आस्था र विश्वासको साझा गन्तव्य भैरवनाथ मन्दिर

पाल्पाको रिब्दीकोट गाउँपालिका–४, भैरवस्थान स्थित रहेको भैरवनाथ मन्दिर सबै धर्मावलम्बीहरुको आस्था र विश्वासको केन्द्र बनेको छ । तानसेन–तम्घास सडकको तानसेनदेखि ९ दशमलव ५ किलोमिटर पश्चिममा भैरवनाथ मन्दिर पर्छ ।

लेखक ः नवराज ज्ञवाली

पाल्पाका सेनवंशी राजा मुकुन्द सेन प्रथमले स्थापना गरेको भन्ने किंम्वदन्ती छ । विक्रमको १५ औँ १६ औँ शताब्दीमा स्थापना भएको भन्ने जनविश्वास पनि छ । मन्दिर स्थापनासंगै श्री गुुरु गोरखनाथ सम्प्रदायका योगी पूजारीहरुबाट पूजा गर्ने परम्परा चलिआएको थियो । अहिले यस मन्दिरमा गुरु गोरखनाथ सम्प्रदायका योगी पूजारीहरुबाट पूजा हुने गर्छ ।
१४७० मिटरको उचाईमा रहेको यो मन्दिर चारैतिरबाट शिखरिदै गरेको टाकुरो डाँडामा छ । नेपाली तले शैलीमा पित्तलको छानो सहित सुनको गजुर रहेको यस मन्दिरको बनौट प्यागोडा शैलीमा रहेको पाइन्छ । प्राचीन सेन कालीन भवन र राणा कालीन कला संस्कृति झल्किने यो मन्दिर हेर्दा सेनकालिन प्रासाद ब्लाइन्ड विन्डो भएकोले यस मन्दिरको इतिहास र कलाशैली सेनकालीन र राणाकालीन स्थापित संस्कृतिकोे अनुभव गर्न सकिन्छ ।
मन्दिरको निर्माण संगै यहाँको वास्तुकला हेर्दा सेनकालिन राजप्रसादले घेरिएको ६० फुट लम्बाई र १३ फुट चौडाई भएको ढुङ्गाले छापिएको छ । ठूलो चोकसहित मन्दिरलाई निर्माण गरिएको छ । मन्दिरको भवन र तले शैलीको पञ्चकोठी भवन (दरवार) धुनी सत्तल (सन्त निवास) मुन्दा बूर्जा घर (सितलपाटी) ले मन्दिर घेरिएको पाइन्छ । चोकसहित निर्माण भएको यस मन्दिरको अगाडि भित्री चोकमा १८ फिट १८ इन्च उचाई र ६ फिट चौडाई भएकोे दक्षिण एशियाकै अग्लो र ठूलो पित्तल पाताले मोडिएको त्रिशुलले यो मन्दिर प्रख्यात रहेको पाइन्छ । यस त्रिशुलसंगै अन्य साना त्रिशुल पनि असंख्य संख्या रहेको छ । त्रिशुललाई भक्तजनले मन्दिरमा प्रिती गरी चढाएका हुन् ।
मन्दिर स्थापनासंगै स्थापित यस त्रिशुललाई पछि पाल्पाका कमाण्डर इन चीफ जनरल प्रताप शमशेर जंगबहादुर राणाले सुनको जलपगरी प्रतिस्थापित गरेको जानकारी त्रिशुलमा लेखिएको लिपिपत्रले गराउँछ । त्यस्तै मन्दिर अगाडि चोकमा विभिन्न वर्ष अंकित लेखिएका ठूला र साना घण्टहरु रहेका छन् । घण्टहरुसंगै ढलोट गरिएको दुईवटा भैरवका बहान कुकुर र अन्य मूर्तिहरुमा भैरवपादुका, अञ्जली मुद्रामा पादपीठभई, उभिएको स्त्री मूर्ति, वलीवेदी क्षेत्रपाल, नन्दीस्तम्भ र उमा महादेवको मूर्ति रहेका छन् ।
मन्दिरको चोकमा अंञ्जली मुद्रामा पाद पीठभई उभिएको देवी मूर्तिको पादपीठमा लेखिएको लिपिपत्र अनुसार पाल्पा तानसेनबाट नेपाल महाबौद्धमा बस्ने मीर सुब्बा दुर्गाप्रसाद र उनको स–परिवारले उक्त मूर्तिलाई भैरव मन्दिरमा वि.सं. १९६९ साल मार्ग सुदी मिति १५ शुभम्मा प्रिती गरी चढाएको भन्ने जानकारी हुन्छ ।
