वातावरण सहज बनाऔं

कोरोनाको भाइरस संक्रमण जोखिम रोकथामका लागि सरकारले गएको चैत ११ गतेदेखि लगाएको लकडाउन साउन ६ गते खुकुलो बनायो । त्यसपछि लकडाउन वा निषेधाज्ञा जारी गर्ने अधिकार स्थानीय प्रशासनलाई दिइयो । अधिकार प्राप्त गरेका स्थानीय तहहरुले पनि निषेधाज्ञा लागू गरे । जसले गर्दा सबै क्षेत्र ठप्प बन्यो । व्यापार, व्यवसाय, उद्योग कलकारखाना पूर्णतया बन्द भए । आर्थिक गतिविधि रोकियो । जसले गर्दा सबैैखाले व्यवासायी मर्कामा रहे । धेरै थोरै लगानीमा भाडामा व्यवसाय संचालन गरेका हुन वा आफ्नै सीप बेचेर आम्दानी गरी जीविका चलाउने गरेका सबैलाई यो समय कष्टकर नै बन्यो । सोचेजस्तो अवस्था रहेन । जसले गर्दा गरिआएको व्यवसायबाट दैनिक जीवन धान्न समस्या भएको छ । गर्दै आएको पेशा, व्यवसायबाट मानिस विस्थापित हुने अवस्था सिर्जना भएको छ ।

लकडाउन, निषेधाज्ञा र निषेधाज्ञा हटिसकेपछि पनि देशभर संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । लकडाउन र निषेधाज्ञाले मात्रै कोरोना भाइरस संक्रमण नियन्त्रण नहुने कुरा यो बिचको समयले स्पष्ट पारेको छ । लकडाउन वा निशेषाज्ञा गर्दा स्थानीय तह र यससंग जोडिएका सरोकारवालालाई हाइसन्चो हुने तर संक्रमण कम नहुने देखिएको छ । यसले गर्दा एकतर्फ संक्रमण बढ्ने र अर्कोतर्फ आर्थिक गतिविधि शुन्य हुदाँ जनता मर्कामा परेका छन् । पछिल्लो समय अर्थात असोज १ गतेदेखि निषेधाज्ञा हटेको पनि  छ । सबैैखाले होटल, रेष्टुरेन्ट, सबै खाले बजार पसल खुलेका छन् । केही बाहेक उद्योग र व्यवसायका धेरै क्षेत्र खुला हुँदा असामान्य अवस्थामा पुगेको अर्थतन्त्र लयमा आउन थालेको छ । जनता आफ्नो स्वास्थ्य सुरक्षा मापदण्डलाई आत्मसाथ गरी काम अगाडि बढाएका छन् ।

                लामो समय बन्दाबन्दी गरेर मात्र समस्याको समाधान हँुदैन । अहिलेको अवस्था अर्थतन्त्र चलाएमान बनाउनु हो । जसलाई सरकारले बुझेर वा नबुझिकन लकडाउन र निषेधाज्ञा हटाएको छ । कोरोना रोकथाम र नियन्त्रण लकडाउन र निषेधाज्ञाबाट मात्र सम्भव नरहेको तथ्य पुष्टि भैसकेको छ । यसैले कोरोनासँगै दैनिकी चलाउन सिक्नु र सिकाउनु पर्ने आजको आवश्यकता बनेको छ । अब सरकार र नागरिकको एउटै लक्ष्य हुनुपर्छ । असामान्य अवस्थामा जान थालेका आर्थिक गतिविधिलाई सामान्य लयमा फर्काउने । कोरोनाको सक्रमणसँगै नागरिक आफ्नो दैनिकीलाई निरन्तरता दिन तयार बन्नुपर्छ । स्थानीय सरकार यस विषयमा निश्चित मापदण्ड अनुसार नागरिकको सहयोगी बन्नुपर्छ । स्वास्थ्य मापदण्ड अपनाउँदै उद्योग, व्यापार चलाउदैै र आर्थिक सम्वृद्धिको उज्यालो भविष्यको आशामा रमाउने अवस्था सिर्जना गर्नुपर्छ । नागरिकलाई स्वास्थ्य मापदण्डसम्बन्धी चेतना फैलाउनु, मापदण्ड पालना भए नभएको अनुगमन गर्नु, आवश्यक भौतिक पूर्वाधार बढाउनु, परीक्षणको दायरा फराकिलो बनाउनु पर्छ । जसले गरिखाने वातावरण सहज बन्नुका साथै अर्थतन्त्र चलायमान बन्छ ।

सम्बन्धित खवर