कोभिडले तिनाउ झ्याङ्लामा सामान्य ‘न्वागी’

पाल्पा, कोभिड १९ का कारण दोभान झ्याङ्लाबासीको कान्छो पर्वका रुपमा लिइने न्वागी महोत्सव यस वर्ष सामान्य रुपमा मनाइएको छ । तिनाउ गाउँपालिका–२ झ्याङ्लाको बंँदेल पोखरी सामुदायिक वन, लालीगुराँस महिला समूह र झरना युवा क्लवको आयोजनामा न्वागी महोत्सव गर्दै आएका थिए । यसपटक कोरोना भाइरस संक्रमण त्रासका कारण सामान्य रुपमा न्वागी मनाइएको Σयाङ्ला स्मार्ट कृषि गाउँका अध्यक्ष चोपलाल गिरीले बताए ।

विगतमा स्थानीय बासिन्दाको सक्रियता र नगद सहयोगमा मेला लगाउने गरिन्थ्यो । गाउँको माथिल्लो भागमा रहेको खाँडदेवी पुजा गरेपछि लगाउने महोत्सवमा परम्परागत ठूलो नाच, खेली तथा पञ्चेबाजा, स्थानीय नृत्यले भब्य बनाउने चलन थियो । नयाँ धानको चामल र सिलामलाई दहीमा भिजाएर देवीको मन्दिरमा चढाउने गरिन्छ । त्यसलाई एकआपसमा टिका लगाएर सगुनका रुपमा खाने चलन छ । स्थानीय इमानसिंह थापाका अनुसार समुदायले निर्माण गरेको खाँड देवीस्थान मन्दिरमा बली चढाउने र नयाँ चामल चढाउने पुरानो परम्परा हो ।

स्थानीयका अनुसार यहाँ पहिले मगर बस्ती थियो । त्यसबेला खेतीपाती गर्ने भन्दा पनि जंगलको गिठाभ्याकुर खोजेर गुजारा गरिन्थ्यो । यहाँका मगर समुदायले खेती गर्ने चलन नभएको र विस्तारै खेतीपाती गर्न जान्ने भएका हुन् । पशुपालन गर्ने, जंगल जाने, जंगली भर्लाको रसीबाट बुनेर झोला जस्तो बनाउने गर्थे । त्यही झोला लिएर हिड्ने मानिस बसोवास गर्ने भएकाले झ्याङ्ले भन्न थालियो । उनीहरुको बस्तीको नाम नै छिमेकी गाउँकाले झ्याङ्ला राखिदिएको भनाई छ ।

खेतमा धान लगाउन थाले र त्यही धान देवीदेवतालाई नचढाईकन खान हुँदैन भन्ने मान्यता रहेको स्थानीय बुढापाकाहरु बताउँछन् । न्वागीमा समाजका सबैले खाने, छिमेकी र आफन्तलाई समेत ख्वाएपछि मात्र नयाँ चामल खान सुरुवात गर्ने चलन रहेको छ । त्यही चलनलाई उनीहरुले अहिलेसम्म जिवितै राखेका हुन् ।

न्वागी महोत्सवमा बोल्दै लुम्बिनी प्रदेश सांसद तुलाराम घर्ती बसन्तले यस्तो प्रकृतिको परम्परागत प्रचलनलाई जोगाई राखेको   बताए । उनले यस वर्ष कोभिडका कारण सामान्य तवरले मनाए पनि आगामी दिनमा यस महोत्सवले निरन्तरता पाउने बताए ।

परम्परादेखि चलिआएको संस्कृति जोगाउन झ्याङ्लाबासीले गरेको कार्यक्रममा यस क्षेत्रकै उदाहरणीय भएको तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले बताए । यस्तो संस्कृति दोभानको सम्पत्ति भएको उनले बताए । यहाँ प्यूठान, गुल्मी र बाग्लुङ्बाट दोभानको झ्याङ्लामा आई बसोवास गर्नेहरुले ‘न्वागी महोत्सव’ लगाउने गर्छन् । तिनाउ गाउँपालिका–२ झ्याङ्ला गाउँका ११० घरपरिवारमा यस्तो चलन अझै कायमै छ । यो पुस्तौदेखिको चलन हो ।

सम्बन्धित खवर