
पाल्पाको तिनाउ गाउँपालिकाको झम्ुसा पानी मिलबाट अर्घाखाँची सिमेन्टको खानी उद्योग सिद्धार्थ मिनिरल्स जाने सडकमा ठूलो पहिरो खसेको छ । अझ भन्नुपर्दा श्रीडाँडा जाने सडक र चुनढुंगा खानी उद्योग जाने एउटै हो । अहिले यहाँ जाने सडक भासिएपछि सिंगो बस्ती विस्थापनको जोखिममा छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बर्तुङ–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, झुम्सा पानी मिल क्षेत्रका यही सडक भासिएपछि ३१ घर जोखिममा छन् । माथिल्लो भागबाट डाँडै भासिन थालेपनि यहाँका बासिन्दानको भोक निन्द्रा हराएको छ । सिद्धार्थ राजमार्ग र सिस्नेखोला पक्की पुलसमेत जोखिममा परेको छ । माथिल्लो भागको बस्ती र सिद्धार्थ मिनिरल्सको चुनढुंगा खानीको पहुँचमार्गबाट पहिरो झर्न सुरु गरेको छ । डाँडामा धाँजो फाटेको छ । एक किलोमिटर माथिको डाँडा २० मिटर बढी भासिइसकेको छ ।
पहिरोको जोखिममा परेकाहरुको भोक, निन्द्रा हराएको छ । पहिरो खस्ने हो कि भन्ने डरले रातभर सुत्न सकेका छैनन् । माथिल्लो भागबाट जमिन भासिन थालेपछि कहाँ जाम र कसलाई सुनामजस्तो भएको छ । बस्ती माथिबाट डाँडै भासिन थालेपछि सबै चिन्तित छन् । माथिल्लो भागबाट चारवटै डाँडा एउटै भएर भासिन थालेको छ । सिद्धार्थ राजमार्गको झुम्सा पानीमिलदेखि सिद्धार्थ मिनिरल्स प्रालि चुनढुंगा खानी जाने सडकमा चार घुम्ती सडक भासिएपछि अब के गर्ने भन्ने चिन्तामा छन् । यही घुम्तीबाट धसिएको जमिनबाट तारजाली, बाँसघारी, ढुंगा माटो बगाएको छ । पहिरो हेर्दा निके डर लाग्दो नै छ । जतासुकै डाँडामा जमिन फाटेको छ भने अधिकांश स्थानमा भासिएको छ ।
माथिल्लो भाग धसिएकाले जोखिममा रहेकालाई व्यवस्थापन गर्ने योजना गाउँपालिका, प्रदेश सरकार र वडाको छ । यदि यो पहिरो खस्यो भने सिस्ने खोला थुनिन सक्छ । यसबाट पक्की पुलसमेत जोखिममा पर्ने पक्का छ । गाउँपालिकाले बिस्थापित परिवारलाई स्थानान्तरण गर्नुपर्छ । बस्ने व्यवस्था गर्नुपर्छ । ठूलो पहिरो र धेरै स्थानमा डाँडा भासिएका यसको गहन अध्ययन हुनुपर्छ । केही घर बिस्थापिति भइसकेका छन्न । पहिरोे नियन्त्रण गर्न समस्या छ । यो सडक ठाडै खनिएको छ । जर्बजस्ती, प्राविधिक अध्ययनविना चुरे क्षेत्रमा खनिएको सडकले अहिले आफ्नो रुप देखाएको हो । त्यसैले चुनढुंगा खानी जाने सडक परिवर्तन गर्नुपर्छ । विकल्प नभएको पनि होइन । विकल्प हुँदाहुँदै पनि यही सडक प्रयोग गर्नु आगामी दिनमा अझ बढी घातक हुनसक्छ ।