पर्यटकको रोजाइमा मरामकोट र जन्तीलुङ्

पाल्पा, तिनाउ गाउँपालिका वडा नम्बर ५ को मरामकोट र वडा नम्बर ६ को जन्तीलुङ् पर्यटनका लागि नयाँ गन्तव्यका रुपमा अघि बढेको छ । यहाँ आन्तरिक पर्यटक आउन थालेका छन् । व्यवस्थित मोटरबाटो र भ्यू प्वाइन्टलाई अझ सुधार गर्न सके पर्यटकको ओइरो लाग्ने त्यहाँ पुगेकाहरुको सुझाव छ ।

तिनाउ गाउँपालिकाको मस्याममा मरामकोट पर्छ । जन्तीलुङ् पनि पूरानो मस्याम नै हो । अहिले दुबैको वडा मात्र फरक परेको छ । एउटै गाउँलाई दुई वडामा विभाजन गरिएको छ । नयाँ र उदाउँदो पर्यटकीय गन्तव्यलाई घुम्न जाने जोसुकैले मन पराउन थालेको स्थानीयको बुझाई छ । जन्तीलुङ् र मरामकोटमा भ्यू प्वाइन्ट बनेका छन् । जन्तीलुङ् तिनाउ गाउँपालिकाको वडा नम्बर ६ मा पर्छ भने मरामकोट वडा नम्बर ५ मा पर्छ । जन्तीलुङ्मा भ्यूटावर जस्तै ढुंगा थियो । त्यसमा अहिले रेलिङ राखेर पार्क बनाइएको छ ।

मरामकोटमा ढुंगाकै वरपर पनि रेलिङ राखेर सुन्दर र आकर्षक बनाइएको छ । ५ नम्बर वडाका वडाध्यक्ष दलबहादुर दर्लामीका अनुसार थोरै बजेटबाट केही काम गरौ भनेर गर्दा अहिले सबैले मन पराएका छन् । उनका अनुसार सिद्धार्थ राजमार्ग नागबेली जस्तै देखिन्छ । यहाँबाट तानसेन हिमालको काखमा देखिन्छ । यति मात्र होइन, लमजुङ्देखि डोल्पासम्मका हिमाल लहरै देख्न सकिन्छ । यु आकारको ढुंगामा पार्क बनाइएको छ । यो ठाउँ यसअघि खासै चर्चामा थिएन ।

अहिले एकाएक चर्चामा आएको पार्क निर्माण गरेर नै हो । स्थानीयसमेत रहेका साविकको मस्याम गाविसका अध्यक्ष पूर्णबहादुर खाम्चाका अनुसार यसलाई पर्यटकीय क्षेत्र बनाउन खोजिएपनि बजेट अभावले यत्तिकै भएको थियो । हिमाल र पहाडको मनोरम दृष्य हेर्नका लागि उपयुक्र्त स्थान मरामकोट हो ।

मिराङ्ल्हुङ (यु डाँडा) अर्थात् पशुको सिङ जस्तो ढुंगा भएकाले यहाँ आकर्षक दृष्य पनि देख्न सकिने उनले बताए । यहाँ नजिकै समृद्धिश्वर गुफा पनि छ । गुफा पहिला नै भेटिएपनि पछि मात्र यसलाई थाहा भएको हो । स्थानीय गणेश दर्लामीका अनुसार गुफा ठूलै छ । यसलाई व्यवस्थित गर्न यसवर्ष बजेट अभाव भयो । व्यवस्थित गर्ने हो भने पक्कै ठूलो छ भन्ने स्थानीय दुई युवाले पुष्टि गरेका छन् ।

गुफाको दक्षिण भेगबाट भित्र गएर अर्को भागबाट निस्केको उनले बताए । यति मात्र होइन, युवाहरु यसको खोजीमा भित्र गएका थिए । तर यसलाई विकास गर्न अभाव बजेट नै हो । मरामकोट यु ढुंगा पुग्न चर्चरेबाट पनि मोटरबाटो खुलेको छ । वडाध्यक्ष दलबहादुर दर्लामीका अनुसार होम स्टे पनि सुरु भएकाले अब यहाँसम्म आउनेपर्यटकलाई कुनै समस्या हुनेछैन ।

