
पाल्पा । रामपुर नगरपालिका, रामपुरमा सार्वजनिक पुस्तकालय सञ्चालनमा आएको छ । बढ्दो शहरीकरण संगै पूर्वाधार विकासको क्रममा रहेको रामपुरमा कालीगण्डकी फाउण्डेशन नेपालले विद्या मन्दिर सार्वजनिक पुस्तकालय सञ्चालनमा ल्याएको हो । फाउण्डेशनले नगर क्षेत्रको आवश्यकता परिपूर्तिका लागि रामपुर ५ बेझाँड नहरअफिसमा पुस्तकालय शुभारम्भ गरेको हो ।

रामपुरस्थित सार्वजनिक पुस्तकालय “विधा मन्दिर सार्वजनिक पुस्तकालय “ तस्विर साैजन्य ः इमानसिंह राना
प्रध्यापक, शिक्षक, विद्यार्थी संगै उद्योगी, व्यवसायी तथा स्थानीयहरुको ज्ञान अभिवृद्धिका लागि पुस्तकालय शुभारम्भ गरिएको हो । छठ पर्वको अवसर पारेर शुक्रबार एक कार्यक्रमका शुभारम्भ गरिएको हो । पुस्तकालयको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका सांसद एवं नेपाली कांग्रेस पाल्पाका सभापति विर बहादुर रानाले पछिल्लो समय हरेक क्षेत्रमा नैतिक शिक्षाको खडेरी परेको बताए । व्यवहारिक र नैतिक शिक्षाको अभावले शासन व्यवस्था परिवर्तन भए पनि अभाव र समस्या कायम रहेको बताए ।
समाजलाई सचेत गराउन उचित ज्ञानको अभाव रहेको भन्दै यसको परिपूर्ति पुस्तकालयले गर्ने उनले बताए । उनले अध्ययनलाई व्यवहारमा लागू गर्न नसक्दा विश्वमा समस्या देखिएको समेत उल्लेख गरे । रानाले आफ्नो तर्फ बाट आवश्यक सहयोगका लागि पहल गर्ने बताउँदै पुस्तकालयको दिगोपनको लागि सबै लाग्नु पर्नेमा जोड दिए । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले पछिल्लो समय प्रविधिको विकास संगै पुस्तक पढ्ने बानी हराउनु दुखद् रहेको बताए ।

सार्वजनिक पुस्तकालय “विधा मन्दिर सार्वजनिक पुस्तकालय “ काे उद्घाटन पछि कालीगण्डकी फाउण्डेसनका पदाधिकारी ।
उनले आवश्यक ज्ञान आर्जन गर्ने सहज आधार पुस्तकालय रहेको बताए । साथै रामपुरमा पुस्तकालय हुनु नगरको गौरवको विषय रहेको उनले बताए । थापाले संस्था संग नगरपालिका सदा साथमा रहेको भन्दै आवश्यक सहयोगक लागि प्रतिवद्ध रहेको बताए । रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले पुस्तकालय सञ्चालनले विकृति हटाउन समेत टेवा पुग्ने बताइन् । मोबाईल तथा इन्टरनेटमा झुम्मिने पछिल्लो पुस्तालाई यस तर्फ आकर्षित गर्न सकेमा ठूलो राहत मिल्ने उनले बताइन् ।
व्यस्त मानिसहरुलाई ज्ञान आर्जन गर्दै समय विताउनका सहयोग गर्ने उनले बताइन् । कालीगण्डकी फाउण्डेशनका सल्लाहाकार सन्दीप रानाले पुस्तकालय अहिले सुरुवात मात्र गरिएको बताउँदै यसको विस्तार र दिगोपनाको लागि सबैको सहयोग अपरिहार्य रहेको बताए । उनले रामपुर अझ सम्भावना बोकेको स्थान रहेको भन्दै यसले थप नयाँ आयाम थप्ने बताए । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले पछिल्लो पुस्तामा नैतिक शिक्षाको अभाव रहेको भन्दै आवश्यक नैतिक शिक्षा र व्यवहारिक ज्ञान प्रदानमा पुस्तकालयको महत्वपूर्ण भूमिका रहने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस रामपुर नगर कार्य समितिका सभापति नेत्र प्रसाद भट्टराई, नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष कमलराज भट्टराई, रामपुर नगरपालिका ५ का वडा अध्यक्ष हिमाल मल्ल, किताब यात्राका प्रमुख ऋषि आचार्य र रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले ज्ञानको लागि पुस्तक अपरिहार्य रहे पनि पठनसीपको अभाव रहेका बताए । साथै उनीहरुले पुस्तकालयको दिगो सञ्चालनको शुभकामना दिएका थिए । कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकण्ठ भण्डारीले अहिले पहिलो चरणमा धार्मिक, सांस्कृतिक, साहित्य, इतिहास तथा पाठ्यक्रमका पुस्तकहरु गरी ४ हजार ५ सय बढी पुस्तक राखिएको जानकारी दिए । उनले कार्यविधी अनुसार पुस्तकालय सञ्चालन गरिने भन्दै स्थानिय, प्रदेश र संघिय सरकारको सहकार्यमा ईलाईब्रेरीको अवधारणा अनुसार अघि बढ्ने बताए । कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रम उपाध्याक्ष पवित्रा पौडेल ढकालको स्वागत र सचिव सीता डोटेलको सञ्चालनमा भएको हो ।