
पाल्पा । अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा दमकडा माध्यमिक विद्यालयले अन्तरक्रिया कार्यक्रम गरेको छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ मा संसारभर अपांगता दिवस मनाउन थालिएको हो । यस वर्षको अपांगदिवसको नारा कोभिड १९ पश्चात् उत्कृष्ट पुनरागमनको सुनिश्चितता अपांग भएका व्यक्तिहरुको पहुँच र दिगो विकास लागिहामी सबैको प्रतिबद्धता रहेको थियो ।
विद्यालयको दृष्टिविहीन छात्राबासमा आयोजित कार्यक्रमका सहभागीहरुले कोरोना महामारीको अवधिमा ४० प्रतिशत अपांगता भएका व्यक्तिले रोजगारी गुमाएकाले तिनको रोजगारी सुनिश्चित हुनुपर्ने विचार व्यक्त गरेका छन् ।
कार्यक्रममा दृष्टिविहिन शिक्षक कृष्णप्रसाद पराजुलीले अपांगता भएका व्यक्तिमा फरक क्षमता हुने र त्यो क्षमताको समाजले उपयोग गर्ने गर्दै आएको बताए । उनले दमकडा माध्यमिक विद्यालय र यहाँको समाजले दृष्टिविहीन भएका बालबालिकालाई सम्मानजनक व्यवहार प्रदर्शन गरी दक्ष र योग्यनागरिक तयार गरिदिएको धारणा व्यक्त गरे ।
कार्यक्रममा दृष्टिविहीन विद्यार्थी सन्दीप थापाले साङगलाई भन्दा बढी स्नेह, प्रेम र सद्भावदिएर दमकडा माध्यमिक विद्यालयले अपाङगलाई शिक्षाप्रदान गरेको बताए । उनले भावविह्ल हुँदै भने, ‘दमकडा माध्यमिक विद्यालय नभएको भए पढ्न पाइन्थ्यो पाइदैनथ्यो, बाँच्ने आशाजाग्थ्यो जाग्दैनथ्यो शंका रहेको बताए ।’
दमकडाले २०५२ सालदेखि दृष्टिविहीन विद्यार्थीलाई पनि पठनपाठन गर्दै आएको छ । विद्यालय छोड्न लागेका विद्यार्थीहरुले दृष्टिविहीन बालबालिकालाई दमकडामा पढ्न पढाउने प्रतिवद्धता गरेका थिए । विद्यालयले यस वर्ष दशजोड दुई परीक्षा दिएका ८ जना दृष्टिविहीन विद्यार्थीलाई पाल्पाली करुवा प्रदान गरी थप शैक्षिक प्रगतिका निम्ति हौसला प्रदान गरेको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले दृष्टिविहीनका लागि व्यवस्थित पुस्तकालय, सुविधा सम्पन्न छात्राबास, दृष्टिविहीन मैत्री कम्यूटर ल्यावलगायतका सुविधाहरु थप्न लागेको जानकारी दिदैँ समाजमा रहेका दृष्टिविहीन बालबालिकालाई विद्यालयको पहुँचसम्म ल्याइदिन आग्रह गरे । उनले दृष्टिविहीनलाई पढ्न मात्र नभएर खान, बस्न र मनोरञ्जन गर्न निःशुल्क गरिएको बताए ।
कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक माधवप्रसाद पाठक, उद्यमी सोमनाथ पाठक, बासुदेव खनाल, सहायक प्रधानाध्यापक होत्रीराज ढुंगाना, शिक्षक रामप्रसाद भट्टराई, धनपति गैरेलगायतले विद्यार्थीलाई शुभकामना दिए ।