भैरव मन्दिर पाल्पाली सेनवंशका राजा मणिमुकुन्द सेनले स्थापना गरेको हुँदा यो मन्दिर सेन इतिहाससंगै जोडिका अन्य मन्दिर देवालयसंग सम्बन्ध रहेको पाइन्छ । जस अनुसार रिडीको रिषिकेशव, तानसेन अमरगंजमा रहेको बटुक भैरव, तानसेनको प्रभासमा रहेको मुकुन्देश्वर महादेव शिवालय मन्दिर, तिनाउ गाउँपालिकाको नुवाकोटमा रहेको भैरव मन्दिर, रुपन्देहीको बुटवलमा रहेको भैरव मन्दिर, नवलपुरको गैडाकोटस्थित रहेको मौलाकालिका मन्दिर र चितवनको देवघाटमा रहेको चक्रशीला, पाल्पाली राजा मुकुन्द सेनको नामसंग जोडिएकाले ती मन्दिरहरु सेनकालीन इतिहाससंग जोडिएकोले यस भैरव मन्दिरको सम्बन्ध ती मन्दिरहरुसंग रहेको पाइन्छ ।
भैरव मन्दिर स्थापनासंगै श्री गुरु गोरखनाथ सम्प्रदायका भैरव भक्त योगी पूजारीबाट पूजा सुरु भएको यस मन्दिरमा जयमुनि ऋषिबाट नित्यपूजा गर्ने गरेकोे किंम्वदन्ती पाइन्छ । तिनै जयमुनि ऋषिले सुरु गरेको भैरवको पूजालाई त्यही विधिबाट अहिलेसम्म चलिरहेको पाईन्छ । यसरी मन्दिर स्थापना संगै मन्दिरका पूजारी दिनहुँ कालिगण्डकी स्नानगर्न जाने र त्यहीबाट जल लिएर मन्दिरमा आई भैरवलाई स्नान गराउने त्यही जलले भैरवको पूजा गर्ने र भैरवलाई जल चढाउने गरेका थिए ।
एक दिन मन्दिरको पूजारी स्नानगर्न र जललिन जाँदा गंगा सुतिरहेकोमा ती ऋषि पूजारीले गंगाको बिचमा गई स्नान गर्न खोज्दा गंगाले ती पूजारीलाई डुवाउन खोज्दा ऋषि पूजारी कत्ति नआत्तिकन गंगास्नान गरी त्यहीबाट जल लिई आएको र भैरवलाई चढाएको किंम्वदन्ती संगै अर्कोदिन मन्दिरबाट जल लिन जादा गंगाले पूजारीलाई तिमी को हौँ ? कहाँ बाट आयौँ ? भनि सोध्दा भैरवका ऋषि पूजारीले भने म पाल्पा भैरवको पूजारी हुँ ।


म यहाँ दिनहुँ स्नान गरी जल लिन आउने गरेको छु । भने ऋषि पूजारीले बताए पछि गंगाजीले भनिन् अब देखि तिमी यहाँ आउनु पर्दैन म त्यही आउनेछु । गंगाजीले भनेको कुरा विश्वास नलागे र गंगालाई सोध्दा तपाई आएको हामीले कसरी थाहा पाउने प्रश्नमा गंगाजीले भनिन भैरव मन्दिर रहेको स्थानबाट दक्षिणपूर्व दिशातर्फको भैरव चरणपादुका मुनी पूर्व दिशातर्फ एउटा ठूलो रुख छ । त्यही रुखमुनी चिसो आउला, अलि अलि पानी आउला र त्यही स्थानमा गएर तिमीले चिम्टाले खोल्दा खोस्रदा म त्यही पानी भई आउनेछु ।
कहिले पानीमा बालुवा आउनेछ कहिले शालिग्राम आउनेछन् त कहिले जोडा भएर आउनेछन्, कहिले विजोडा भई आउनेछन् भनि गंगाले बताए अनुसार भैरव मन्दिरका गुरु गोरखनाथ सम्प्रदायका नाथयोगी जयमुनी ऋषि पूजारीले चिम्टाले खोस्रेर पानी निकालेकाले त्यहीबाट भैरव मन्दिरको पूजा र भैरव देवताको स्नान गराउन प्राचीन धारा जय धाराबाट जल ल्याउने परम्परा अहिले पनि रहेको छ ।
