हाम्रो प्रतिवद्धता

करुवा अर्धसाप्ताहिक पत्रिका २०७७ भदौ २ गतेको अंकसहित आठौ वर्ष वर्षमा प्रवेश गरेको छ । मोफसलबाट दैनिक र साप्ताहिक पत्रिका धेरै संचालन भएका छन् । चुनौतिका बीच हामीले अर्धसाप्ताहिक पत्रिका संचालन गरेका छौं । यही अवसरमा अवसरमा करुवा अर्धसाप्ताहिकका पाठक, लेखक, सहकर्मी, विज्ञापनदाताप्रति हार्दिक कृतज्ञ र्छौं । लोकतन्त्र, राष्ट्रियता, प्रेस र अभिव्यक्ति स्वतन्त्रता हाम्रो मुलमन्त्र हो । यसैको वकालत गर्दै समाजमा सत्य–तथ्य सूचना सम्प्रेषण गर्नु हाम्रो दायित्व हो । यही मर्म र दायित्वबोधसहित करुवा अर्धसाप्ताहिक निरन्तर अघि बढिरहेको यहाँहरुकै अगाडि छर्लङ्ग छ । यसमा हाम्रा समस्त पाठकवर्गले मूल्यांकन गरेकै पाइएको छ । आठौं वर्ष प्रवेश गरिरहँदा हामी एकपटक फेरि प्रेस र अभिव्यक्ति स्वतन्त्रताका पक्षमा दरिलो प्रतिबद्धता सम्पूर्ण पाठकप्रति दोहो¥याउँछौं । करुवा अर्धसाप्ताहिकले समाजको निरन्तर पहरेदारको काम गर्दै आएको छ । हामीले हरेक अंकमा पाठकसामु त्यही विश्वास व्यक्त पर्दै आएका छौं । सोही अनुसारको समाचार, सूचना, शिक्षामूलक र मनोरञ्जनात्मक गतिविधि प्रकाशन गरेका र गरिरहने छौं ।

हुन त छापा पत्रकारिताले सामाजिक सञ्जालको चुनौति खेप्दै आएको छ । अहिले अझ बढी यस विषयमा चनाखो हुनुपर्ने अवस्था छ । पछिल्लो समय बढ्दो सामाजिक सञ्जालको प्रयोगले छापा पत्रकारितालाई चुनौति थपेकामा दुईमत छैन । सामाजिक सञ्जालको अत्याधिक प्रयोग सबैको जीवनको ज्यादै महत्वपूर्ण समयको ठूलो हिस्सा लिएको छ । जुन समय हामी हाम्रो आफ्नै उन्नति, प्रगति, परिवारको खुशी वा सन्तुष्टि बढाउन प्रयोग भएको छ । यसैबाट समाजको भलाइमा योगदान गर्ने वा राष्ट्र निर्माण गर्नेहरुलाई सुख शान्ति अभिवृद्धि गर्ने कार्यमा प्रयोग भइरहेको छ । सूचना भर्खरका भर्खर सामाजिक सञ्जालको माध्यमबाट छरपष्ट भइरहेको अवस्था छ । यसको चुनौति सामना गर्नुपर्ने छ । जो हाम्रा लागि अवसर र चुनौती दुबै छ । करुवा अर्धसाप्ताहिकमा स्थानीय गतिविधिलाई नै प्रोत्साहन गरेका छौं । यसले स्थानीय पाठकको रुचिलाई अझ प्रभावकारी बनाएको छ । तर जति विविधिकरण गर्नुपर्ने हो त्यो सकेका छैनौ । त्यस्ता चुनौतीलाई हामीले चिर्दै करुवा पत्रिकालाई केही परिमार्जन गर्दै अघि बढ्ने छौं ।

मुलुकमा यतिबेला तीन तहको सरकार सक्रिय छ । संघीय, प्रदेश र स्थानीय सरकारका गतिविधिको खबरदारी र राम्रो कामको प्रशंसा गरेकै छौं । हुन त पत्रकारिता सत्तालाई खुसी पार्न सक्ने पेसा होइन यो बुझेकै कुरा हो । हामीले निर्भय र निष्पक्ष पत्रकारिता गछौं । खबरदारी गर्दा कोही रिसाउँछ भने त्यो सत्ता संचालन गर्ने नै हो । सामाजिक उत्तरदायित्व बहन गर्दा कोही खुसी र कोही रिसाउनु सामान्य नै मान्छौं । कुनै पनि तहको सत्ता र सामाजिक बहस गर्दा हाम्रो कुनै पूर्वाग्रह हुने छैन । जहाँ जनताको आकांक्षा हुन्छ । त्यहाँ सत्ताको स्वार्थ बाझिन्छ । हामीले सधैभरि विनासर्त जनताको पक्षमा वकालत गरिरहने छौँ । यसमा शंका गर्ने कुनै ठाउँ रहनेछैन । हामीले प्रस्तुत गर्ने सामग्रीप्रति जिम्मेवार र जवाफदेहिताबाट हामी आफैँ पनि उन्मुक्त छैनौँ । यति भनिरहँदा आदरणीय पाठकको विचारलाई हामीले समेट्दैनौ भन्दैनौं । पाठकको सुझाव नै हाम्रालागि मार्गदर्शक बन्नेछ । अन्त्यमा, चैत ११ पछिको लकडाउनले पत्रकारिता क्षेत्र थिलोथिलो बनेको छ । पत्रिका बितरणमा असहज बनेको छ । कोरोना महामारीसँग पत्रकारिता क्षेत्र पनि जुधिरहेको छ । सामूहिक र जिम्मेवार संकल्पले मात्र यो विपत्लाई पराजित गर्ने विश्वास हाम्रो छ । कोरोनाको यो कहरपछि पनि सुन्दर संसार छ भन्ने सन्देश दिन हामी पछि पर्ने छैनौ । यही अंकसंगै हामीले डिजिटल पत्रिकाका रुपमा अनलाइन संस्करण पनि अगाडी सारेका छौ । करुवा न्यूज डटकम लगइन गरेर हामीलाई पाउन सक्नुहुनेछ । छापा माध्यमलाई अहिलेसम्म यहाँहरुको सहयोग महत्वपूर्ण रह्यो अब डिजिटल पत्रिका पनि मन पराउनु हुनेछ भन्ने विश्वास छ । यसै अवसरमा सम्पूर्ण पाठक, विज्ञापनदाता, शुभचिन्तकमा सहयोगको आव्हान गर्दै अहिलेसम्मको सहयोगका लागि धन्यवाद पनि दिन्छौं । करुवा पत्रिका र डिजिटल पत्रिकालाई निरन्तरतासँगै परिमार्जनमा पनि ध्यान दिने प्रतिवद्धता व्यक्त गर्दछौं ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय