पाल्पा । आगामी मंसिर ११–१३ मा हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि पाल्पाका मोहन प्रसाद श्रेष्ठले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
पाल्पा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा लुम्बिनी प्रदेशका कोषाध्यक्षसमेत रहेका श्रेष्ठ वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल प्यानलबाट उम्मेदवारी दिएका हुन् ।
श्रेष्ठले पाल्पा उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा समन्वयकारी भूमिका निर्वाह गर्नुका साथै सामाजिक काममा समेत चर्चा बटुलेका थिए । उनले उद्योगी, व्यापारीका हकहितका लागि कार्यक्रम ल्याउनुका साथै आफ्नो व्यक्तित्व विकाससमेत गरेका हुन् । होटल व्यवसाय संचालन गर्ने श्रेष्ठले आफू केन्द्रीय सदस्यको उम्मेदवार बनिरहँदा मुलुकको अवस्था कोरोना भाइरस संक्रमणबाट झन् जटिल बन्दै गएकाले उद्योगी, व्यापारीको हितमा काम गर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा कार्यकारिणी समितिको निर्वाचन मंसिर ११ र १२ गते हुनेछ । वार्षिक साधारणसभा तथा १३ गते निर्वाचन हुँदै छ ।
गत चैतमा हुनुपर्ने महासंघको साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगन भएको थियो । नेपाल उद्याेग वाणिज्य महासंघकाे निवार्चनका लागि प्रचारप्रसार गर्दै देशदाैडाहामा बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकाल र किशाेर प्रधानकाे समूह हिडेकाे छ ।