर्माण व्यवसायी आएनन् । अब बाँकी रहेको समयमा तोकिएको मापदण्ड अनुसार काम पुरा गर्ने प्रतिवद्धता कालीगण्डकी सपना सुन्दरी जेभीका प्रतिनिधि छत्रदेव पाण्डेले बताए ।
शिलन्यास कार्यक्रममा उपाध्यक्ष चेत कुमारी थापाले समयमै सम्पन्न गराउन गाउँपालिका र जनप्रतिनिधिले सहयोग गर्नुपर्ने बताइन् । गाउँपालिकाका प्रवक्ता तथा ४ नम्बर वडाका वडाध्यक्ष विष्णुप्रसाद पोखरेलले समयमै सम्पन्न गरेर छिटोभन्दा छिटो गाउँपालिकालाई हस्तान्तर गर्न निर्माण व्यवसायीलाई आग्रह गरे । विभिन्न वडाका अध्यक्षहरु समाजसेवी लगायतको उपस्थितिमा जगगादातालाई सम्मान समेत गरिएको थियो ।
आठ वटा वडाहरु समावेस भएर निमार्ण भएको रैनादेवी छहरा गाउँपालिकाको सेन्टरमा गाउँपालिका भवन निमार्ण हुदै छ । गुणस्तरीय काम र समयमा काम सम्पन्न गराउने तर्फ गाउँपालिकाले निगरानी बढाउनुपर्ने नागरिक समाजको सुझाव छ ।