मरामकोटको माथिल्लो टुप्पो (चुचुरो) मा जन्तीलुङपर्छ । स्थानीय शेरबहादुर लम्तरीका अनुसार मगरभाषामा लुङ्ग भनेको ढुंगा हो । जन्तीलुङ जान चर्चरे र जोरधाराको बीच नयाँ बजारबाट पनि जान सकिन्छ । सिद्धार्थ राजमार्गको डुम्रे बजारबाट पनि पक्की पुल तरेर जान सकिन्छ । पछिल्लो वर्ष जन्तीलुङ होमस्टे जाने स्वागत गेट बनेको छ । कच्चीबाटो मस्यामको हटिया नपुग्दै वरैबाट माथि लाग्न सकिन्छ । १० देखि १२ किलोमीटर टाढा जन्तीलुङ पर्छ ।

जन्तीलुङ सुमद्री सतहदेखि १ हजार ६ सय मीटर उचाइँमा छ । १० घरमा होमस्टे चलेको छ । तिनाउ गाउँपालिका र स्थानीयकै लगानीमा होमस्टे (घरबास कार्यक्रम) सञ्चालन गरेका छन् । गत आर्थिक वर्षमा पालिकाको १० लाख र स्थानीयहरुको दुई लाख बराबरको श्रमदानमा भ्यू प्वाइन्ट निर्माण सम्पन्न भएको गाउँ कार्यपालिका सदस्य मीनासरा लम्तरी मगरले बताइन् । उनी सोही गाउँकै स्थानीय बासिन्दा एवम् होमस्टे सञ्चालक समेत हुन् ।

गाउँमा होमस्टे चलेपछि सांस्कृतिक कार्यक्रम (ठूलो नाच, झ्याउँ रे, सालैजो जस्ता नाच) देखाउने चलन बनेको छ । प्रायः सबैले मगर भाषा बोल्छन् । यसले गर्दा भाषाको जगेर्ना र संस्कृतिको संरक्षणमा टेवा पुगेको छ । जन्तीलुङ् सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर लम्तरीका अनुसार गाउँमा होमस्टे खुलेपछि पाहुनाहरुलाई खाजा, खाना र बस्नका लागि सक्दो उचित प्रवन्ध मिलाइएको छ ।

यहाँबाट हिमालको काखमा तानसेन बजार देख्नि सकिन्छ । यतिमात्र होइन, तराई, हिमाल र पहाड देखिने जिल्लाकै महत्वपूर्ण स्थान भएपनि अहिलेसम्म पछि परेको थियो । स्थानीय सरकारले विकास गर्न अघि रेपनि अझै पर्याप्त बजेट लगानी गरेको छैन ।

स्थानीयका अनुसार सडक स्तरोन्नति नगर्दा आउने जोसुकैले गाली गर्ने गरेका छन् । हिमाल, पहाड र तराईलाई एकै स्थानबाट धेरै ठाउँ हेर्न सकिने भएकाले पनि पर्यटकीय गन्तव्य बन्नेमा कुनै दुईमत नभएको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तिमगरले बताए ।

होमस्टे र भ्यू पोइन्ट, होमस्टेको ब्रोसियर र प्रवेशद्वारका लागि आर्थिक सहयोग गाउँपालिकाले गरिसकेको अध्यक्ष घर्तिले बताए । तिनाउ गाउँपालिकालाई चिनाउने पर्यटकीय गन्तव्यहरुमध्ये जन्तीलुङ्ग महत्वपूर्ण गन्तव्य भएको गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताए । आगामी दिनमा सबै घरहरुमा शैचालय निर्माण, किसानहरुलाई केराउको बीउ वितरण, करेसाबारी खेती तालिम र लोकल कुखुरापालनलाई प्राथमिकता दिने योजना रहेको गाउँपालिकाका प्रवक्रा श्रेष्ठले बताए ।

सम्बन्धित खवर