पछिल्लो समयमा भारतीय फूल भन्दा नेपालमै उत्पादन भएको फूलको माग बढेको छ । तर यसको उत्पादनमा स्थानीय तहको भने कुनै सहयोग छैन । पाल्पाको रामपुर, माथागढी र तानसेनमा व्यवसायिक फूलखेती गरेका छन् । हुन त तिनाउको दोभान, बगनासकालीको नायरनमतलेस लगायतका स्थानमा पनि फूल खेती नगरेका होइनन् । तर व्यवसायिक बन्न भने सकिरहेका छैनन् । फूल खेती गर्नेलाई संघीय, प्रदेश र स्थानीय तहको सहयोग खासै छैन । जसले गर्दा तालिम प्रदान गरेर मात्र होइन, यसलाई प्राविधिक तथा प्रविधिको सहयोगको खाँचो छ । व्यवसायिक फूल खेती गर्नेहरु मौसमी र बेमौसमी दुबै खेती गर्छन् । हुन त फूलको प्रयोग सबैभन्दा बढी दसैं तिहार जस्ता ठूला चाडपर्वमा हुने गर्छ । अन्य समयमा पनि फाट्टफुट्ट फूलको प्रयोग नहुने होइन ।
पाल्पाको रामपुर क्षेत्रमा फूलको खपत राम्रै भको छ । तानसेनमा पनि खपत ठिकै हुन्छ । तर जनसंख्याको हिसाबले पनि फूलको खपत भनेको छिमेकी बजार बुटवल, भैरहवाका साथै पश्चिमको नेपालगञ्ज, कैलालीसम्म माग आउने गर्छन । पाल्पाबाट ढुवानीका लागि समस्या झेल्नु पर्छ । तत्काल फूल पठाउन समस्या हुन्छ । फूल गाउँमै बिक्री गरेर पनि सकिदैन । गतवर्ष पाल्पाको रामपुर नगरपालिका, देवीस्थानका दिलबहादुर थापाले व्यवसायिक फूल खेती सुरु गरेर पाल्पामा फूल खेती सफल हुन्छ भन्ने प्रमाणित गर्न सफल भए । स्थानीय तहबाट पनि फूल बिक्रीमा सघाउने प्रतिवद्धता पाए । तर मौसमी तथा बेमौसमी फूल खेती गरेका उनलाई अन्य सिजनमा भने बजारको चिन्ता भयो । अझै यस वर्ष कोरोना भाइरस संक्रमण त्रासका कारण झनै चिन्तित तुल्यायो ।
पाल्पामा बिक्री हुन समस्या नै छ । बुटवल, काठमाडौका व्यापारीलाई सम्पर्क गरेर फूल बिक्री गर्छन् । तर पनि उनीहरुको माग अनुसार तत्काल पठाउन समस्या छ । ढुवानी, प्राविधिक, प्रविधिको समस्या मात्र होइन, लगानी गरेर प्रतिफल पाइने हो वा होइन भन्ने बजारको ग्यारेन्टी पनि छैन । त्यसैले पनि फूलको बजारका लागि स्थानीय तहले सघाउनपर्छ । यति मात्र होइन, प्रदेश सरकारले बुटवल वा कुनै ठाउँमा बिक्री केन्द्र वा फूलको लागि छुट्टै पेभिलिएन बनाउन जरुरी छ । फूल खेतीबाट उत्साहित भएकालाई बजारको खोजी, प्रविधि, प्राविधिक सहयोग जरुरी छ । यसवर्ष फूल खेती गर्नेहरु पुनः अर्कोवर्ष पनि फूल खेती नै गरुन् भन्ने चाहना राख्ने बनाउन जरुरी छ न कि अर्को वर्ष छाडुन् । त्यसैले भारतीय फूलको बजारलाई नेपाली बजारमा रुपान्तरण गर्ने हो भने फूल खेती गर्नेलाई सबै क्षेत्रबाट सहयोग हुनु जरुरी छ ।