रामपुरमा लैङ्गिक हिंसा निवारण कोष सञ्चालन तथा व्यवस्थापन समिति गठन

सीता डोटेल
पाल्पा, लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पारेर रामपुर नगरपालिकाले लैङ्गिक हिंसा निवारण कोष सञ्चालन तथा व्यवस्थापन समिति गठन गरेको छ । नगरपालिकाको सातौ नगर सभाबाट पारित लैंङ्गिक हिंसा निवारण कोष (सञ्चालन) कार्यविधी २०७७ को कार्यान्वयनमा सहज बनाउन महिला हिंसा बिरुद्धको अभियानको समय पारेर समिति गठन गरेको रामपुर नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखाले जनाएको छ ।

यस कोषले नगरपालिकाभित्र लैङ्गिक हिंसाबाट पीडित र प्रभावितलाई उद्दार, उचित तथा आवश्यक सहयोग गर्नेछ । कार्यविधी बनाई कार्यान्वयनमा ल्याइएको लैङ्गिक हिंसा निवारण कोष संचालन कार्यविधीमा रहेर काम गर्न र नगरभित्र हिंसामा परेका त्यस्ता नागरिकको अवस्था पहिचान, उद्दार र सहयोगको खण्डमा यो समितिले काम गर्नेछ ।

महिला हिंसा बिरुद्धको १६ दिने अभियानको पहिलो दिन गठित ३ वर्षे कार्यकाल रहने यो समितिमा नगरपालिकाका नगरउपप्रमुख विष्णुदेवी घिमिरे आचार्य संयोजक, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्य, ईलाका प्रशासन कार्यालय रामपुरका प्रमुख अशोककुमार आचार्य, ईलाका प्रहरी कार्यालयका प्रमुख भीमबहादुर कार्की, स्वास्थ्य शाखा प्रमुख तीर्थप्रसाद ढुङ्गाना, महिलामा कार्यपालिका सदस्य सावित्रा गौतम र सुशीला रेग्मी, गैर सरकारी सस्थाबाट कालीगण्डकी फाउन्डेसन नेपालका सचिव सीता डोटेल, मेलमिलापकर्ता पवित्रा ढकाल पौडेल सदस्यमा रहनु भएको छ भने समितिको सदस्य सचिवमा महिला, बालबालिका तथा समाज कल्याण शाखाकी महिला बालबालिका कार्यक्रम तथा न्यायिक समिति सचिवालयमा कार्यरत पुजा परियार रहेका छन् ।

नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा बसेको समिति गठनमा सेतो रिवन लगाएर अभियानको शुरु गरिएको हो । नगरपालिकाका हरेक कर्मचारीले पनि सेतो रिबन लगाएर अभियानमा एक्यवद्धता जनाएका छन् ।

सोही अवसरमा नगर प्रमुख थापाले समाजमा हिंसा विभिन्न बहानामा धेरै तरिकाले महिला र पुरुषमाथि समेत हुने गरेकाले हिंसा लुकाउनु र लुक्नु नै मुख्य समस्या रहेको बताए । कतिपय हिंसा सहेर बस्ने गलत प्रवृत्ति बिगतमा भएकोमा स्थानीय तहमा नै न्यायिक समिति र जनप्रतिनिधि भएपछि सामान्य देखि जटिल प्रकृतिका हिंसाजन्य घटना नगरपालिकामा आउने गरेको बताउँदै यसको न्युनिकरण उचित व्यवस्थापनमा सबै लाग्नुपर्नेमा जोड दिए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्यले लैङ्गिक हिंसा विरुद्धको अभियान व्यवहारिक हुनुपर्ने बताए ।
बैठकमा लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियान कार्यक्रम संचालन र न्यायिक समितिमा नियमित आउने घटना तथा पीडित, उद्दार गर्नैपर्ने अबस्था घटनाका सन्दर्भमा समितिमा छलफल भएको थियो । समितिको सचिवालय महिला, बालबालिका शाखामा रहने समितिका सदस्य सचिव पुजा परियारले जानकारी दिए । बैठकमा महिला तथा बालबालिका शाखाका प्रतिमा मल्ल, पुजा परियार, सिर्जना रेग्मीले सहजिकरण गरेका थिए ।

यसैबिच लैङ्गिक हिन्सा बिरुद्धको अभियानमा एक्यवद्धता जनाउँदै नगरपालिका कार्यालय तथा सबै वडा कार्यालयमा कार्यरत कर्मचारीले लैङ्गिक हिंसाविरुद्ध अभियानको सेतो रिबन लगाएको महिला तथा बालबालिका शाखाले जनाएको छ ।

सम्बन्धित खवर