बडा दशैंको शुभकामना

 नेपालीहरुको महान चाडका रुपमा बडा दसैंलाई लिइन्छ । हुन त यसवर्ष विगतमा जस्तो उल्लास छैन । भारत लगायत तेस्रो मुलुकबाट फर्किन सहज रुपमा पाएका छैनन् । घर फर्केकाहरुको पनि कमाएको कमाई सकिन लागेको छ । गाउँघरमा मुलुककै विभिन्न स्थानबाट आउनेहरु पनि आउन सकेका छैनन् । कोरोना भाइरस महामारीले गर्दा दसैं उल्लासमय बन्न सकेको छैन । परिवारबीच मनाइने दसैंले साँच्चिकै रमाइलोपन ल्याएको छैन । दसैंको जमरा, रातो टिका, ठूला वडाले दिने आर्शिवाद महत्वको हुन्छ । तर सरकारले नै अर्को वर्ष दसैं मनाउँदा बृद्ध भएका बुबाआमालाई यस पटक जोगाऔ भनेको छ । दसैं गाउँघरका कोतघर, देवीका मन्दिर, घरघरमा रमाइलो गरी मनाउने चलन छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) मा जमरा राखिन्छ । नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ । प्रतिपदादेखि शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गरिन्छ । दशमीको दिन भगवतीले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिल गरेको हो भन्ने विश्वास छ ।

जे जस्तो अवस्था छ सोही अनुसार दसै मनाउन जरुरी छ । अघिल्ला वर्षमा चाडपर्वको शुभकामना आदानप्रदानले पनि रौनकता छाउँथ्यो । सवारी साधनको भीड हुन्थ्यो । अहिले त्यस्तो छैन । गाउँघरमा पिङ् राख्ने गरिन्थ्यो । यसपटक भीडभाड गर्न पाइएको छैन । कतिपय स्थानीय तहलेआवतजावतमै रोक लगाएका छन् । नाता कुटुम्ब ठूलाबडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँनयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने, खुवाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्घर राख्ने जस्ता काम दसैंमा विशेष उत्साहका साथ गरिन्थ्यो । घर लिपपोतमैसमेत यसवर्ष खासै ध्यान दिएको पाइएको छैन ।

यसवर्ष कतिपय गाउँमा मान्छे छैनन् । सहरमा बस्नेहरु पनि खासै फर्किन जाँगर चलाएका छैनन् ।  विगतमा स्थानीय तहले बाटोमा डोजर लगाउने भीड हुन्थ्यो । यसवर्ष खासै त्यस्तो चहलपहलसमेत छैन । तै पनि दसैंको महत्व घट्न दिनु हुँदैन । अहिलेको दसैं पहिलाको जस्तो नहोला । तर पनि परम्परा, संस्कार भुल्न दिन हुन्न । चाडपर्वको रमाइलो हुनुपर्छ । हाम्रो परम्परा, संस्कार हो । यसलाई जिवन्त राख्नुपर्छ । घटस्थापनादेखि नै चहलपहल हुन्थ्यो यसपटक भएको छैन । दसैंलाई उल्लासपूर्ण, रमाइलो, भेटघाट, आर्शिवाद लिने पर्वका रुपमा लिइन्छ । त्यसैले सुरक्षित भएर सजगता अपनाएर यसपटकको दसैं मनाऔं । यस अवसरमा सम्पूर्ण पाठक, ग्राहक, विज्ञापनदाता लगायत सबैमा बडा दसैंको शुभकामना ।

सम्बन्धित खवर