
पाल्पा, जिल्ला अदालतमा अघिल्लो आर्थिक वर्षमा सम्बन्ध विच्छेदका मुद्दामा कमी आएको छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा २०७६/७७ मा सम्बन्ध विच्छेदको घटनामा कमी आएको हो । अघिल्लो आर्थिक वर्षमा २ सय ५५ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । जसमा १ सय ९१ वटा मुद्दा फछ्र्यौट भएको छ ।
२०७६/७७ मा भने १ सय ९४ मुद्दा दर्ता भएको थियो । जसमा १ सय ४१ वटा मुद्दा फछ्र्यौट भएको जिल्ला अदालतले जनाएको छ । कोरोना महामारी र स्थानीय तहमै न्यायिक समितिबाट अधिकांश मुद्दा मेलामिलाप भएकाले पनि अघिल्लो आर्थिक वर्षको तुलनामा कमी आएको हुन सक्ने जिल्ला अदालतका श्रेस्तेदार दुर्गाप्रसाद बस्यालले बताए ।
उनका अनुसार सम्वन्ध विच्छेदका मुद्दा दर्ता भएको १ वर्ष भित्र मेलमिलापको लागि मेलमिलाप केन्द्रमा पठाइने गरेको छ । एक वर्षसम्म पनि मेलमिलाप हुन सकेन भने मात्र जिल्ला अदालतबाट मुद्दा फछ्र्यौट हुन्छ । त्यसैले पनि सम्बन्ध विच्छेदका घटनाको फछ्र्यौटमा समेत कमी भएको उनले बताए ।
२०७६/७७ को चैतदेखि असारसम्म कोराना भाइरसका कारण देशमा लकडाउन भएका कारण अदालत बन्द हुँदा मुद्दा फछ्यौंटमा कमी आएको उनले बताए । २०७७/७८ को चालु तीन महिनामा जिल्ला अदालतमा ९६ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये सम्बन्ध विच्छेदका ३७ वटा दर्ता भएका छन् । दर्ता भएका मुद्दा मध्ये १८ फस्यौट भइसकेको छ ।