पाल्पा । कोरोना भाइरस संक्रमण त्रासका बीच पाल्पाका नेवार समुदायले नेपाल सम्वत् ११४१ लाई सामाजिक दुरी कायम गरेर स्वागत गरेका छन् । उनीहरुले धेरै कार्यक्रम गर्न भने नपाएकाले सामान्य रुपमै स्वागत गरेका हुन् ।
तानसेनमा क्रियाशील पासा खःल तानसेनले शंखधर साख्वाको शालिकमा माल्र्यापण गरेर मनाएको हो । पासा खःल पाल्पाका अध्यक्ष देवेन्द्रमान शाक्यका अनुसार मोटरसाइकल र्याली, तानसेनका बजार क्षेत्रमा नगरपरिक्रमा, धिमेबाजा प्रदर्शन गर्ने कार्यक्रम भएपनि कोरोना भाइरस संक्रमण त्रासका कारण प्रशासनले अनुमति नदिएपछि सामान्य कार्यक्रम गरी मनाइएको हो ।
लुम्विनी प्रदेशसभा सदस्य डा. पुरनमान बज्राचार्यले सामाजिक दुरी कायम गरेर भएपनि नेपाल सम्वत्को स्वागत गरेको बताए ।
तानसेनको टुंडिखेल चोकमा रहेको शंखधर साख्वाको शालिकमा माल्यापर्ण गर्दै प्रदेशसभा सदस्य बज्राचार्यले समय, परिस्थिति अनुसार प्रशासनले धेरै भीडभाड नगर्नु भनेकाले पनि थोरै नागकिर जम्मा भएर स्वागत गरिएको बताए । पासा खलः का सदस्यहरुको उपस्थितिमा कार्यक्रम गरिएको थियो । बिहानैदेखि तानसेनमा नेवारी समुदायसंग सम्बन्धित संघसंस्थाले विभिन्न कार्यक्रम गरेका छन् ।
पाल्पाकै रामपुर, आर्यभन्ज्याङ्, हार्थोक लगायतका स्थानमा पनि नेपाल सम्बत्को सामाजिक दुरी कायम गरेर स्वागतका कार्यक्रमहरु भएको पासा खःलकी सौन्दर्यवती शाक्यले बताइन् । इलाभेन ब्रदर्शनले मोटरसाइकल, साइकल र्याली गर्न अनुमति माग गरेपनि प्रशासनबाट अनुमति नपाएको आयोजक समितिका सुशील शाक्यले बताए । उनका अनुसार साइकल र्याली सामाजिक दुरी कायम गरेर गर्छौ भन्दासमेत प्रशासनले अनुमति दिएन ।