जयमुनि ऋषि योगिबाट निकालिएको गंगा धारा भएकाले उक्त धाराको नाम प्राचीन जयधारा भनि नाम रहन गएको स्थानीय दानबहादुर पोखरेलको भनाई छ र यही जनविश्वास रहि आएको छ । यसरी मन्दिर स्थापना भएपछि पूजागर्ने र गंगागएर स्नानगर्ने र त्यहीबाट जल ल्याउने परम्परासंगै मन्दिरको पूजाका लागि अहिले पनि त्यही परम्परा अनुसार दिनको करिव ३, ४ बजे तिर जल लिन जाने चलन रहेको पाईन्छ ।
जल लिन जाँदा जलघडाको मुखलाई रातो कपडाले छोपी पूजारी स्वयम्ले पनि मुख छोपि जलघडालाई दाहिने काँधमा बोकी हातका औँलाहरुमा फूलपाती सिउरीसंगै कोही कसैसंग नबोली जल लिएर आउने परम्परा रहेको छ । यस मन्दिरमा जल भित्रिए संगै भक्तालुहरुको पूजा लिने गरिदैन तर दर्शनकालागि आएका भक्तालु दर्शनार्थीलाई दर्शनगर्न कुनै रोकतोक गरिएको छैन । दिउँसो भित्रिएको जलले साँझको भैरवको पूजा आरती संगै वौदिक र तान्त्रिक विधिबाट गरिन्छ । भैरवको पूजा संगै धुनी पूजा चोकमा रहेका अन्य देवताको पूजा घण्टनगरा बजाएर पूजा गरिन्छ । र त्यही जलले मन्दिरको अर्को दिनका लागि पूजामा प्रयोग गर्ने गरिन्छ ।
दिउसो भित्रिएको जलले साँझको भैरवको आरती पूजा, धुनी पूजा चोकमा रहेका अन्य देवताको पूजा, घण्टनगरा बजाएर गरिन्छ र त्यही जलले मन्दिरको अर्को दिनको पूजाका लागि प्रयोग गर्ने गरिन्छ । यहाँको मुख्य मूर्ति महाकाल भैरव, कृतिमुख बटुक भैरव र कालीमाता (देवी) को भएकाले यहाँ पूजा गर्दा श्री गुरु गोरखनाथ सम्प्रदायकानाथ योगी पूजारीबाट तान्त्रिक र वैधिक विधिबाट गरिन्छ ।
यहाँ रहेको महाकाल भैरवको स्वरुप शिवको अंश शिवस्वरुप मानिएको छ । शिवस्वरुप, भगवान भैरव रुद्रावतार दुर्गामाँको सेवक कालीमाँको सामिप्यता हुने भएकाले यहाँको भैरवको मूर्तिसंगै कालीमाताको पनि पूजा हुने गर्दछ । त्यसैले भैरवलाई संसारी जीवनलाई अभयदान दिने भगवानको रुपमा हेर्ने गरिन्छ । भैरव भक्तजनका हृदयमा बसी तीनको उद्धार गर्ने भगवान भएकाले भैरवलाई कालको पनि काल भएको देवताका रुपमा लिने गरिन्छ । त्यसैले भैरवलाई महाकाल भैरव भनी पुकारिएको हुनुपर्दछ । त्यसैले भैरव देवतालाई भक्तका लागि कल्पतरु जस्तै भएको देवता मान्ने जनविश्वास रहेको पाईन्छ ।
भैरव नाम र स्वरुपले डर लाग्दो भयकर आफै उत्पत्ति शीलामा जमिनमा धंसी बसेको साक्षात् दुई पाउ, दुई हात, र तीन नेत्र भएको डर लाग्दो स्वरुप भएको देवता भएकाले भैरवको पूजा गर्दा तान्त्रिक र वैदिक विधिले पूजा गर्नुपर्ने हुन्छ । यदी विधि नपुगेको खण्डमा अनिष्ट हुने हुँदा विधि पु¥याई पूजा गर्नुपर्ने हुन्छ । महाकाल भैरवको स्वरुप डरलाग्दो भएकाले भय हुने डरले गर्दा सर्वसाधारण भक्तजनका लागि दर्शन गर्न बन्देज गरिएको मन्दिरका मुख्य पूजारी जितनाथ योगीले बताउँछन् । महाकाल भैरव कालको पनि काल भएको देवता भएको हुँदा यहाँको महाकाल भैरवको स्वरुपलाई हेर्न हुँदैन भन्ने मान्यता र परम्परा रही आएको छ ।

