
पाल्पा, माथागढीमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान चलिरहेको छ । गाउँपालिकाको आठवटै वडामा कार्यक्रम भइरहेको गाउँपालिकाकाकी उपाध्यक्ष निर्मला भट्टराईले बताइन् ।
माथागढी गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले माथागढी गाउँपालिकाको देबगीरबाट गरेको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भट्टराईले पालिकामा कम्तीमा पनि एक हप्तामा दुई भन्दा बढी हिंसाका घटना दर्ता भएको बताइन् । कतिपयलाई पालिकाबाटै समस्या समाधान गर्ने गरेको र जटिल मुद्दालाई जिल्लामा रिफर गर्ने गरेको बताइन् ।
कार्यक्रममा सहभागीहरुलाई हिंसा सहेर बस्न नहुने उनले बताइन् । समस्या परेमा पालिकाको न्यायिक समितिलाई जानकारी गराउन उनले आग्रह गरिन् । कार्यक्रममा सामाजिक अगुवा बालकृष्ण जीसीले हिंसा सहनु नहुने बताए । उनले हिंसा भएको थाहा पाएमा सम्बन्धित निकायलाई जानकारी गराउन उनले आग्रह गरे । समाजमा हुने हिंसाका घटना निर्मूल हुने भन्दै कार्यक्रमले समाज परिवर्तनमा टेवा पुग्ने बताए ।
माथागढी प्रहरी प्रमुख हरिप्रसाद अर्याललेसमाजमा धेरै हिंसाका घटना हुने बताए । उनले त्यस्ता घटना बाहिर नआउने हँुदा समाजमा अप्रिय घटना बढी घट्ने गरेको बताए । त्यसैले यस्ता अप्रिय घटना घट्न नदिन सबै एकजुट भएर लाग्नु पर्ने उनले बताए । कार्यपालिका सदस्य तारा रसाइली र मनुमाया गाहाले महिला हिंसा हटाउन आफ्नो घरबाटै सुरु गर्नुपर्ने बताइन् ।
सबैको उद्देश्य एउटै भएमा हिंसा समाजबाट नै निर्मूल हुने उनले बताइन् । समाजमा हिंसात्मक घटना जतिसुकै हुन्छन् तर समाजदेखि बाहिर नआउदा समाजमा नै हिंसा नभएको आभास हुने अगुवा महिला माया बस्यालले बताइन् । हिंसा भने समाजमा जरो गाडेर बसेकाले यसलाई न्यूनिकरण गर्दै निर्मुल गर्न सबैले ऐक्यवद्वता जनाउनुपर्ने बताइन् । कार्यक्रममा सबै सहभागीले म हिंसा गर्दिन, सहन्न, देखेको हिंसामा प्रतिकार गर्छु भन्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरे । कार्यपालिका सदस्य सावित्रा पन्थीको स्वागत, उपाध्यक्ष निर्मला भट्टराईको अध्यक्षता चलेको थियोे । कार्यक्रमको संचालन झडेवाकी वडासचिव दिलमाया पुनले गरेकी थिइन् ।