
यस वर्ष कोरोना भाइरस महामारीले गर्दा सम्पूर्ण नेपालीहरुको महान पर्व बडा दसैं खल्लो भयो । यसवर्षको दसैंमा मान्छेको आवतजावत कमै भयो । २०७६ सालको चैत ११ देखि सरकारले गरेको लकडाउनले व्यवसायी थलिए । बैंक तथा वित्तीय संस्थामा कारोबार खासै हुन सकेन । धेरै नेपाली युवाको रोजगार खोसियो । भारत तथा तेस्रो मुलुकमा काम गर्नेहरु अधिकांश घर फर्किए । तर उनीहरुको विषयमा खासै सोधपुछ गर्नेसम्मको काम भएन । फेरि कहिले भारत फर्किने हो भन्न लागे । यति मात्र होइन, विदेशबाट आएकाहरुसमेत कहिले जान पाइन्छ भन्दै चार्टर उडानको पर्खाइमा रहे । जसले गर्दा धेरै नेपालीहरु दसैं मान्न पनि हिचकिचाउनुपर्ने अवस्थ आयो । दसैंकै दिनमा पनि भारत फर्किनेको लर्को लामै थियो ।
विशेषगरी पश्चिमका नाकाबाट भारत जान सहज देखिएको छ । हुन त भारत जान पनि त्यति सजिलो छैन । अन्तर्राष्ट्रिय नाका बन्द गरेको छ सरकारले । तर जानेहरु गइरहेका छन् । मुलुकको अर्थतन्त्र डामाडोल छ । रेमिटेन्सको अवस्था केही सन्तोषजनक हुँदै गएपनि ६ महिना बढी भने रेमिटेन्स पनि आउन सकेन । जसले गर्दा मुलुकको अर्थतन्त्रलाई नै असर गरेको छ । सीमानाका बन्द छन् । आयात निर्यात आधा पनि हुन सकेको छैन । यसले मुलुकको अर्थतन्त्र मात्र होइन, संघीय, प्रदेश र स्थानीय सरकारलाई पनि असर गर्ने पक्का छ । नेपालीहरुले हर्षोल्लाहका साथ मनाउने दसैं पर्वमा यसवर्ष राष्ट्रबैंकले नोट पनि बाँडेन । रकम अभाव भएन तर नयाँ नोट पाउन सकेनन् । दसैं मनाउनेहरुमा पनि उल्लास खासै हुन सकेन ।
कतिपय कोरोना भाइरस पोजेटिभ भएर आइसोलेसनमा बस्नु प¥यो । कतिपय १४ दिनको क्वारेन्टाइनमा बसे । घरपरिवार पनि खासै जुट्न सकेनन् । यस्तो अवस्था आयो कि जो जहाँ छ त्यही नै टिका लगाउने कि नलगाउने भन्ने पनि भयो । जे सुकै होस् भनेर हिड्नेको पनि कमी भएन । बजारमा खासै चहलपहल बढ्न सकेन । धेरै सामान खरिद गर्नेले थोरै गर्न बाध्य भए । आम्दानी धेरैको गुमेकाले थोरै खर्चमै दसैं मनाउने पनि धेरै नै भए । जसले गर्दा अघिल्ला वर्षमा जस्ता पिङ राखिएनन् । नाच नाचिएन । प्रतियोगिता भएनन् । शुभकामना आदानप्रदान हुन सकेनन् । त्यसैले यसवर्ष जस्तो भएपनि आगामी वर्षमा पक्कैपनि यस्तो नहोस् । यही कामना छ ।