भैरव सबै आस्था र विश्वास बोकेकाहरुको साझा मन्दिर भएकाले यस क्षेत्रको जीवन्त संस्कृतिको धरोहर रहेको बुझ्न सकिन्छ । मन्दिरमा पूजारीले तान्त्रिक र वैदिक विधिबाट पूजागर्दा आँखामा पट्टी बाँधेर पूजा गर्ने परम्परा रही आएको छ । पूजागर्दा घण्टनगरा बजाएर पहिलो पूजा गुफामा रहेको महाकाल भैरव दोस्रो गुफाको माथी तलामा रहेको कृतिमुख बटुक भैरव र तेस्रो पूजा गुफाको दक्षिण पट्टी कोठामा रहेको कालीमाँ (देवी) को र अन्य देवताको पूजा गरी आरती संगै मन्दिरको साँझको पूजा सकिन्छ । मन्दिर बाहिर प्रासादले घेरिएको चोकभित्र रहेका अन्य देवता भैरवपादुका, स्त्री मूर्ति, उमा महादेव मूर्ति, त्रिशुल, वलीवेदी क्षेत्रपाल, नन्दीस्तम्भ लगाएतका देवताहरुलाई आरती सहितको पूजा गरेपछि धुनिपूजा गरिन्छ ।
धुनिपूजा संगै मन्दिरको साँझको आरती संगै घण्टनगरा पूजा गरिन्छ । साँझको पूजा सकेपछि अर्को दिनको रातीको तीन चार बजे मन्दिरका पूजारी उठेर पहिले आफूले स्नान गरी शरिर शुद्ध बनाउँछन् र मन्दिरको देवतालाई स्नान गराउँदछन् र मन्दिरको कोठा लिपपोत गर्दछन् । लिपपोत संगै भैरव मूर्तीको सिंगार गर्ने र मन्दिरको विधि विधान अनुसार घण्टनगरा बजाई पहिले महाकाल भैरव त्यसपछि गुफामाथी रहेको कृतिमुख बटुकनाथ भैरव र मन्दिरको गुफामा पश्चिमको कोठामा रहेको कालीमा (देवीको) पूजा संगै अखण्ड दीप, सत्तल चोकमा रहेका देवताहरुलाई पूजा गरिसकेपछि अखण्ड धुनि पूजा गरिन्छ र मन्दिरको नित्य पूजा सकिन्छ । अनि मात्र बाहिरबाट आएको पूजा लिने गरिन्छ ।
दर्शन गर्न दिने गरिन्छ । तर शनिबार र मंगलबार भने मन्दिरको पहिलो पूजा आफ्नै हुने गर्दछ । उक्त पूजामा प्रसादीको रुपमा चामलको पिठोमा गाईको दुध घ्यू, चिनी सुगन्धित मसला मिसाई पिठोलाई मुछेर रोट पकाई रोटको बीचमा नाभी सहितको पकाइन्छ । यसरी पोकेको रोटलाई महाकाल भैरव, कृतिमुख बटुक भैरव र कालीमाँ देवीलाई एक एकवटा गरी तीनवटा रोट मन्दिरको तर्फबाट चढाइन्छ । मन्दिरको आफ्नै पूजा सकेपछि बाहिरको पूजा लिने गरिन्छ ।
मन्दिरलाई व्यवस्थित गरी संचालन गर्ने सोंचले गर्दा तत्कालिन भैरवस्थान गा.वि.स को अगुवाईमा सर्वदलिय भेलाको आयोजना गरी मन्दिरको ऐतिहासिक पक्षको जानकारी गराउने महत्वको बारेमा छलफल गरि उक्त भेलाबाट समिति निर्माण भएको पाईन्छ । समिति निर्माण संगै वि.सं. २०५४ सालमा भैरवनाथ मन्दिर व्यवस्थापन समिति बनेको इतिहास भेटिन्छ । समिति निर्माण भए संगै भैरवस्थान गा.वि.स समितिको पदेन सदस्य रहने व्यवस्था रहेको पाइन्छ । समितिको निर्माण संगै समिति सञ्चालन र व्यवस्थापनको नियमन गर्ने निकाय कुन हो भन्ने जानकारी नभएकाले नियमन गर्ने निकाय भनेको नजिकैको जिल्ला प्रशांसन कार्यालय होला भनी सम्पर्कमा जाँदा त्यहा केही छलफल भई जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार त्यही निकायमा दर्ता भई आधिकारीकरुपमा पहिलो पटक व्यवस्थापन समितीको आधिकारिकता प्राप्त भयो ।
