
समुदायमा कोरोना भाइरस संक्रमण त्रास बढेसंगै मुलुकभरका अधिकांश जिल्लामा निषेधाज्ञा र लकडाउन गरिएको छ । पाल्पा पनि यसमा अछुतो रहेन । गत भदौ ५ गतेबाट सुरु भएको निषेधाज्ञा अझै जारी छ । भदौ १९ गते रातीसम्मका लागि निषेधाज्ञा लगाएको जिल्ला प्रशासन कार्यालयले यस विषयमा अबका दिनका लागि फरक ढंगको सोँच बनाएकै होला । जिल्ला संकट व्यवस्थापन समिति (डिसिसिएमसी) र सर्वपक्षीय बैठकले निषेधाज्ञा थपेका हुन् । सबैको जोडबल नै थप एकसाता निषेधाज्ञा थप गर्नुपर्ने भन्ने भएको थियो । जसका कारण सीमा नाका कडाई गर्ने र लकडाउनलाई पूर्ण पालना गराउने भन्ने नै छ । तर समस्या सिद्धार्थ राजमार्ग र गुल्मी, बाग्लुङ जाने सवारी साधनको हो । राजमार्गमा गुड्ने सवारी साधन रोक्न मिलेन । अत्यावश्यक भन्दै सवारी साधन गुडिरहेका छन् । खाद्यान्नका नाममा रक्सी, चुरोट र चाउचाउको व्यापार गरेकै छन् । सक्ने, पहुँचवालाका सवारी साधन गुडेकै छ ।
हुन त पाल्पा प्रशासनले निषेधाज्ञाका बेला अत्यावश्यक खाद्यान्न किन्न बिहान ७ देखि ११ बजेसम्म खुल्ला गरेको छ । अरुबेला कुनै पनि व्यक्तिलाई घर बाहिर निस्कन निषेध गरेको छ । आदेश कसले मान्ने ? ड्युटीका प्रहरी मोबाइल चलाएर बस्छन् । बर्तुङ, राम्दी र दोभानको प्रहरीको अवस्था अझै फरक छ । प्रहरीले गर्ने व्यवहारको आलोचना भएकै छ । निर्माण व्यवसायी, खानी उद्योग संचालक, ढुंगा व्यवसायीको सवारी साधन (फल्नो दाइको हो रहेछ छाड्दे) आदेश अनुसार छुट्छ । उनीहरु निष्फ्रिक्री हिडेकै छन् । सर्वसाधारणहरु अस्पताल, औषधि र अत्यावश्यक कामका लागि हिडेका हुन्छन् उनीहरुलाई प्रहरीले पनि केरकार हुन्छ । सर्वसाधारणले हप्कीदप्की खानुपर्छ । उनीहरुलाई दम्काउने, थर्काउने गरेको प्रत्यक्ष देखिएका धेरै उदाहरण छन् । यस्तो प्रवृत्ति प्रहरीमा कहिलेसम्म रहन्छ ? प्रहरीका जिल्ला हाकिम साबहरुलाई यस्ता कुरा थाहा हुन्छ वा हुँदैन ? यी विषयमा सोँच के हुन्छ ?
सिद्धार्थ राजमार्गको दोभान नाकामा एक सातायता सशस्त्र प्रहरी बललाई नै खटाएको छ । सिद्धबाबा क्षेत्रमा बस्ने सशस्त्र प्रहरीले नाकामा जाँच गरेको छ । दोभान क्षेत्रमा बढी गुनासा आएकाले त्यस क्षेत्रमा कडाई गरिएको हो । यसबाट पनि बुटवल क्षेत्रमा देखिएको संक्रमण प्रवेश सहजरुपमा हुन पाउनेछैन भन्ने विश्वास छ । तर अबको विकल्प जिल्लाभर लगाएको निषेधाज्ञा हुँदै होइन । दुई साता लामो निषेधाज्ञाले को कसले मार खेप्नु परेको छ भन्ने बु¤न जरुरी छ । अब निषेधाज्ञा थपेर अघि बढ्नुपर्छ भन्नेहरुले ती विपन्न परिवारका विषयमा केही सोचेको छ वा छैन ? निषेधाज्ञा थप्ने होइन नाकामा प्रहरी, सशस्त्र प्रहरी खटाएर शील गर्नुपर्छ अनि जिल्लाभरको अवस्थालाई सामान्य गर्नुपर्छ । कोरोना भाइरस संक्रमणको त्रास बढी दिनु भन्दा पनि सामान्यीकरण गर्दै अघि नबढ्ने हो भने जनताले बढी मार खेप्नुपर्छ भन्ने बु¤न जरुरी छ । निषेधाज्ञा थपेर सुतेर बस्ने भन्दा पनि यसको व्यवस्थापनमा लाग्न जरुरी छ ।