पाल्पाका तीन स्थानीय तहमा १५ बेडको अस्पताल शिलन्यास

पाल्पा । जिल्लाका तीन स्थानीय तहमा १५ बेडको अस्पताल शिलन्यास गरिएको छ । माथागढी र पूर्वखोलामा लुम्विनी प्रदेशसभा सदस्य नारायण आचार्यले र निस्दीमा प्रदेशसभा सदस्य युवराज खनालले शिलन्यास गरेका हुन् ।

निस्दीको मित्याल स्वास्थ्य चौकी नजिकै १५ बेडको अस्पताल बन्ने छ । यस्तै माथागढीको झडेवा स्वास्थ्य चौकी र पूर्वखोलाको बीरकोट स्वास्थ्य चौकी नजिकै रहेको छ । माथागढी गाउँपालिकामा वार्ड नम्बर ४ झडेवाको मलेवासस्थित अस्पतालको शिलान्यास गर्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद नारायण प्रसाद आर्चायले प्रदेश सरकार स्थानीय तहहरुको सर्वपक्षीय विकासमा लागि परेको बताए ।

नागरिकले आधारभूत रुपमा पाउनु पर्ने स्वास्थ्यको अधिकारलाई मध्यनजर गर्दै नेपाल सरकार र स्थानीय तहको सहयोगमा अस्पताल बनाउने तयारी रहेको उनले बताए । नेकपा जिल्ला अध्यक्ष समेत रहेका आचार्यले प्रदेश सरकारले भौतिक निर्माण, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत जस्ता क्षेत्रहरुमा पनि तीब्र रुपमा काम गरिरहेको बताए ।
माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार थापाले प्रदेश सरकारसँगको सहकार्यमा सम्पन्न गर्नु पर्ने योजनाका शतप्रतिशत कामहरु माथगढी गाउँपालिकाले सम्पन्न गरेको बताए । सबैजसो विकास निमार्णका कामहरुमा माथिल्ला सरकारहरुले स्थानीय तहसँग समन्वय र सहकार्य गरे काम छिटो र सही ढँगले सम्पन्न हुने बताए । अध्यक्ष थापाले आफूहरुले समयमै अस्पताल निर्माणको लागि चाहिने आवश्यक जग्गा उपलब्ध गराउन सकेकाले गर्दा समयमै काम प्रारम्भ हुन लागेको समेत उल्लेख गरे ।
झडेवा स्वास्थ्य चौकी रहेको स्थानमा नै १५ शैयाको अस्पताल बन्ने भएको हो ।
हाल रहेको झडेवा स्वास्थ्य चौकीको भवन निर्माण गर्न स्वर्गीय जीवनाथ पन्थीले २०४४ सालमा साढे चार रोपनी जग्गा निशुल्क प्रदान गरेका थिए । अब भने अस्पताल बन्न ९ रोपनी जग्गा चाहिने भए पछि स्वर्गीय जीवनाथ पन्थीको छोरा राजेश पन्थी, माथागढी वार्ड नं ४ मलेवास निवासी राम बहादुर पन्थी, चन्द्रदेव पन्थी, टंकनाथ पन्थी , खुम बहादुर पराजुली र डिल बहादुर झेडीले हाल रहेको स्वास्थ्य चौकीसँग जोडीएको थप आवश्यक जग्गा निःशुल्क प्रदान गरेका छन् ।

१८ करोड ६ लाख रुपैयाँको लागानीमा बन्न लागेको यो अस्पताल २ वर्ष भित्र सम्पन्न हुने इन्जिनियर धमेन्द्र यादवले बताए । अहिले संघीय सरकारले एक करोड मात्रै विनियोजन गरेको छ । शिलान्यास कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष निर्मला भट्टराइले अस्पताल बन्ने भएपछि गाउँपालिका पुरै जनता खुशी भएको बताइन् । कार्यक्रममा वार्ड नं ६ का वडा अध्यक्ष रनबहादुर खाम्चाले अब ग्रामीण भेगका जनताहरुले पनि आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित हुन नपर्ने बताए । यसले गर्दा बेरोजगार समस्या समेत हल हुृने भएकाले आफूहरु खुशी भएको बताए । कार्यक्रम स्वास्थ्य शाखाका प्रमुख केशव जि.सी.को सञ्चालन र वार्ड नं ४ का वडा अध्यक्ष तथा झडेवा स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष मधु पराजुलीको अध्यक्षतामा चलेको हो । यो स्वास्थ्य संस्था स्वास्थ्य चौकी, इलाका स्वास्थ्य चौकी हुदै अस्पताल सम्म स्तरोन्नति हुन लागेको हो ।

निस्दी गाउँपालिकाको मित्याल स्वास्थ्य चौकी नजिकै १५ शैंयाको अस्पताल शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेशसभा सदस्य युवराज खनालले अस्पतालको शिलान्यास गरे । निस्दीको मित्यालमा बन्न लागेको अस्पतालको शिलान्यास गर्दै प्रदेशसभा सदस्य खनालले कुनै पनि नेपाली नागरिक उपचारको अभावमा मर्नु नपर्ने बताए । नागरिकको स्वास्थ्य सुरक्षाको लागि नेपाल सरकार पूर्ण जिम्मेवारी रहने उनले बताए । शिलन्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले मित्यालमा अस्पताल बन्दा छिमेकी गाउँ र वडालाई समेत फाइदा पुग्ने बताए । गाउँपालिका केन्द्रसमेत यही भएकाले पनि उपचार गर्न आउने र अन्य कामका लागि आउनेलाई सहज हुने उनले बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रिता कुमारी अर्यालले स्वागत गर्दै जग्गा व्यवस्थापनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । उता बीरकोट स्वास्थ्य चौकी नजिकै बन्न लागेको आधारभूत अस्पतालको लुम्बिनी प्रदेशसभा सदस्य नारायण आचार्यले शिलन्यास गरे । गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाका अनुसार नौ रोपनी जग्गा व्यवस्थापन गरेर भवन निर्माणको काम समयमै हुने बताए । पूर्वखोला स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले दुईवर्ष भित्र भवन निर्माण हुने र अस्पताल संचालन हुने बताए । कार्यक्रम गाउँपालिका अध्यक्ष नुनबहादुर थापाकाे अध्यक्षतामा चलेकाे हाे ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय