लापरवाह नगरौं

गत चैत ११ गते सरकारले लकडाउन गर्दा धेरै नागरिक डराए । घरबाहिर निस्कन पनि सक्नेअवस्था कमै थियो । एक साता तानसेनको बजार नै सुनसान बन्यो । यति मात्र होइन, दुई, तीन साता हुँदै बिस्तारै मान्छेमा डर, त्रास हट्दै गयो । त्यसबेलामा कोरोना भाइरस संक्रमित जम्मा तीन जना पुगेका थिए । तर यतिबेला भने संक्रमितको संख्या २४ हजार पुगेको छ भने मृत्युसमेत ८३ जनाको भइसकेको छ । पाल्पाकै कुरा गर्दा पनि ५ सय ६२ संक्रमित पुगेका छन् । एक जनाको मृत्यु भएको छ । सरकारले चैत ११ गते गरेको लकडाउन खोलेको छ । तर जिल्ला जिल्लामा समुदायमै कोरोना भाइरस संक्रमित बढेका छन् । यतिबेला मान्छे डराउन छाडेको छ । घरबाहिर निस्कनेको कमी छैन । सामाजिक दुरी कायम गरेको देखिदैन । लापरवाह बढ्दो छ । तर समुदायमा कोरोना भाइरस प्रवेश गरिसकेको कसैले पनि ख्याल गरेको पाइदैन ।

पाल्पामा कोरोना भाइरस संक्रमित ५ सय ६० जना घर फर्केका छन् । स्वास्थ्य कार्यालयका अनुसार एक जना र काठमाडौमा जाँच गरेर पाल्पा ठेगाना भएका एक जना कोरोना संक्रमण भएका छन् । तर पनि लापरवाही बढ्दो छ । सरकारले लकडाउन खोलेपछि समुदायस्तरमा समेत कोरोना भाइरस प्रवेश हुनसक्ने डरले नागरिकहरु त्रसित हुनुपर्ने हो । कतिपयले न्यूनतम सावधानी समेत अपनाउन हिच्किचाइरहेका देखिन्छ । नागरिकहरु आफै सचेत हुनुपर्नेमा अरुका लागि मास्क लगाइदिनुपर्ने जस्तो गरेको बुझाई घातक बन्न सक्छ । अटेरीपनाले गर्दा समाजमा कोरोना भाइरसको जोखिम बढी नै छ । सरकारले कोरोना संक्रमणको जोखिम कम गर्ने गरि विभिन्न सुरक्षाविधि अपनाउन आग्रह गरेको छ । त्यसको परिपालना गरेको पाइदैन । सर्वसाधारणले खासै सावधानी अपनाएको पाइँदैन । जिल्लाभरीका विभिन्न सार्वजनिक संस्था, पसल, यातायात, बैंक लगायतका स्थानमा जाँदा मास्क लगाउने, भौतिक दूरी कायम गर्ने जस्ता कोरोनाबाट बच्ने उपाय धेरैले पालना गरेको देखिदैन । प्रहरी–प्रशासनले देखेजतिलाई मास्क लगाउन आग्रह गर्छ । नागरिक स्वयं भने यस विषयमा हेलचेक्रयाई गर्दै आएका छन् ।

यस्तो लापरवाहीले आफैलाई समस्या नल्याउन भन्न सकिन्न । धेरैले प्रहरीलाई आँखा छल्ने गरी मास्क लगाउँदैनन् । सर्वसाधारणले नै सावधानी नअपनाएपछि जोखिम बढ्ने त्रास कायम नै छ । नागरिकले प्रहरीले देख्दा मात्र मास्क लगाउने गरेपनि आफै सावधानी नअपनाउनु घातक नहोला भन्न सकिन्न ।  औपचारिकताका लागि सेनिटाइजर हातमा लगाउनेबाहेक अन्य सावधानी अपनाएको पाइदैन । मान्छेहरु ठेलमठेल भएर बस्ने, हिड्ने, उभिने, सामाग्री खरिद गर्ने गरेका छन् । गेटमा सेनिटाइजर प्रयोग गरेपनि भित्र भौतिक दुरी कायम हुन सकेको छैन । सामान्य ज्वरो समेत चेक नगरी सार्वजनिक स्थलमा प्रवेश गर्छन् । लकडाउन भएपछि सुरुसुरुमा सबैले उच्च सतर्कता अपनाएका हुन् । तर अहिले किन हेलचेक्रयाई गरिँदैछ ? यस्तो लापरवाह नगरौं र गर्न नदिऔं ।

सम्बन्धित खवर