रानीमहलको गेट अझै खुलेन

पाल्पा । आन्तरिक पर्यटकका लागि घुम्ने उपयुक्र्त मौसम हो, दसैं तिहार । एकातर्फ देश, परदेशमा बस्नेहरु घरमा आउने र परिवारसँग घुम्न हिड्ने समय हो । अर्कोतर्फ सरकारले कोरोना भाइरस संक्रमण्को त्रासले मठमन्दिर, सार्वजनिक भीडभाड हुने स्थल बन्द गर्ने भन्ने छ । त्यस्तो अवस्थाका बीच फोटो खिचाउनैका लागि पनि पाल्पाको रानीमहल पुग्नेको भीडमा भने कमी आएको छैन ।

काठमाडौंबाट रानीमहल घुम्न आएका सबल घिमिरेले बाटोको समस्यासंगै खान बसका लागि राम्रो व्यवस्था नभएको गुनासो गरे । सामाजिक संजालमा देखेकै भरमा दुःख गरेर रानीमहल दरबारको अवलोकन गर्न आएका उनले दरबार बन्द रहदाँ अवलोकन गर्न नपाएको बताए । उनी जस्तै काठमाडौंबाट दसैं मनाएपछि परिवारिक घुमघामका लागि रानीमहल आएका सुसन ढकालको गुनासो पनि उस्तै छ ।

ऐतिहासिक रानीमहलको रंग परिवर्तन हुँदा सुन्दरता हराएको उनको अनुभव छ । ‘बाहिरबाट देखे सुनेको आधारमा आएको भएपनि यहाँ आउदा भौतिक संरचना व्यवस्थापन नहुनु, खान बस्नका लागि राम्रो होटल रेष्टुरेन्टको अभावले मन खिन्न भएको छ,’ उनले भने ।
कालीगण्डकी नदी किनारमा अवस्थित ऐतिहासिक पर्यटकीयस्थल रानीमहल दरबारमा कोरोनाका कारण भएको लकडाउनपछि निषेधाज्ञा खुलेसंगै आन्तिरक पर्यटकको चाप बढेको हो ।

लामो समयसम्म कोरोनाको त्रासले घरभित्र बसेकाहरु चार्डपर्वको मौसममा पनि परिवर्तन आएपछि घुम्न हिड्छन् । विगतमा प्रेम जोडीका लागि राम्रो गन्तव्य मानिएको रानीमहल क्षेत्र अहिले भने परिवारिक घुमघाम र अध्ययनका लागि गतिलो गन्तव्य बनेको छ । रानीमहल अवलोकनका लागि छिमेकी जिल्लासंगै संघीय राजधानी काठमाडौं, चितवन, नवलपरासी, धादिङ लगायतका स्थानबाट धेरै पर्यटक आउने गरेको स्थानीय होटल व्यवसायीले बताए ।

कोरोना महामारीका कारण विगत ६ महिनादेखि सुनसान थियो । दरबारमा दसैंपछि दैनिक हजार बढीको संख्यामा पर्यटक आउने गरेको होटल व्यावसायी दीपक भट्टराईले बताए । उनले भने, ‘दसैंको टिका लागाएपछि यहाँ पर्यटकको चाप बढेको छ । आएकामध्ये अधिकांशले दरबार बन्द रहेछ दुःख पाउन मात्रै भो भनेर फर्कनु परेको छ ।’

विगतकै तुलनामा पर्यटक आउदाँ पनि दरबार बन्द रहँदा पर्यटक छिनभरमै फर्किनु परेको उनले बताए । स्थानीय तह र जिल्ला प्रशासनले यसतर्फ ध्यान दिनुपर्ने उनले बताए ।
सरकारले राणकालिन इतिहास बोकेको रानीमहल दरबारलाई स्थानीय तह तानसेन नगरपालिकामार्फत संचालन गर्ने जिम्मा दिएको छ । रानीमहलको रंगरोगन पछिको दृष्य पुरानो जत्तिको सुन्दर नरहेको पर्यटकको गुनासो छ ।

रंगरोगन गरेको एक वर्ष नपुग्दै रंग उडेको छ । दरबारमा झार समेत पलाएको स्थानीयले बताए । विगतमा जस्तो सुन्दरता हराएको स्थानीयले बताए । दरबार व्यवस्थापन र संचालनको जिम्मा पाएको तानसेन नगरपालिकाले भने सरकारले मानिसको भिडभाड हुने स्थानलाई संचालन नर्गन गरेको निर्देशन पालना गरेको जनाएको छ । त्यसैले दरबार बन्द गरेको तानसेन नगरपालिका–१३, का वडाध्यक्ष टुकप्रसाद भट्टराईले बताए ।

दैनिक पर्यटकको चाप बढेपनि स्थानीय प्रशासनको अनुरोधका कारण दरबार खुल्ला गर्न नसकिएको उनले बताए । सरकारको निर्देशन पालना गर्दा गेट खुल्ला गर्न नसकेको उनले बताए । सरकारले पछिल्लो पटक गरेको निर्णय अनुसार पर्यटकीय क्षेत्रलाई चलायमान गराउन देशदर्शन कार्यक्रमको अवधारण सुरु भएको छ । जसअनुसार पर्यटकीय क्षेत्रमा स्वास्थ्य सावधानी अपनाएर आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने कुरामा जिल्लाका सरोकारवालाको ध्यान पुग्न सकेको छैन । ‘सम्बन्धित सरोकारवालाको ध्यान नपुग्दा बाहिरबाटै फोटो खिचेर फर्किनु परेको छ,’ रानीमहल पुगेका नवलपरासीका सुन्दर अधिकारीले भने ।

असोज र कार्तिक महिनालाई पर्यटनको सुरुवाती सिजनको रुपमा लिईन्छ । वर्षादसंगै गर्मी सकिएर जाडो सुरु हुन्छ । खुलेको मौसमका कारण प्राकृतिक दृश्यहरु पनि छर्लङ्ग देखिने हुनाले घुम्नको लागि यो समय उपयुक्त मानिन्छ ।

विगतका वर्षहरुमा यति बेला शैक्षिक तथा अन्य अध्ययन अवलोकन भ्रमणका लागि निस्कनेहरुको लर्को लाग्ने गरेको थियो । यस वर्ष विश्व महामारीका रुपमा फैलिएको कोरोना भाईरसको कारण पर्यटनका गतिविधिहरु न्यून छन् । आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने पर्यटकीय स्थलहरु सुनसान प्राय छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय