समुदायमा हस्तान्तरण होस्

तत्कालिन प्रधानमन्त्री जुद्धशमशेर राणाले अर्गलीमा बसोबास गर्न बनाएको घर अहिले दरबार जस्तै छ । तर यहाँ पुग्ने जो कोहिले भन्ने गर्छन्, ‘कन्तबिजोग’ । यतिबेला त्यहाँ जाँडरक्सी खाएर बस्ने अखडा बनेको छ । दरबार चारैतिरबाट भत्कन लागेको छ । दरबारभित्र देखिने चुरोट, सुर्ती, गुटका र रक्सीका बोतलले जाँडरक्सी खाएर बस्ने अखडा बन्नु दुःखद पक्ष हो । भित्ताहरुमा हेरिनसक्नु अस्लिल चित्र देख्दा  जो कोहीलाई त्यहाँ पुग्दा लाग लाग्छ । परम्परागत र ऐतिहासिक दरबार हेर्दा ठिङ्ग उभिएको छ । भग्नावशेष भन्दा कम छैन । भित्ताहरु पटपटी फुटेका छन् । दरबारमा गाँजाका बोटहरु उम्रिएका छन् । चारैतिर झाँडी नै झाडी छ । दरबारभित्र दिशापिसाव गर्छन् । यही दरबार पहिला अलग्गै थियो । चारैतिर झिलिमिलि बिजुली बल्थ्यो । सुब्बा, डिट्ठा, सुसारे, मैयाहरु बस्थे । चहलपहल देखिन्थ्यो । अहिले दरबार वरपरका सबै जग्गा बेचिसके ।

कलाकौशलयुक्त झ्याल र ढोकाका पल्ला तथा ईंटाहरु धेरै थिए । अहिले सबै चोरेर लगे । कसैलाई केही मतलब छैन । संरक्षण गर्ने कोहि छैन । समुदायमा हस्तान्तरण गरेका छैनन् । निजी सम्पत्तिका रुपमा रहेको छ । तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाले १९९७ सालमा निर्माण सुरु गरेका हुन् । अर्गली छाडेर राणाहरु भारत पलायन भए । यस क्षेत्रको संरक्षण हुन सकेन । पछि व्यक्तिको नाममा भयो । जुद्धशमशेरकी छोरी जनकराज्यलक्ष्मीले २०५८ साल जेठ १ मा वारेसनामा गरी आफ्ना नाति सञ्जयविक्रम शाहका नाममा दरबार पास गरिन् । सञ्जयविक्रम शाहले २०६२ साल साउन ५ मा श्रीमती पुनम साहका नाममा जग्गा नामसारी गरिदिए । जनक राज्यलक्ष्मीले २०६४ सालमा दरबारको जग्गा जिटी टे«डर्स एण्ड हाउजिङ कम्पनी प्रालि, पुल्चोकको नाममा १५ लाखमा बेचिदिए । पुनम र हाउजिङ कम्पनीबीच विवाद छ । मुद्धा चलिरहेको छ ।

त्यसपछि स्थानीयले पनि चासो दिएनन् । व्यक्तिको नाममा दरबार र जग्गा भएको भन्दै संरक्षण गर्न कसैले पहल गरेन । संरक्षण गर्न समुदायले धेरै पटक किन्ने प्रयास गरे । कहिले मुल्य नमिल्नेर  कहिले व्यक्ति नमिल्ने अवस्था आयो । त्रिभुवन माविले दरबारको केही भाग प्रयोग गरको छ । दरबार क्षेत्रको बगैंचाको आँप र घाँस बेचेको आम्दानी विद्यालयले राख्ने गर्छ । ऐतिहासिक र पर्यटकका लागि गन्तव्य बन्ने स्थल भग्नावषेश हुँदा पनि कसैको चासो छैन । यही दरबारलाई गतिलो पर्यटकीय गन्तव्य बनाउन सकिन्छ । नजिकको रूरूधाम (रिडी) लाई जोडेर यहाँको पर्यटकीय विकास गर्नका लागि तानसेन नगरपालिका, वडा कार्यालयले उक्त जग्गा समुदायको नाममा ल्याउन जरुरी छ । समुदायमा हस्तान्तरणका लागि पहल होस् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय