
(पाल्पा) । आत्मवल बलियो बनाए कोरोना जितिने संक्रमितहरुको अनुभव छ । यस्तै अनुभव बटुलेका व्यक्ति हुन्, तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ति । ‘आत्मवल कमजोर भएका व्यक्तिमा कोरोना भाइरसले जटिलता थप्छ,’ उनले भने, ‘कोरोना भएपनि आत्मवल बलियो बनाउन सके संक्रमणबाट मुक्त भइन्छ ।’
आफू र श्रीमती कोरोना पोजेटिभ देखिए । उनका छोरालाई संक्रमण देखिएन । ‘श्रीमतीलाई सामान्य रुघाखोकी लाग्यो,’ उलने भने, ‘मलाई केहि समस्या देखिए पनि छिट्टै निको भए ।’ घर्तिले उच्च रक्तचापको औषधि सेवन गर्दे आएक थिए ।
मोटोपन भएको र दैनिक व्यायममा ध्यान नपुग्दा असहज बनाएको उनको अनुभव छ । कोरोना संक्रमणबाट बच्न भौतिक दुरी कायम गर्ने, मास्क प्रयोग गर्नुपर्ने उनको सुझाव छ । ‘संक्रमण भइहाल्यो भने पनि मनोवल बढाउने, खानपान र व्यायममा ध्यान दिनसक्नुपर्छ,’ उनले भने, ‘नियमित ती काम गर्न सकेन समयमै कोरोना जितिन्छ ।’
उनले दसैं स्वास्थ्यमा ख्याल राख्दै तानसेनमा आफ्नै घरमा मनाउने तयारी गरेका छन् । हरेक वर्ष पुख्र्यौली घर तिनाउ–१, कचल आमासंगै दसैं मनाउँदै आएका घर्तीमगर परिवारमा कोरोना कहरले गर्दा पनि जो जहाँ छ त्यहि मनाउने तयारी रहेको बताए ।
अघिल्ला वर्षमा गाउँघरका मान्यजन र ससुराली समेत टिका थाप्न पुग्ने उनी यसवर्ष कोरोनाका कारण आमाको हातवाट समेत टिका लगाउन नपाएको उनले बताए ।
‘आमा गाउँमै हुनुहुन्छ, हामी जाँदा संक्रमणको उच्च जोखिम हुनसक्छ,’ उनले भने, ‘यसवर्ष तानसेनमै दसैं मनाउने तयारी छ ।’ एक छोरा काठमाडौंमा र एक छोरा तानसेनमा छन् ।
गाउँपालिकाले पनि दसैको टिका स्वास्थ्य मापदण्ड अपनाएर घरमा मात्र सिमित गर्न आग्रह गरेको छ । अघिल्ला वर्षमा हुने गरेका मेला, भेला र खेलकुद कार्यक्रम यसवर्ष नगर्न आग्रह गरिएको अध्यक्ष घर्तिले बताए ।