समितिको निर्माण संगै संस्थापक अध्यक्ष दुर्गाप्रसाद खनाल रहेको पाईन्छ । यसरी वि.सं. २०५४ देखि व्यवस्थापन समिति बने संगै राजेन्द्र नेपाल र तुलबहादुर अधिकारीले मन्दिरको नेतृत्व लिएको पाईन्छ । मन्दिरको संचालन र व्यवस्थापन गर्दै जाँदा गुठी अन्र्तगत जिल्ला मालपोत कार्यालय पाल्पामा दर्ता भई समितिको काम र व्यवस्थापन लाई प्रभापकारी रुपमा अगाडी बढाएको पाईन्छ । समितिको निर्माण भए संगै पूरातात्विक विभाग र केन्द्रिय गुठि संस्थान बाट मन्दिरका संरचना जिर्णोद्धार गर्ने काम भएको पाईन्छ । भैरवनाथ मन्दिरको निर्माण सहित ११ रोपनी ४ अना ० पैसा ३ दाम क्षेत्रमा मन्दिर परिषर रहेको पाइन्छ भने बाँकी ६१ रोपनी ३ आना १ पैसा २ दाम क्षेत्रफल मन्दिरले चर्चेको पाईन्छ । मन्दिरको अक्षेता र पूजारी रवान्कीका लागि गुठी खेतको व्यवस्था रहेकोमा भैरव मन्दिरको गुठभित्र के कति जग्गा जमिन छ, भन्ने नाप जोख नभएकोले वि.सं. २०३२ सालको नापीमा मन्दिरको नाममा रहेको गुठ जग्गा भैरवटारी खेत र जोगीटारी खेत बाहेक अन्य गुठ यकिन गरी जग्गा छुट्टाइएको पाइन्छ ।
गुठको बारेमा जिज्ञासा राखी सोध खोज गर्दा स्थानीय मसुरेटोलका टोपनारायण खनालले मन्दिरको गुठको बारेमा बताउँदै वि.सं. २०४२ सालपछि सरकारको सूचना अनुसार भैरव मन्दिरको गुठ जग्गाको मूल्य तिरी मोहीहरुले मन्दिरबाट छुटकारा लिएकोे बताए ।
त्यस्तै राणा कालमा देवालय, मठमन्दिरमा राजगुठ र अन्य गुठ राख्ने व्यवस्था गरेकोमा वि.सं. २०४६ सालपछिका सरकारले देवालय र मठमन्दिरका गुठ जग्गालाई क्रमस मास्ने काम गरेकोमा भैरवनाथ मन्दिर व्यवस्थापन समितिका सदस्य गंगाबहादुर थापाले दुखेसो व्यक्त गरे । वि.सं २०५४ भन्दा अघिसम्म यस मन्दिरमा महन्थको जिम्मेवारीमा रही मन्दिरका जिन्सी र नगदको व्यवस्थापन हुने गरेको पाइन्छ । मन्दिर स्थापनासंगै यस मन्दिरमा महन्तका रुपमा इच्छानाथ योगी बाचानाथ योगी, मंगलनाथ योगी, हरीहरनाथ योगी, गणेशनाथ योगी, बैजनाथ योगी, देवेनद्रनाथ योगी, बालकनाथ योगी र काशीनाथ योगीले मन्दिरको महन्तको रुपमा मन्दिरको पूजा संचालन व्यवस्थापन गरि आएको पाइन्छ ।
वि.सं २०५४ पछि भैरवनाथ मन्दिरको पूजा व्यवस्थापन समिति मार्फत हुन थालेपछि वि.सं. २०५९ देखि मन्दिरको मुख्य पूजारीमा जितनाथ योगी रहेको पाइन्छ । मन्दिरको व्यवस्थापन समिति बनेपछि गुरु योजना बनाउने समितिको सक्रियता रहेको पाइन्छ । मन्दिरका गुरुयोजना संगै अन्य योजनालाई जोडेर विकास निर्माणका काम भौतिक संरचनाको निर्माण भएको पाइन्छ ।
