स्वःराेजगार बन्न तेल्घाका युवाले पाए बंगुरका पाठापाठी

कृष्ण दर्नाल
पाल्पा । तेल्घामा बंगुरका पाठापाठी वितरण गरिएको छ । ग्रामीण आर्थिक विकास संघ रेडा पाल्पा, तानसेन नगरपालिका १० नम्वर वडाको आयोजना र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम, तानसेन नगरपालिकाको सहयोगमा कोभिड १९ को प्रतिकार्यका लागि यूवा उद्यमशीलता विकास परियोजनामार्फत् आयआर्जनका लागि बंगुरका पाठापाठी दिइएको हो ।
सामाजिक तथा आर्थिक पुन प्राप्ति कार्यक्रम अन्तर्गत बंगुरका पाठापाठी वितरण कार्यक्रम सम्पन्न भएको रेडाका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताए । तानसेन १० तेल्घाका आर्थिक रूपमा कमजोर परिवारका युवालाई उद्यमशील बनाउन बंगुरका पाठापाठी वितरण गरिएको हो । एक पाठा, दुई पाठीका दरले १० जना युवालाई वितरण गरिएको कार्यकारी निर्देशक कार्कीले बताए ।
कार्यक्रममा नगरप्रमुख अशोक कुमार शाहीले युवाहरुको सोँच विचारमा परिवर्तन आएको अवस्थामा बेरोजगारी समस्या हल हुने बताए । उनले युवाहरु विदेशमा मजदुर गर्न जाने मानसिकता हटाएर स्वदेशमा मालिक बन्ने सोँचको विकास गर्न आवश्यक रहेको बताए । तानसेन नगरपालिकाले दलित उत्थान, महिला र युवा स्वरोजगार,कार्यक्रमलाई सफल बनाउनुपर्ने उनले बताए ।
नगरका वडालाई बाख्रा, बगुर, कुखुरापालन क्षेत्रमा नमूना बनाउने गरी काम अघि बढेको उनले बताए । संकलन केन्द्र स्थापना गरी किसानले उत्पादित वस्तुहरूको बजार व्यवस्थापन गर्न नगर अघि बढेको उनले बताए । तानसेन नगरपालिका उप प्रमुख लक्ष्मीदेवी पाठकले नगरवासीको आर्थिक उन्नति गर्न नगरपालिकाले प्रयास गरेको बताइन् । उनले खेतबारीमा मेहनत गरेमा प्रशस्त आम्दानी गर्न सकिने हुँदा कृषि र पशुपालनमा लाग्न अनुरोध गरिन् ।
पाल्पा अस्पतालका अध्यक्ष नेत्र प्रसाद पाण्डेले बाँझो खेतबारीमा उत्पादनमुखी बनाउनुपर्ने बताए ।नेपाललाई आत्मनिर्भर बनाउने उत्पादनका क्षेत्रमा मेहनतको खाँचो रहेको उनले बताए । कार्यक्रममा रेडाका कार्यकारी निर्देशक कार्कीले तानसेन नरपालिका, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहयोगमा ग्रमीण आर्थिक विकास संघ रेडाद्वारा सञ्चालित कोभीडका कारण प्रभावित युवालाई उद्यमशील बनाउन बंगुरका पाठा पाठी वितरण गरिएको बताए ।
बंगुरका पाठा पाठी लाई उचित पोषणको ब्यबस्थापन गरी आम्दानी बढाउन सकिने उनले बताए । तानसेन नगरपालिका भित्रका १ सय १३ जना युवालाई उद्यमशील बनेको समेत बताए । उनले पाल्पाली ढाका, करुवा, पुष्प खेती, माछा पालन लगायतका विधामा तालिम तथा बीउ पूँजी प्रदान गरी युवालाई उद्यमी बनाएको बताए । कार्यक्रम वडा नम्बर १० का वडा अध्यक्ष लोचन तिमिल्सेना रानाको अध्यक्षतामा भएको हो ।

सम्बन्धित खवर