मुलुकका विभिन्न स्थानमा पिसिआर विधिबाट स्वाब परीक्षण (कोरोना भाइरस) गर्ने मेशिन जडान भइरहेका छन् । सरकारले पाल्पामा पनि कोरोना भाइरसको परीक्षणको तयारी गरेको छ । पाल्पा अस्पताल मातहतमा रहने कोरोना भाइरस परीक्षणको पिसिआर मेशिन जडानको काम धमाधम भइरहँदा पाल्पाली खुसी नहुने कुरै भएन । असोजको पहिलो साताबाट यसको परीक्षण गर्न सकिने अनुमान प्राविधिकको छ । यसमा पाल्पा अस्पताल व्यवस्थापन समिति दिनरात नभनेर खटनपटनमा लागेको छ । प्रदेश, स्थानीय सरकारको मात्र होइन पिसिआर मेशिन खरिदका लागि सरकारले १ करोड बजेट निकासा गरेको थियो । तानसेनमा परीक्षणका लागि पिसिआर मेसिन जडान भइरहँदा छिटो काम होस् भन्ने सबै छन् । किनभने अहिले परीक्षणका लागि पठाएका स्वाबको नतिजा पाउन कम्तीमा साता दिन कुर्नुपर्ने बाध्यता छ ।
संघीय, प्रदेश र स्थानीय सरकारको सहयोगमा प्रयोगशाला सञ्चालनमा ल्याउन लागिएको हो । संघीय सरकारले पाल्पा अस्पतालको मातहतमा रहने गरी कोरोना परीक्षणका लागि पिसिआर मेसिन राख्ने निर्णय गरेको थियो । छोटो प्रक्रियामार्फत टेण्डर गरेर सेवाप्रदायक छनोट भएको छ । भौतिक संरचना निर्माण गर्ने काम भइसकेको छ । मुख्य पिसिआरमेशिन आउन ढिलाई भएको छ । त्यो पनि छिटै आउने आशा गरिएको छ । प्रदेश र स्थानीय सरकारको बजेटबाट भवनका अन्य पूर्वाधारको काम भइसकेको छ । भौतिक संरचना निर्माणको काम सकिएको व्यवस्थापन समितिको दाबी छ । अन्य मेशिन जडानका काम सकिएको र मुख्य मेशिन आउनासाथ जडान हुनेछ । सरकारले तय गरेको स्वास्थ्य मापदण्ड अनुसार कोठाहरू निर्माण भएका छन् । स्वाब परीक्षणको काम सुरक्षित हुने गरी यहाँका संरचना निर्माण गरिएको छ ।
कोठा व्यवस्थापन गर्ने कार्य सकिएलगत्तै नआएका सामाग्री आइपुग्ने छ । केही दिनमा प्रविधिका सामग्री जडान गरिने छ । अर्को हप्तादेखि स्वाब परीक्षण गर्न सक्ने गरी काम भइरहेको दाबी पूरा हुन्छ भन्ने आशा पाल्पालीको छ । कोरोना संक्रमण परीक्षण गर्ने प्रयोगशाला निर्माणको लागि कुनै कुराको कमी हुन नदिएको बताइएको छ । प्रयोगशालालाई दीर्घकालीन बनाउने गरी थप सहयोगको लागि विभिन्न निकायमा पहल भइरहेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशााला बुटवल र भैरहवामा पठाइरहेको स्वाब यही जाँच्न पाइने छ ।स्थानीय तहले पठाएको स्वाब फिर्ता हुने, जाँच गर्न ढिलाई हुने समस्या पनि अब समाधान हुने अपेक्षा छ । पिसिआर जाँच गर्ने प्रयोगशालाबाट पाल्पासहित छिमेकी जिल्लालाई समेत फाइदा पुग्ने छ । यसबाट पाल्पाली मात्र नभएर छिमेकी जिल्लामा समेत फाइदा पुग्ने भएकाले पनि पाल्पाली खुसी नहुने कुरै भएन । छिटो सञ्चालन होस् भन्ने कामना सबैको हुने नै भयो ।