यस मन्दिरमा मन्दिरका पुराना भवन सन्तलचोक मुन्दा बुर्जा सितलबारीको जिर्णोद्धार र मन्दिरका विकासका लागी, पूजारी निवास दुईसय क्षमताको सुविधा सम्पन्न धर्मशाला निर्माण बधशाला निर्माण, विबाह मण्डप, कुकुर संरक्षण केन्द्र, मन्दिरका पूजारी तथा कर्मचारीहरुका लागि भान्सा व्यवस्थापनका लागि भवन निर्माण, मन्दिरको आवश्यकतामा बगैचाँ निर्माण शौचालय निर्माण लगायतका काम गर्नका लागि गुरुयोजना अघिसारेको देखिन्छ ।
गुरु योजना बनाउन वर्तमान समितिको सक्रियता र पहल सहित विभिन्न मन्त्रालयमा जाने सम्बन्धित व्यक्तिहरुसंग भेटघाट गर्ने, मन्दिरका संरचनालाई ऐतिहासिकताको आधारमा यस मन्दिरको संस्कृतीक महत्व नघट्ने गरी सम्बन्धित मन्त्रलयको नीति र निर्देशन अनुसार मन्दिरको जिर्णोद्धार गर्ने काम र मन्दिर विकासका निम्ति कार्यक्रम बनाउने काम मन्दिर व्यवस्थापन समितिले गरेको पाइन्छ । त्यसका लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको सक्रियता र बजेटमा केही कामहरु समेत सम्मन भएका छन् ।
मन्दिरको महत्व ऐतिहासिकतामा मात्र नभएर सिङ्गो रिब्दीकोट गाउँपालिकाको विकासमा, सामाजिक आर्थिक विकासका लागि रहेको पाइन्छ । यस मन्दिरमा व्यवस्थापन समिति बनेपछि धेरै काम भएका छन् । पहिलेका संरचना बललिदै लगिएका छन् । मन्दिरको नजिकै दक्षिण पश्चिममा रहेको मकैबारी र चउर अहिले मुकुन्द सेन फुलबारी बनेको छ । यस मन्दिरले सामाजिक र साँस्कृतिक भूमिकामा यहाँको स्थानिय संस्कृतिलाई संरक्षण र सम्र्वद्धन गर्दै मेला महोत्वसव गर्दै आएको छ । मन्दिरको दीर्घकालिन विकासका लागि नयाँ योजनाहरु थपिदै आएका छन् । धार्मिक महत्व दिनहँु बढेर साझा आस्थाको रुपमा यस मन्दिरमा वार्षिक दशदेखि बीस लाखसम्म भक्तजन आउने गरेको पाइन्छ ।
यस मन्दिरमा भाकल गर्ने चलन पनि रहेको छ । भाकल गरे अनुसार पुग्छ पनि पुगेको छ पनि यसैले गर्दा कैयन् श्रध्दालु भक्तजन यस मन्दिरमा विश्वास गरी पञ्चवली सहित पूजा लिएर आउने गर्दछन् । मन्दिरको बस्तु स्थिति अध्ययन अवलोकनका लागि निकै महत्वपूर्ण रहेको पाइन्छ ।
यस मन्दिरमा देशका विभिन्न स्थान बाट स्कूल, कलेज, सहकारी सँस्था लगायत अन्य भ्रमणहरु यस मन्दिरमा आउने गरेको पाईन्छ । मन्दिरको आफ्नै ईतिहास छ । यही इतिहास र संस्कृतिलाई संरक्षण गरी धार्मिक पर्यटकीय गन्तव्यको रुपमा मन्दिरलाई अघि बढाएर रिब्दीकोटको पहिचान बन्ने छ । तसर्थ मन्दिरको महत्वलाई बुझेर सरोकारवाला सबै भैरब मन्दिरको ऐतिहासिकता बुझाँै र अन्तर्राष्ट्रिय क्षेत्रमा यस मन्दिरलाई चिनाआँै । यहाँ कला संस्कृति हाम्रा सम्पदा हुन् यिनको जगेर्नामा लागाँै । आफ्नै पहिचान आफ्नै स्वाभिमान, र रिब्दीकोटको विकास हाम्रो अभियान भन्ने भावनाले यस ठाउँको विकासका लागि अघि बढौँ ।

सम्बन्धित खवर