
यतिबेला गाउँघर भारत लगायत तेस्रो मुलुकबाट फर्केका युवाले भरिएको छ । तर उनीहरु फर्केको पाँच महिना बित्दासमेत यही केही गरौ भन्ने भावना उत्प्रेरणा जाग्न सकेको छैन । यसमा युवाहरुलाई यही बसेर काम गर्नुपर्छ भन्ने भावना जगाउन सकिएको छैन । मुलुकमा संघीय, प्रदेश र स्थानीय सरकार छ । तर यसरी विदेशबाट फर्केका युवाका लागि अहिलेसम्म ठोस योजनासहित कोही गाउँ नपुग्नु दुःखको विषय हो । अब अन्तर्राष्ट्रिय नाका खुल्नासाथ सयौं युवा पुनः भारत फर्किने सोँच बनाएर बसेका छन् । तर स्थानीय सरकारका प्रतिनिधि भने कार्यक्रम ल्याएका छौं भन्दैछन । युवा र जनप्रतिनिधिबीच तारतम्यता मिल्न सकेकोदेखिएको छैन । कतिपय युवालाई कामका लागि पुनः भारत फर्किने रहर पटक्कै छैन । बाध्यताले पुनः भारत फर्किनुपर्ने हुन्छ । घर फर्किने बेलामा गाउँमै आत्मनिर्भर बन्न सके भारत नजाने धेरैको योजना थियो । परिवारसँग बसेर केही काम गर्ने वातावरण मिले पुनः भारत नजाने युवाको योजना छ । तर स्थानीय, संघीय र प्रदेश सरकारले ठोस योजना ल्याउनै सकेका छैनन् ।
गाउँमा रोजगारका लागि केही छैन । बाख्रापालन, कुखुरापालन, तरकारी खेती गर्नेलाई प्रोत्साहन, अनुदानको व्यवस्था छ । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट केही दिनको स्वरोजगार बन्ने कार्यक्रम छ । तर त्यसले मात्र युवालाई अड्याउन सकिने अवस्था छैन । स्थानीय तहले व्यवसायिक बाख्रापालन, कुखुरापालन, तरकारी खेतीका लागि अनुदानका कार्यक्रम घोषण गरेको छ । प्रदेश सरकारले पनि आव्हान गर्छ । तर गाउँ फर्केका युवासम्म सूचना पुग्न सकेको छैन । टाठाबाठा, राजनीतिक दलका कार्यकर्ताले नै त्यस्ता योजना हत्याउने समस्या छ । त्यसैले होला युवाहरु धेरैले भारत फर्किन चाहेका छन् । सरकारले पनि विनाधितो, शैक्षिक प्रमाणपत्र राखेर बिनाधितो ऋण दिने योजना पनि ल्याएको छ । तर यसको प्रभावकारिता छैन ।
स्थानीय तह, प्रदेश र संघीय सरकारका प्रतिनिधि रहने कार्यालय मस्त निन्द्रामा छन् । किने भने त्यस्ता जोशिला युवालाई यही केही काम गराउन सक्नुपर्ने थियो । तर यस विषयमा किन गम्भिर बन्न सकेका छैनन ? विदेशबाट रोजगार गुमाई फर्किएकालाई समन्वय नै गरेका छैनन् । स्थानीय तहले स्वरोजगार बनाउने घोषणा गर्ने तर कार्यान्वयन पक्षमा भने अझै पुगेका छैनन् । कुनै पनि कार्यक्रम घोषणा गरेर मात्र हुन्न । वडाध्यक्ष, कर्मचारी, वडासदस्य लगायतलाई गाउँमा समन्वय गर्न लगाउनुपर्छ । उनीहरुलाई स्थानीय तह, प्रदेश र संघको कार्यालयसम्म पुग्ने वातावरण मिलाउनुपर्छ । तब युवालाई यही राखेर काम गराउन सकिन्छ । होइन भने पुनः भारत फर्किनेको लर्को लाग्नेछ ।