परीक्षणको दायरा बढाऊ 

पाल्पा जिल्लामा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्दै गएको छ । कुनै समयमा शुन्य संक्रमण रहेको पाल्पामा अहिले दैनिक रुपमा संक्रमितको संख्या बढ्दो छ । संक्रमित समुदायमा आफुखुसी रहेका छन् । भारत तथा तेस्रो मुलुकबाट आएका वा बाहिरी जिल्लाबाट घर फर्केका व्यक्तिमा संक्रमण देखिएको छ । बाहिरबाट घर फर्कने होम क्वारिन्टीनमा बसेको नाममा गाउँटोल घुम्ने गर्दा संक्रमण बढेको हो । यसका साथै परीक्षणका लागि स्वाव दिएका व्यक्ति पनि एकान्तबासमा नबसी खुल्याम हिड्डुल गर्ने गर्दा कोरोना जिल्लामा बढी हँुदै गएको छ । यसका अलवा अर्को महत्वपूर्ण कारण भनेको शंकास्पद संक्रमितको स्वाव संकलन पछिको नतिजा ढिला आउनु हो । जिल्लामा कोरोना संक्रमण परीक्षण गर्ने प्रयोगशाला नहुँदा सम्भाव्य संक्रमित समूहमा परेका व्यक्तिको स्वाव संकलन गरेर बाहिरी जिल्ला पठाउँदा नतिजा ढिलो आउने गरेकोले संक्रमण बढेको हो ।

संक्रमण फैलिरहेको अवस्थालाई मध्यनजर गरेर पाल्पा अस्पतालको मातहतमा संचालन हुने गरी कोभिड १९ परीक्षण प्रयोगशाला संचालनमा आएको छ । प्रयोगशाला संचालन गर्नका लागि नेपाल सरकारले एक करोड रुपैयाँ मेसिनरी सामान खरिद गर्न र स्थानीय तहको सहयोग रहने गरी भौतिक पूर्वाधार निर्माण कार्य सम्पन्न भएपछि तानसेन ७ काजिपौवामा रहेको जिल्ला समन्वय समितिको भवनमा प्रयोगशाला संचालनमा आएको हो । समय र अवस्था अनुसार प्रयोगशाला निर्माण सबै पक्षको सहयोग भएपनि बजेट अभाव, खरिद प्रक्रिया र भौतिक संरचना निर्माण र विद्युत जडानमा केहि समथ लाग्नु जस्ता कारणले प्रयोगशाला संचालनमा ढिलाई भयो । तर, संचालनमा आएको प्रयोगशालाबाट परीक्षणको दायरा फराकिलो बनाउँदै लैजानु पर्छ ।

संचालनमा आएको प्रयोगशालाले एक पटकमा ९६ जनाको नमूना परीक्षण हुन्छ । निरन्तर परीक्षण गरेको खण्डमा २४ घण्टामा करिव ३ सय जनाको परीक्षण हुन्छ । जसले गर्दा यस अघि प्रयोगशाला नहुँदा देखिएको समस्या समाधानका लागि सबै स्थानीय तहले योजनावद्ध रुपमा परीक्षणको तयारी गर्नुपर्छ । केन्द्र र प्रदेशको निर्देशन अनुसार स्थानीय सरकार हाइसन्चो मानेर बस्न हुँदैन । संक्रमण बढेर अवस्था जटिल हुँदा समस्या समाधान गर्न स्थानीय सरकारख नै हो । त्यसैले आफ्ना नागरिकको अवस्था अनुसार परीक्षण गर्ने, क्वारिन्टीन, आइसोलेशनमा बस्ने व्यक्तिको निगरानी गर्नुपर्ने देखिन्छ । निःशुल्क परीक्षण र सशुल्क परीक्षणको बारेमा आम नागरिकलाई जानकारी दिनुपर्छ । स्वाव परीक्षणका लागि इच्छुक व्यक्तिकोे सहभागिता सुनिश्चित हुने वातावरण तयार गर्नुपर्छ । यसो गर्न सके मापदण्ड अनुसार समय पुगेपछि स्वाव संकलन गर्ने, निश्चित समयमा नतिजा आउँदा संक्रमण बढ्न पाउदैन । फलस्वरुप संक्रमण रोकथामका लागि सहज हुन्छ । नतिजा नआएको भरमा लामो समय एकान्तवासमा बस्नुपर्ने बाध्यता समेट हटेर जान्छ । सबै तह र तप्काका व्यक्तिको नमूना परीक्षणको मापदण्ड तयारी गरी परीक्षणको दायरा बढाउँदा प्रयोगशालाको प्रभावकारीता र सक्रमणको रोकथाममा सहज हुन्छ ।

सम्बन्धित खवर