सेवा सुधार होस्

पाल्पाका निस्दी, पूर्वखोला र माथागढीका तीन स्वास्थ्य चौकीमा नयाँ अस्पताल भवनको शिलान्यास गर्दा हाल सञ्चालनमा रहेका पाल्पाका पाल्पा र रामपुर अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीहरुको अवस्था एक पटक मूल्यांकन गर्न जरुरी छ । पाल्पा अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा हेर्ने हो भने पनि न दरबन्दीअनुसारको जनशक्ति छ, न पर्याप्त उपकरण नै छन् । पाल्पा अस्पताल १५ बेडको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा पनि पाँच बेड छन् । पाल्पामा साविकका सबै गाविसमा स्वास्थ्य चौकी थिए । रामपुर र पाल्पा अस्पताल बाहेक पनि खस्यौली, ताँहुमा प्राथमिक स्वास्थ्य केन्द्र छन् । त्यहाँको सेवाको गुणस्तर के छ ? एक पटक राजनीतिक दलका नेतृत्व, जनप्रतिनिधि सबैले राम्र्रोसँग अध्ययन गर्न जरुरी छ । अस्पताल खुल्यो भने खुसी हुने हो कि पहिला भएका स्वास्थ्य संस्थाको सेवामा सुधार ल्याउने हो भन्ने कुरा महत्वपूर्ण हो ?

अहिलेका कुनै पनि अस्पताल र स्वास्थ्य चौकीमा दरबन्दी अनुसारका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी र अत्यावश्यक स्वास्थ्य उपकरण उपलब्ध छैनन् । यी अस्पतालमा चिकित्सकसहितका कति दरबन्दी छन् ? निर्धारितमध्ये कति जना स्थायी छन् ? कतिले काम गर्छन् । कतिपयमा अझै पनि अवस्था के छ भन्ने अवस्थाको मूल्यांकन गर्न जरुरी छ । रामपुर अस्पताल ५० बेडको छ । पाल्पा अस्पताल यसैवर्ष प्रदेशले ५० बेडको घोषणा गरेको छ । तर ती अस्पतालको सेवामा सुधार छ वा छैन ? के अवस्था छ ? कर्मचारी दरबन्दी अनुसार छन् वा छैनन् ? अस्पताल विकास समिति गठन गर्छन् । ती समितिले के सुधार गरेका छन् वा छैनन् ? मूल्यांकन हुनुपर्छ वा पर्दैन । यी कुनै पनि अस्पतालमा न त तोकिएको दरबन्दी छ, न त उपकरणलगायत भौतिक सुविधाहरू नै छन् । हुन त युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज नजिकमा भएर पनि सरकारी स्वास्थ्य संस्थाको गुणस्तर सुधारमा ध्यान नदिएको हुनसक्छ । किन भने सरकारी अस्पताल, स्वासथ्य केन्द्रले रिफर गरे भै गयो ।

केही जटिल समस्या आयो भने होइन सामान्य उपचार पनि पाउने अवस्था सरकारी स्वास्थ्य संस्थामा छैन । पाल्पा अस्पतालकै कुरा गर्दा पुरानो भवन, जनशक्तिको अभाव र विशेषज्ञ चिकित्सकहरू नहुँदा रेफरल सेन्टर जस्तै बनेको छ । कोभिड १९ ले झनै थलिएको छ । सामान्यबाहेकका बिरामीलाई अन्यत्र रेफर गरेर जसोतसो सरकारी स्वास्थ्य संस्था चल्न बाध्य छन् । सरकारी अस्पतालमा पुग्ने बिरामीले समयमै उपचार पाउँदैनन् । स्वास्थ्य उपकरणको चर्को अभाव छ । लामो समयदेखि मेडिकल सुपरिटेन्डेन्ट छैनन् । अस्पतालमा भवन र जनशक्ति अभाव सधै हुन्छ । निमित्त मेडिकल सुपरिटेन्डेन्टले काम चलाएको वर्षौ भइसक्यो । कर्मचारी र पूर्वाधार अभावकै कारण अस्पतालले आफ्नो कतिपय साधनस्रोतको उपयोग गर्न नसक्दा सेवाग्राही मार खेपिरहेका छन् । यस विषयमा सम्बन्धित राजनीतिक नेतृत्व, जनप्रतिनिधिको ध्यान पुगोस् । पाल्पाली जनताको स्वास्थ्यलाई गुणस्तर बनाउन सेवामा पनि गुणस्तर सुधार्न जरुरी छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय