शुक्रबारदेखि हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार सुरु हुनेछ । कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म तिहार पर्व मनाउने चलन छ । यसवर्ष भने कोरोना भाइरस संक्रमणबीच मनाउनुपर्ने बाध्यता छ । तिहारको पहिलो दिनलाई काग तिहार भनिन्छ । शुक्रबारदेखि यसवर्ष कागतिहारसंगै तिहार सुरु हुन्छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाउने चलन छ । कृष्ण औँसीका दिन लक्ष्मीपूजा हुन्छ । शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा गरिन्छ । नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत्, र म्हपूजा अर्थात् आत्मपूजा गर्ने चलन छ । तिहारको अन्तिम दिन कार्तिक शुक्ल द्वितीयाका दिन भाईटीका लगाएर तिहार पर्व मनाउने गरिन्छ ।
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने गर्छन् भन्ने मान्यता छ । त्यसैले पनि यस पर्वलाई यमपञ्चक भन्ने गरिन्छ । यमपञ्चकको पहिलो दिन कागको पूजा गरेर मीठा खानेकुरा दिने चलन हुन्छ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ । अन्य दिनमा पनि धार्मिक मान्यता अनुसार कुकुर, गाई, गोरु, गोवद्र्धन पूजा गरिन्छ । यम दीप दान दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको छ । कार्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले दाजुभाईलाई दीर्घायु र सुख शान्तिको कामना गर्दै टीका लगाउने गरिन्छ । समुदाय अनुसार टिका लगाउने प्रचलन फरक हुन पनि सक्छ । तर पनि तिहार अधिकांश नेपालीले मनाउने गर्छन् ।
हुन त यसवर्ष कोरोना भाइरस संक्रमणले तिहारलाई पनि रमाइलो हुनबाट बञ्चित गराएको छ । कतिपय नागरिक कोरोना भाइरसका कारण आइसोलेशन, भेन्टिलेटर, क्वारेन्टाइनमा छन् । कतिपय मृत्युसँग जुधिरहेका छन् । जसले गर्दा यसवर्ष पनि तिहार धेरै नेपालीका लागि रमाइलो बनेको छैन । त्यसैले होला बजारमा खासै चहलपहल छैन । बजारमा किनमेलका सामाग्री महङ्गो भएका छन् । अघिल्ला वर्षमा बजारमा तिहारको चहलपहल हेर्नलायक हुन्थ्यो । तर यसपटक त्यस्तो देखिएको छैन । बजारमा तिहारका लागि किनमेलन कमैले मात्र गरेका छन् । कोरोना कहरका कारण अधिकांशले टिका नलगाउने अवस्था छ । तर पनि आफ्नो परम्परा अनुसार नै भौतिक दुरी कायम गर्दै स्वास्थ्यको मापदण्ड पूरा गरेर तिहार मनाउन जरुरी छ । सबैमा तिहारको शुभकामना ।