
बाढी पहिरोबाट पीडित बनेकाहरुले तानसेन नगरपालिकामा १ सय २० वटा निवेदन साउनको पहिलोसाता दिएका छन् । ती निवेदनमध्ये ३८ घर परिवार बडी पीडित छन् । बाँकीको पनि अवस्था उस्तै नभएको होइन । तिनाउ गाउँपालिकामा पनि पनि सबै वडामा बाढी पहिरोले असर पुगेको छ । निस्दीको सबै वडा पुग्ने सडक बन्द छ । ठाउँठाउँमा असारे विकासले यस्तो पीडा निम्तिएको छ । असारे विकासको पीडा पहाडी जिल्लामा अझै बढी छ । पानी पर्न सुरु भइसकेपछि असारे विकासको नामले चिनिने डोजरे विकासले गर्दा नै बाढी पहिरोको जोखिम निम्तिएको हो । इन्जिनियरको रेखदेख बिनानै डोजर चालकले खन्ने विकासले गर्दा नै मानवीय तथा भौतिक क्षति हुने गरेको छ । यसका विषयमा कोही केही बोल्दैनन किन ?
सबैलाई थाहा भएकै कुरा हो, असारे विकासले जोखिम निम्तिएको छ । पानी पर्न सुरु भएपछि खनेका ग्रामीण सडकका कारण धेरै घर जोखिममा छन् । कालोपत्रे सिद्धार्थ राजमार्गको बर्तुङ–लामीडाँडा सडक चौडा गर्दा घर जोखिममा छन् । कालोपत्रे सडक नै पुरिएको छ । बर्तुङबाट होलाङदीसम्म पनि अवस्था उस्तै छ । स्थानीयले यो वर्षायाममा सडक चौडा नगर्न भन्दाभन्दै जबर्जस्ती खनिएको छ । वर्षा लागिसकेपछि धमाधम डोजर लगाएर राजमार्गको भित्तो भत्काउने प्रवृत्ति किन रोक्न सकिएको छैन । जसले असारे विकासमा जोड दिन्छन् उनैले भाषण चिल्ला कुरा गर्छन् ।
कतिपय स्थानीय मेघ गर्जनसँगै घर छाडेर हिडनु परेको छ । कतिपयका घर, गोठ, चौपाया पुरिएका छन् । वातावरणका विषयमा कुरा किन उठ्दैन । सबैलाई पैसा कमाउनु छ । कमिसन खानुस छ । चुनढुंगा उत्खनन, डोजरे विकास, चुरे दोहनमा को कसको सम्बन्ध हुन्छ ? यसका विषयमा कोही बोल्दैन । यसको खबरदारी कसैले र्गनु पर्दैन ? वातावरणीय पक्षलाई किन ख्याल गरिदैन ? विकास गर्दा विनास हुन्छ भन्ने आँेठे जवाफ दिने राजनीतिक दलका नेताहरुले कहिल्यै विकास बुझेनन् । विकास गर्दा विनास नगर्न सकिँदैन ? ढुंगा माटो व्यवस्थापनमा ध्यान दिनुपर्दैन । अनि वातावरणीय पक्षका विषयमा कुरा उठाउनेलाई विकास विरोधी भन्नेहरु अहिले पहिरो गयो भनेर चिच्चाउन छाड्दैनन । अब यसका विषयमा सोच्नुपर्दैन ? धेरै ढिला हुन सक्छ ख्याल गर्नु ।