
आज बडा दसैं । आजको दिनमा रातो, सेतो टिका र पहँेलै जमरा लगाइन्छ । दशमीका दिनमा घटस्थापनामा सुरु गरेको देवीको पूजा गर्ने, देवी बिसर्जन गरेपछि उत्तम साइतमा देवीको प्रसादका रुपमा टिका र जमरा ग्रहण गरिन्छ । यसवर्ष १० बजेर १९ मिनेटलाई उत्तम साइतका रुपमा निकालिएको छ । मान्यजन, ठूलाबडाको हातबाट टिका र जमरा लगाएपछि दान दक्षिणा पनि दिने चलन छ । समग्रमा नेपालीहरुको महान पर्वका रुपमा दसैं र तिहारलाई लिइन्छ ।
जनगणनाले पनि ८० प्रतिशत हिन्दू देखाएको छ । त्यसैले अधिकांशले दसैं पर्व मनाउने गर्छन् । दसैं भन्नेबित्तिकै टीका र जमरा लगाउने भन्ने हुन्छ । उमंग हुन्छ । खुशीयाली छाउँछ । हुन त यसवर्ष कोरोना भाइरसका कारण समुदायमा खासै चहलपहल छैन । तर परिवारमा भने खुशीयालीकै साथमा दसैं मनाउने तयारी सबैमा छ ।
दसैंको टिका भने समुदाय अनुसार फरक फरक छ । कतिपयले सेतो र अधिकांशले भने रातो टिका लगाएको पाइन्छ । कतिपय समुदायले सेतो टिका लगाउने गर्छन् । पाल्पाकै कतिपय मगर समुदायमा सेतो टिका लगाउने चलन छ । हुन त मुलुकका अन्य तामाङ, राई, मगर, गुरुङ, लिम्बु समुदायमा पनि दसैंमा दहीमा सेतो चामल मुछेर लगाएको पाइन्छ । दहिमा मुछेको टिका नै अधिकांशले लगाउने चलन छ । टिका पनि खेतीकिसानी सुरु भएपछि नै सुरु भएको हुनुपर्छ भन्ने लाग्छ । दसैंमा धानको सग्लो सिता अर्थात् अक्षतालाई निधारमा लगाउने परम्परा छ । यसले मानिसको जीवन चामलको अक्षता जस्तै पूर्ण होस् भन्ने कामना गरिन्छ । संस्कृतिविद्हरुका अनुसार दसैंमा टुक्रिएको आधा चामल प्रयोग गर्नु हुँदैन ।
टीकाको रंग भने फरक फरक हुन सक्छ । सेतो शान्तीको प्रतिक हो । रातो शक्तिको प्रतीकका रूपमा लिइन्छ । हुन त कालो पनि शक्तिको प्रतीकका रुपमा चिनिन्छ । तान्त्रिक रुपमा होम वा पूजाहरू गर्दा पनि कालो र रातोको प्रयोग गरिन्छ । दसैंमा तराईका अधिकांश समुदायमा भने टीका लगाएको पाइदैन । तर जमरा भने राखेको पाइन्छ । तराईका चोकचोकमा देवी, दुर्गा र भगवतीको पूजा पनि गरिन्छ । नौ दिनसम्म शक्तिको पूजाको रुपमा दुर्गा, भगवतीको धुमधामसित मुर्तीहरू बनाई पूजा गरिन्छ । जमरामात्रै लगाएर हिडेको पनि देख्न पाइन्छ । तराईका पूर्व र पश्चिममा फरकफरक संस्कृति पनि छ । जे भएपनि जस्तो भएपनि कोरोना कहरका बीचमा सम्पूर्णमा बडा दसैंको शुभकामना सहित देवीको प्रसादका रुपमा ग्रहण गरिने टिका र जमराले उल्लास, उमंग र रोगसंग लड्ने क्षमता प्रदान गरोस् ।