निरन्तरता पाओस्

पाँच वर्षअघिसम्म रामपुर नगरपालिका क्षेत्रलाई कृषि र पशुपालनमा खासै जोड दिएका थिएनन् । तर स्थानीय तहको निर्वाचनपछि भने रामपुर क्षेत्र विभिन्न काममा अघि बढेको छ । अहिले नयाँ र नमुनाको रुपमा आलु पकेट क्षेत्रका लागि प्रख्याती कमाउन लागेको छ । अर्गली, ओलेस, लग्दुवाको आलु भनेर चिनिने पाल्पामा अर्को आयाम थपिएको छ । रामपुर आलु पकेट क्षेत्र बन्ने अवस्थामा छ । अघिल्लो वर्ष व्यवसायिक उत्पादन गरेकाहरुले यसवर्ष दोब्बर उत्पादनमा लागेका छन् । रामपुर नगरपालिका वडा नम्बर ६ आलु पकेट क्षेत्र बनेको हो । अघिल्लो वर्ष नै रामपुर नगरपालिका–६, लाई आलु पकेट क्षेत्र बनाउने अभियानले यसवर्ष सार्थकता पाएको छ । वडा कार्यालयको सहयोग र स्थानीय किसानको मिहिनेतले १६ लाख किलो आलु उत्पादन गर्ने अभियान सुरु भएको छ ।
रामपुर नगरपालिकाको ‘एक वडा एक उत्पादन’ कार्यक्रम अन्तर्गत ६ नम्बर वडाले आलु उत्पादनलाई जोड दिएको छ । अनुदानमा आलुको बीउँ दिने मात्र नभई किसानलाई उत्प्रेरणा जगाउने कार्यक्रम गरिएको छ । जसले गर्दा वडाको अभियान यसवर्ष सफल हुने भएको हो । वडा कार्यालयको सहयोगमा मात्र होइन, किसान आफैले पनि बीउ किने लगाएका छन् । बिक्रीको समस्या नभएकाले पनि किसान हौसिएका हुन् । किसानले बिक्री गर्न नसकेको आलु वडाले खरिद गरेर समेत बिक्री गरिदिने भनेपछि थप हौसिएका छन् । ६ नम्बर वडामा मात्रै कम्तीमा ६ सय घरपरिवारले आलु लगाउन सुरु गरेका छन् । सिंगो गाउँ आलु खेतीमा लागेपछि अघिल्लो वर्ष नलगाउनेले पनि यसवर्ष लगाउने योजनासहित अघि बढेकाले पनि आलु पकेट क्षेत्र हुनेमा आश्वस्त पर्न सकिन्छ । यहाँ १० समूहका साथै व्यक्तिगत समेत आलु लगाएका छन् । समूहमा नबस्नेहरु पनि अहिले व्यक्तिगत रुपमै आलुलाई व्यवसायिक बनाउन कस्सिएका छन् ।
घरमा खान पनि हुने र बिक्री गरेर आम्दानी पनि हुने भएपछि महिला बढी आकर्षित भएका छन् । यसवर्ष ४ सय ५० रोपनी बढी क्षेत्रफलमा आलु लगाइरहेका छन् । रामपुरका किसानले ६ सय रोपनी र पकेट क्षेत्र तथा अन्य ६ सय रोपनी गरी १२ सय रोपनीमा आलु रोप्ने कार्य भैरहेको छ । ठूलो क्षेत्रफलमा आलु लगाउन लागे पनि कसरी लगाउने भन्ने विषयमा चिन्तित कृषकहरु मेसिनबाटै आलु लगाउन पाउने भएपछि उत्साहित भएका छन् । यस्ता प्रविधिले किसानलाई उत्साहित बनाएको छ । नगरपालिकाले कृषिलाई प्राथमिकतामा राखेर अघि बढेको छ । किसानलाई निर्वाह मुखी नभई व्यवसायिक बन्न नगरपालिकाको आग्रह छ । अहिलेको समय भनेको प्रविधिको उच्चतम प्रयोग गरेर बढी उत्पादन लिने हो। एक दुई बोरा आलु विक्री भएन भनेर बस्ने होईन । अब ट्रकका ट्रक उत्पादन गरेर बाहिर बाट आलु खरिदका लागि आउने वातावरण गराउने हो । त्यसैले यसमा स्थानीय तहको सहयोग भने निरन्तर हुनुपर्छ । होइन भने किसानले आगामी वर्षमा लगाउन छाड्ने छन् ।

सम्बन्धित खवर