रम्भामा विद्यार्थीसँग करेसाबारी

पाल्पा, रम्भा गाउँपालिकाले विद्यार्थीसँग करेसाबारी कार्यक्रम लागु गरेको छ । रम्भा गाउँपालिकामा विद्यार्थीलाई आफुलाई आवश्यकता पर्ने तरकारीजन्य खानेकुरा आफै आत्मनिर्भर हुनुपर्छ भन्ने भावना जागृत गराउने उद्देश्यले यो कार्यक्रम लागु गरेको हो ।
गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा विद्यार्थीसंग करेसाबारी कार्यक्रम लागू गरेपछि तरकारीजन्य खानेकुरा उत्पादनमा वृद्धि हुने र आफ्ना लागि आफै उत्पादन गर्न सक्ने हुने विश्वास लिइएको छ । आत्मनिर्भर बन्नका लागि यसबाट केही भएपनि सिकाई हुने गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

कार्यक्रमबारे जानकारी गराउँदै विद्यार्थीलाई आफै उत्पादन गरेर खानु पर्छ भन्ने भावनासँगै श्रमप्रतिको सम्मान झल्काउने उनले बताए । विद्यालयमा सिकेको सीपलाई सही ढंगले प्रयोग गर्दै घरमा आफ्ना अभिभावकलाई सघाउन सक्ने बनाउने उद्देश्य रहेको अध्यक्ष भण्डारीले बताए । रम्भा गाउँपालिकाको अभियान विद्यार्थीसंग करेसाबारी कार्यक्रमबाट १६ सामुदायिक विद्यालयका २ हजार १ सय १४ जना विद्यार्र्थी लाभान्वित हुनेछन् ।

कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई घरमा उत्पादन गर्न सकिने तरकारी का बीउ बिजन वितरण गरिएको छ । कार्यक्रममा शिक्षा शाखा अधिकृत मीनादेवी आचार्यले कार्यक्रमको प्रभावकारितालाई गाउँपालिका शिक्षा शाखा र विद्यालयले अनुगमन निरीक्षण गर्ने बताइन् । उनले विद्यार्थीले घरमा करेसाबारीमा उत्पादन गरेबापत पेसा व्यवसाय र प्रविधि विषयको व्यवहारिक नम्बर पाउने व्यवस्था रहेको उनले बताइन् ।

गाउँपालिकाले विद्यार्थीलाई विभिन्न जातका आठ प्रकारका तरकारीको बीउविजन बितरण गरेको छ । साथै त्यसको लागि आवश्यक पर्ने विषादिहरू पनि दिएको छ । शिक्षा शाखाका अनुसार विद्यार्थीलाई बीउबिजनसंगसंगै आवश्यक बीउ तयारी जग्गा छनोट गर्ने तरिका पनि सिकाइएको छ । बीउ उमार्ने तरिका पाठ्यक्रममा भएअनुसार गर्न निर्देशन दिएको प्राकृतिक आधारभूत विद्यालयका प्रधानाध्यापक छन्द प्रसाद वस्यालले जानकारी दिए । बीउँ बिजन पाएपछि विद्यार्थीहरूमा खुसियाली छाएको छ । साथै पाठ्यक्रममा भएको विषयवस्तु व्यवहारिक प्रयोग गर्न पाउदा अत्यन्तै खुशी लागेको विद्यार्थीले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय